भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ बस्न थालेदेखि तरकारी किन्ने दैनिकी बन्न थाल्यो । तरकारी किन्नु शहरबजारमा बस्ने प्रायः सबैको सधैँको काम हुन्छ । जागिरे होस् वा विद्यार्थी, व्यवसाय गर्ने होस् वा व्यवसाय गर्ने सोच बनाउँदै गरेका सबैले आ–आफ्नो आयशक्तिले भ्याउने र रुचीको तराकारी सधैं किन्ने गर्छौं ।
म काठमाण्डौ बस्न थालेको धेरै पनि भएकोे छैन । छोटो अवधिमा अरु कुरासँगै तरकारीको मूल्य र तरकारी किन्न जाँदाको धारणामा निकै परिवर्तन भएको छ । त्यसमा पनि हरेक दिन बिहानै कालीमाटीको तरकारीको मूल्य र तरकारीमा हुने विषादीको मात्राको समाचार आफैले बुझ्न थालेदेखि त तरकारी किन्दा निकै चिन्तित हुने गरेको छु ।
तर मलाई थाहा छ यो मेरो चिन्ता पनि अर्थहीन छ । किनकी काठमाण्डौमा उपयुक्त मूल्यमा विषादीरहित तरकारी पाउनु रौतहटमा हिउँचितुवा पाउनु जस्तै हो । जुन आशावादीहरुको तर्कमा असम्भव छैन, तर सामान्य रुपमा हेर्दा सम्भव पनि देखिँदैन ।
बजारमा तरकारीमा विषादीको चर्चा अलिकति बाँकी नै थियो । अस्ति भर्खर म पनि सधैँझै तरकारी किन्न बजार निस्किएँ । अलि चाँडै निस्किएको भएर केही ठाउँमा मूल्य बुझेर मात्रै तरकारी किन्ने विचार गरें ।
एक दुईवटा पसलमा मूल्य सोधें, अघिल्ला दिनहरुको तुलनामा धेरै नै बढेको रहेछ । म अझै अगाडि बढें । कीर्तिपुरमा बेलुकातिर तरकारी पसल निकै हुन्छन् । तरकारीको गुणस्तर र मूल्य उस्तै–उस्तै भए पनि पसल भने छानी–छानी किन्न पाइन्छ । गुम्बाबाट कीर्तिपुर गेटतिर ओरालो लागेर बाटो छेउ राखेका पसलमा पनि तरकारी हेरे । त्यहाँ पनि नकिनी अगाडि बढें ।
ओरालो सकेर तेर्सोमा पुगेपछि ठेलागाडामा तरकारी भेटियो । ठेलामा थरिथरिका तरकारी थिए । मैल ठेलावाला काकालाई तरकारी कसरी छ भनेर सोधें । काकाले सासै नफेरी चार/पाँच थरिका तरकारीको मूल्य भन्नुभो । त्यसपछि सबै मिलाएर लगे अलि सस्तोमा पर्ने पनि भन्नुभो । काका निकै ठट्यौलो स्वभागको हुनुहुँदाे रहेछ । निकै रमाइलो गरेर वरिपरि हिन्दै गरेकालाई बोलाउँदै हुनुहुन्थ्यो ।
मलाई एकछिन ती काकासँग तरकारीकोबारेमा गफ गर्न मन लाग्यो । म ठेला नजिकै गएँ । मैलै हिजोआज तरकारीमा धेरै विषादी हुन्छ रे नि त भनेर सोधें ? काका एकछिन मजाले हाँस्नु भो र भन्नु भो : हो मैले पनि सुन्दैछु तर यो विषादी केही दिन मात्रै रहन्छ, केही दिनपछि सबै बिर्सिन्छन् र विषादीको कुरा पनि हराउँछ ।
मैले काकालाई फेरि सोधें, तरकारी बेचेर दिनमा कतिको कमाइ हुन्छ ? काकाले मुस्कुराउँदै सामान्य गुजारासम्म चल्ने गरेको बताउनुभयो । बीचबीचमा आउने ग्राहकलाई तरकारी बेच्दै उहाँले कुरा गर्नुभयो ।
मैले काठमाण्डौमा कोठाभाडा तिरेर तरकारी बेच्नुभन्दा गाउँमा तरकारी खेती गर्दा फाइदा हुन्थ्यो होला नि भन्ने प्रश्न गरे । यो प्रश्न गर्दा उहाँको अनुहारको रंग नै फेरियो । अघिसम्म हाँसेर कुरा गरिरहेका उहाँले एक्कासी अनुहार अँध्यारो पार्नुभयो ।
“तपाईँले काठमाण्डौ बसेर कुरा गरेजस्तो सजिलो छैन नानी गाउँमा गएर गोलभेंडा फलाएर पैसा कमाउन” म चुपचाप उभिइरहें । “मैले गाउँमा खेती नगरेको हो र ?” उहाँले आफ्नोबारेमा थप बेलीबिस्तार लगाउनुभो ।
काकाको घर नेपालगञ्ज रहेछ । गाउँमा केही समय तरकारी खेती गर्नुभएको रहेछ । तर तरकारी खेतीको लागि कहिले आवश्यक औजार र उपयुक्त बीउबिजन नपाउने त, कहिले पाए पनि उत्पादनदेखि बजार पुर्याउँदासम्मको लागत निकै महङगो हुने हुँदा तरकारी खेतीमा टिक्न गाह्रो भएको उहाँले बताउनुभयो ।
त्यसपछि उहाँले केरा खेती गर्नुभएछ । तर वर्षभरि मेहनत गरेर लाखाैँ खर्च गर्दा भारतको फलफूल सस्तोमा नेपाल आउने र त्योसँग प्रतिष्पर्धा गर्न नसकेपछि त्यो पनि छोडनुभएछ । काकाको कुरा सुनेर मैले बोल्ने कुरै पाइनँ ।
म चुप लागेको देखेर काकाले मुस्कुराउँदै भन्नुभयो “भारतको तरकारी र फलफूल नेपालमा मनोमानी ढंगले भित्रिन दिएसम्म र नेपालको वास्तविक किसानलाई प्रोत्साहन नगरेसम्म यस्तै भइरहन्छ ।” मसँग बाँकी भन्नु केही थिएन ।
अचानक मेरो आँखा ठेलामा राखेको दुई फरक–फरक किसिमको गोलभेंडामा गयो । मैले सोधें, काका गोलभेडा कसरी हो ? उहाँले एउटा झोला दिंदै छानेर मिलाएर लानु भन्नुभो ।
अनि मैले चार/पाँच किलोजति ठेलाको छेउमा अलग्गै राखेको गोलभेंडा देखाउँदै सोधें, यो चाहिँ कस्तो खालको गोलभेंडा हो नि ? काकाले हाँस्दै भन्नुभो “यो वारिको गोलभेंडा हो ।”
अलग्गै राखेको गोलभेंडा अलिक फुस्रो र सानो पनि थियो । “वारिको ?” भन्ने मेरो प्रश्न सुनेर उहाँले भन्नुभयो, “हो घरबेटी दिदीले बारीमा फलाउनुभएको । बेचिदिनुस् भनेर ठेलामा राखिदिनुभएको, तर कसैले पनि लगेका छैनन् । विषादी हुन्छ भन्ने थाहा भए पनि मानिसलाई तरकारी चिल्लो र देख्नमा राम्रै मन पर्छ ।”
त्यसपछि पनि केहीबेर त्यहीँ उभिएर बसिरहें । त्यो सानो र फुस्रो गोलभेंडा एकछिनसम्म पनि कसैले पनि किनेनन् । काकाले एक दुई जनालाई त यो लोकल हो भनेर भने पनि कसैले वास्तै गरेनन् ।
एकछिन मेरो पनि मनको भाव बुझेर काकाले भन्नुभो : हेर नानी मानिसले गोलभेंडामा पनि बहुमत खोज्छ । यो वारिको गोलभेंडा अल्पमतमा भएर कसैले नकिनेका हुन् ।
उभिँदाउभिँदा खुट्टा पनि थाकेछ । बेलुका पनि हुन थालेछ । त्यही आधा किलो अल्पमतको गोलभेंडा र अलिकति बहुमतको तरकारी बोकेर उकालो लागें ।
हाम्रो देशमा कृषि क्रान्तिका कुरा त अब पुराना भइसके । बेलाबेला गमलामा धान रोपेर थालिएको कृषि क्रान्ति पनि देख्यौं । घाँटीमा आलु, गोलभेंडा, धान, सुन्तला आदि झुण्याएर ठूलो ब्यानरको मुनि बसेर अब देशमा कृषि क्षेत्रमा कायापलट गर्ने र देशलाई चाँडै फलानो र ढिस्कानोमा आत्मनिर्भर बनाउने भन्ने भाषण पनि सुनिए । यी सबै भाषण र अघि काकाको यथार्थताको कथा सम्झिँदा त्यही बहुमतको गोलभेंडाले आफैंलाई गिज्याएजस्तो लाग्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Devendra Koirala
July 30, 2019, 4:48 p.m.जानुकाको समाचार भन्ने शैली मात्र हैन, लेखन पनि उत्कृष्ट रहेछ । गोरखाली हुन् कि लमजुङे हुन्न हुन्नि । जे होस्, शुभकामना