‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत् १ लाख ७६ हजारलाई राेजगारी, ‌औसत १३ दिनकाे काम

 साउन १६, २०७६ बिहिबार १८:३४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत असार १५ गतेसम्म झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाएको दावी गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १ लाख ७५ हजार ९०९ जनालाई रोजगारी दिइएको जानकारी गराएको हो । यसरी राेजगारी पाउनेहरुले ‌‍‍‍‌औसत १३ दिनकाे काम पाएकाे पनि मन्त्रालयले जनाएकाे छ ।

सबै पालिकामा ६ हजार ८ सय ६४ आयोजना सञ्चालन गरी गरिबीको चपेटामा परेका झण्डै १ लाख ७६ हजार जना बेरोजगारलाई रोजगारीको अवसर दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताउनु भयो । उहाँले बजेट कम भए पनि इतिहासमै पहिलो पटक सरकारले काम गरेर गरिखाने ऐतिहासिक काम सुरु गरेको भन्दै सरकारलाई त्यसमा गर्व लागेको बताउनुभयाे । 

सरकारले गएको आर्थिक वर्षका लागि 'प्रधानमन्त्री रोजगार कार्यक्रम' अन्तर्गत सबै पालिकाका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । थोरै बजेटबाट पनि विभिन्न आयोजनाहरु सञ्चालन गरी सरकारले गरिब समुदायका युवालाई रोजगारी दिने काम गरेकोमा गौरवको अनुभूति गरिरहेको पनि मन्त्री विष्टको भनाइ छ ।

मन्त्री विष्टले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू गर्न सरकारले ८६ ओटा प्रक्रिया पूरा गरेको पनि स्मरण गराउनु भयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम निष्पक्ष रहेको र त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारले आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पारिसकेको दावी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया