राष्ट्रिय गौरवका विमानस्थल : भैरहवाले आशा देखायो,  निजगढको पारा उस्तै !

 साउन २६, २०७६ आइतबार १४:९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

बनिसकेपछि यस्ताे देखिनेछ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

काठमाण्डौ – सरकारले ३ वटा अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवका आयोजनामा राखेर काम गरिरहेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा  र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, कास्की राष्ट्रिय गौरवका आयोजनामा समेटेएिका छन् । यी आयोजनमध्ये गौतम बुद्ध र पोखराको प्रगति राम्रो छ भने निजगढको प्रगति निराशाजनक छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८५ प्रतिशत र आर्थिक प्रगति ६० प्रतिशतको हाराहारीमा भएको छ । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेका अन्तर्राष्ट्रिय विमानस्थलहरुको अवस्था कस्तो छ त ?

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल 

सुविधासम्पन्न तथा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा बारा जिल्लाको निजगढमा निर्माण गर्न लागिएको छ ।

आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको यो आयोजना २०७८÷७९ मा सम्पन्न हुने अपेक्षा गरिए पनि अहिलेसम्म मुख्य काम नै सुरु भएको छैन । आयोजनाको कुल लागत १ खर्ब २० अर्ब अनुमान गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार  गएको वर्ष निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएकोमा जम्मा ३० करोड रुपैयाँ मात्र खर्च भएको छ । यो जम्मा २१ प्रतिशत हो ।

तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा भने गएकै वर्ष यो आयोजनाको लागि १ अर्ब ६६ करोड रुपैयाँ विनियोजन भएको र जम्मा १३ प्रतिशत खर्च भएको उल्लेख छ । भौतिक प्रगतिका हिसावले यो आयोजनाको मुख्य काम नै सुरु भएको छैन भने अरु सहायक कामको १० प्रतिशत भौतिक प्रगति भएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पसाहा खोलामा २२ सय ५० मिटर तटबन्ध  निर्माण सम्पन्न भइसकेको, निर्माण क्षेत्रभित्र पर्ने बाटोहरूको दुवैतिर अस्थायी तारबारको काम भैरहेकोे, टाँगिया बस्ती स्थानान्तरणका लागि ठाँउहरूको पहिचान तथा जनप्रतिनिधि र स्थानीयहरूसँग छलफल गरिएको र  अधिग्रहणमा परेको मुआब्जा वितरण कार्य ६६ बिगाहा भैसकेको आयोजनाले  जनाएको छ । यस्तै मुआब्जाका लागि निवेदन नदिएका जग्गाधनीहरूसँग छलफल गरी छिटो मुआब्जा बुझ्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ  ।

दक्षिण एसियाकै हब विमानस्थल बन्न सक्ने सम्भावना रहेको यो विमानस्थलको शिलान्यास पनि हुन सकेको छैन । पर्यटनमन्त्री योगेश भट्टराईले आउँदो मंसिरसम्म जसरी पनि यो विमानस्थलको शिलान्यास गर्ने बताउनुभएको छ ।

साउन १५ गते पद सम्हालेका मन्त्री भट्टराईले हरेक सार्वजनिक कार्यक्रममा निजगढमा रुख काटेर विमानस्थल बनाउन हुन्न भन्नेहरुलाई चुनौती पनि दिँदै आउनुभएको छ । बिहीबार मात्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकनमा गएका मन्त्री भट्टराईले निजगढमा १० लाख मान्छे उतारेर शिलान्यास गर्ने बताउनुभएको छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

राष्ट्रिय गौरवका आयोजनामध्ये राम्रो प्रगति गरेका आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि हो ।

रुपन्देहीको भैरहवामा निर्माण भैरहेको आयोजना आउँदो डिसेम्बरसम्म सम्पन्न हुने आयोजनाले जनाएको छ । अहिलेसम्म रन वे को काम सकिएको छ, टर्मिनल भवन, एअर ट्राफिक कन्ट्रोल(एटीसी) टावरलगायतका संरचनामा फिनिसिङको काम बाँकी छ । उपकरण जडानको काम थाइल्याण्डको एरो थाई कम्पनीले गरिरहेको छ ।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणबाट सुरु भएको यो आयोजना सन २०१५ मा सुरु भएर सन २०१७ को डिसेम्बरमा सकिने लक्ष्य थियो । तर दुई वर्ष ढिलाइ भएर सन् २०१९ को डिसेम्बरमा यो आयोजना सम्पन्न हुने अनुमान छ । आयोजनाको लागत ३० अर्ब ४१ करोड रुपैयाँ अनुमान गरिएको छ ।

आयोजनामा नेपालले ३७ दशमलव ४ प्रतिशत र एसियाली विकास बैंकले ६२ दशमलव ६ प्रतिशत सहुलियतपूर्ण ऋण लगानी गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सिभिलतर्फ झण्डै ७५ प्रतिशत र इलेक्ट्रोमेकानिकलतर्फ ६ दशमलव ५ प्रतिशत प्रगति भएको छ ।

विमानस्थलमा मुख्य कम्पनी र सहायक कम्पनीबीच विवाद भैरहने, नगद प्रवाहमा समस्या हुने, ढुङ्गा, गिट्टी, बालुवा, माटो लगायतका निमार्ण सामग्री उपलब्ध गराउने क्रममा समय÷समयमा विभिन्न कठिनाइहरु आइपरेको, नेपाल विधुत प्राधिकरणबाट डेडिकेटेड लाइनको काम नभएको गायतका समस्या रहेका आयोजनाले जनाएको छ ।

अहिलेकै अवस्था रहेका आउँदो डिसेम्बरसम्म विमानस्थलमा परीक्षण उडानका लागि सबै  संरचना तयार भैसक्ने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार गएको आर्थिक वर्ष यो आयोजनाको लागि ६ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा दोब्बरभन्दा धेरै रकम खर्च भएको छ । आयोजनाले गएको वर्ष १४ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको छ । विनियोजन गरिएकोभन्दा धेरै रकम रकमान्तर गरिएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

पूर्ण क्षमताका विमान उडान र अवतरणका लागि योग्य नभए पनि क्षेत्रीय उडान गर्नको लागि पोखरामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भैरहेको छ ।

आर्थिक वर्ष २०६४/६५ देखि प्रारम्भिक कार्य सुरु गरी २०७४ देखि निर्माण कार्य गरिएको आयोजना २०७७/७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सन २०१७ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएको मितिबाट ४ वर्षभित्र अर्थात सन् २०२१ को जुन महिनामा विमानस्थलको सबै काम सकिसक्नुपर्नेछ । आयोजना निर्माणको लागत अनुमान २१ अर्ब ६० करोड रहेको छ ।

आयोजना निर्माणका लागि गएको आर्थिक वर्षमा ६ अर्ब ८० करोड विनियोजन भएको थियो । विनियोजन भएको रकममध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले गएको वर्ष ६ अर्ब २८ करोड ३३ लाख रुपैयाँ अर्थात ९२ दशमलव ४ प्रतिशत रकम खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।  तर मन्त्रालयको वेबसाइटमा भने ६ अर्ब ३० करोड रुपैयाँ खर्च भएको र यो १ सय २० प्रतिशत रहेको उल्लेख गरिएको छ ।

अहिलेसम्म आयोजनाले ४२ प्रतिशत भौतिक प्रगति सम्पन्न गरेको छ । यो आर्थिक वर्षमा भौतिक प्रगति ७० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ ।

बाहिरी सडक मार्गका लागि जग्गा अधिग्रहणमा परेका सुकुम्बासीलाई हटाउन समस्या देखिएको, फ्यूल फार्म निर्माणमा पनि समय लाग्ने देखिएको, आयोजनाका लागि  डेडिकेटेड विद्युत लाइन निर्माणमा समय लाग्ने देखिएको लगायतका समस्या मुख्य रुपमा देखिएका छन् ।

तस्बिर - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया