सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृतिसँग जोडिएको गौरा पर्व सुरु

 भदौ ३, २०७६ मंगलबार १३:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

कैलाली – सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृतिसंग जोडिएको गौरा पर्व सुरु भएको छ । गौरा पर्व अन्तरगत आज बिरुडा पञ्चमी, घर–घरमा बिरुडा राखिएको छ ।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामापितलका भाँडाको बाहिरपट्टी पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ धोएर राख्ने चलन रहेको छ । 

गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । 

बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाइ गौरा घरमा भित्र्याउने गरेका छन् । 

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेल्ने गर्छन् ।

अनुकूल तिथि हेरेर विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

अन्तिम अपडेट: भदौ १०, २०७६

तपाईको प्रतिक्रिया