अमेरिका : युट्यूबमा भिडियो हेरेर महिलाले फेला पारिन् ३.७२ क्यारेटको हिरा

 भदौ ५, २०७६ बिहिबार १२:३३:५६ | एजेन्सी
unn.prixa.net

वर्तमान समयमा हरकोही मानिसहरु इन्टरनेटको प्रयोग गरेर फरक–फरक किसिमका चीजहरु खोज्ने गर्दछन् । साथै युट्युब हेरेर पनि धेरैले नयाँ नयाँ कुरा थाहा पाउने गर्दछन् । 

यही सन्दर्भमा अमेरिकामा सबैलाई हैरान बनाउने खबर सार्वजनिक भएको छ । अमेरिकामा एक महिलाले युट्यूबमा भिडियो देखेर ३ दशमलव ७२ क्यारेटको हिरा फेला पारेकी छिन् । ती २७ वर्षीया महिलाको नाम मिरान्डा होलिंगशेड हो । 

स्टेट पार्कका अधिकारीहरुले यो कुराको जानकारी दिएका हुन् । अधिकारीहरुका अनुसार ती महिला परिवारहरुसँग अर्कन्सास इलाकाका पार्कमा घुम्न गएकी थिइन् । घुम्दै गर्दा ती महिला यस्तो स्थानमा पुगिन्, जहाँ वर्षाैँ पहिले हिरा पाइने गर्दथ्यो । 

मिरान्डा एउटा रुखको फेदमा बसिन् र हिरा कसरी पाइन्छ भनेर सोच्न थालिन् । त्यसपछि उनले युट्यूबमा केही भिडियो देखिन् र एउटा लट्ठीको सहाराले खन्न थालिन् । झण्डै १० मिनेटपछि पहेँलो रंगको चमकदार टुक्रा फेला पर्यो । 

त्यसपछि होलिंगशेडले त्यो हिराको टुक्रा डायमण्ड डिस्कभरी सेन्टरमा लिएर गइन् र पार्कका कर्मचारीहरुले त्यो हिरा भएको बताए । कर्मचारीहरुले हालै भएको वर्षाका कारण हिरा जमिनको सतहमा आएको बताए । 

उनले फेला पारेको हिराको अनुमानित मूल्य झण्डै ११ लाख ४५ रुपैयाँ बराबर रहेको अधिकारीहरुले बताएका छन् ।  

अर्कान्सस् पार्कमा मानिसहरुले हिरा फेला पारेको छुट्टै इतिहासहरु छन् । गएको वर्ष एक जना ३६ वर्षीय पुरुषले २ दशमलव १२ क्यारेटको हिरा र अर्का एक जना व्यक्तिले १ दशमलव ५२ क्यारेटको हिरा फेला पारेका थिए । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया