‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान’ का उपकुलपति हटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 भदौ १०, २०७६ मंगलबार १९:२९:२५ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – दाङको घोराहीमा रहेको ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ’ अभियानले प्रतिष्ठानमा पछिल्लो समय उत्पन्न समस्याका समाधानका लागि भन्दै मंगलबार प्रधानमन्त्रीसहित सभामुख, स्वास्थ्य मन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत अभियानले मंगलबार ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा सबैखालका समस्याको जड प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारी नै भएको  निष्कर्षसहित ज्ञापनपत्र बुझाएको हो ।

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान’ ले भदौ ८ गते २४ घण्टे अल्टिमेटमसहित उपकुलपति संगिता भण्डारीसमक्ष राजीनामा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । तर निर्धारित समयावधि बितिसक्दा पनि उपकुलपति संगिता भण्डारीले राजीनामा आएको भन्दै आन्दोलन घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रमअनुसार  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई बर्खास्त गर्न माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीको कार्यालय,   संघीय सभामुखको कार्यालय, संघीय स्वास्थ्य मन्त्रीको कार्यालय र  ५ नम्बर प्रदेश मुख्यमन्त्रीको कार्यालयसमक्ष ज्ञापन पत्र पेश गर्ने, मंगलबार   जिल्लामा क्रियाशील स्वास्थ्यसँग सम्बन्धित संघसंस्थासँग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न समस्याका छलफल गर्ने, बुधबार जिल्लाका सम्पूर्ण पक्षसँग सर्वदलीय सर्वपक्षीय छलफल कार्यक्रम र बुधबारसम्म पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित समस्या समाधान नभए भदौ १३ गते दोस्रो चरणका कडा संघर्षका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।

उता प्रतिष्ठानले भने २२ डाक्टरले राजीनामा दिएपछि नयाँ डाक्टर भर्नाका लागि सोमबार नयाँ विज्ञापन खोलेको छ । भदौ २३ गतेसम्मको म्याद राखेर प्रतिष्ठानले विज्ञापन खोलेको हो । 

अन्तिम अपडेट: चैत ६, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया