चितवनमा डेंगुकाे प्रकाेप : ३ जनाको ज्यान गयाे , ४ सय ३३ जनामा संक्रमण

 भदौ ११, २०७६ बुधबार १८:४०:५४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनमा सरुवा रोग डेंगुको संक्रमण बढ्दै गएको छ । बिरामीको अवस्थाको अध्ययन गर्दा जिल्लाको ग्रामीण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा डेंगुको प्रभाव धेरै देखिएको छ । डेंगुको विषाणु भाइरस संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । 

चितवनमा यस आर्थिक वर्षको साउन महिनादेखि भदौ १० गतेसम्ममा ४ सय ३३  जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका भेन्ट्रल कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो । चितवनको ९ ओटा अस्पतालमा साउन देखि भदौ १० गतेसम्ममा १३ सय ५६ जनाको परीक्षणमा ४ सय ३३ जनामा संक्रमण भेटिएको उहाँले बताउनु भयो । 

अधिकांश डेंगु संक्रमित भरतपुर महानगरपालिकाभित्रका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर-१, २, ३, ४, १०, १ र १२ गरी ७ ओटा वडाका रहेका छन् । महानगरले जोखिम मानिएका वडाहरूमा तीन दिने ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिसकेको छ । भरतपुर महानगरपालिकामा मात्रै २ सय ५३ जना डेंगुबाट संक्रमित रहेका छन् ।

‘डेंगुकै कारण तीन जनाको मृत्युसमेत भइसकेको छ’, केसीले भन्नुभयो, ‘डेंगुको प्रकोप बढ्दै गएका कारण महामारीको रुप लिन सक्छ । ग्रामीण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा डेंगुको प्रभाव धेरैै देखिएको छ । बजार बस्तीमा लामखुट्टेको लाभ्रा नष्ट गर्दै चेतनाका कार्यक्रम गर्दै आएका छौँ ।’
 
गएको साउन २३ गते पश्चिम चितवनको शुक्रनगर घर भएकी १६ वर्षीया युवतीको डेंगुको कारण ज्यान गएको थियो । त्यसपछि साउन ३१ गते नारायणगढ घर भएका ७६ वर्षीय एक वृद्धाको डेंगु र स्क्रपटाइपसको कारण ज्यान गयो । त्यसपछि यही भदौ ७ गते उपचारको लागि रौतहटबाट चितवन आउनु भएका ३४ वर्षीय एक युवकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको भेक्ट कन्टोलर केसीले जानकारी दिनुभयो ।

चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ् मेडिकल साइन्सेस् शिक्षण अस्पताल, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेसनल सिटी अस्पताल, पुष्पाञ्जली अस्पताल र रत्ननगर नगरपालिकामा रहेको वकुलहर अस्पतालमा डेंगुको परीक्षण हुँदै आएको छ । 

नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमै एक व्यक्तिमा डेंगुको संक्रमण पाइएको थियो । कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०६७/०६८ मा ३ हजार २९८ जनाको डेंगु परीक्षण गरिएकोमा ७३९ जनामा संक्रमण देखिएको थियो । त्यस्तै पाँच जनाको ज्यान गएको कार्यालयले जनाएको छ । 

आर्थिक वर्ष २०७०/०७१ मा २ हजार २६१ जनाको परीक्षण गरिएकोमा ३७१ जनामा डेंगुको संक्रमण देखिएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा २ हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेंगु फेला परेकोमा एक जनाको ज्यान गएको थियो । 

आर्थिक वर्ष २०७४/०७५ मा १ हजार २ सय ९१ जनामा परीक्षण गर्दा ५९  जनामा डेंगु फेला परेकोमा एक जनाको ज्यान गएको थियो । 

सरकारी अस्पतालमा डेंगु परीक्षण निःशुल्क हुने गरेको भए पनि निजी अस्पतालमा परीक्षणका लागि किट खरिद गर्दा १ हजारदेखि १ हजार ५ सयसम्म शुल्क तिर्नुपर्ने हुन्छ । निःशुल्क परीक्षण हुने सरकारी अस्पतालमा आवश्यक किट अभाव भएका कारण समस्या बढ्दै गएको केसीले बताउनु भयो । 

लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव दिएका छन् । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले डेंगु ज्वरोविरुद्ध खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचाउको मुख्य उपाय भएको जानकारी दिनुभयो । 
 
टायर, डब्बा, एयर कन्डिसन, एयर कुलर, ड्रम, पानीका ट्याङ्की, गमला लगायतका सामग्रीमा जमेको सफा पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्तो पानी जम्न नदिन सक्रिय हुनुपर्ने उहाँको सुझाव छ । 

अचानक उच्च ज्वरो आउने, ज्वरो एक सातासम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखा पर्ने उहाँले बताउनु भयो । 

वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने समेतको लक्षण देखा पर्ने अधिकारीले जानकारी दिनुभयो । सामान्य लक्षण देखिना साथ चिकित्सकको सल्लाह लिन उहाँको सुझाव छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया