गएकाे वर्ष झण्डै ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

 भदौ १६, २०७६ सोमबार १७:४०:७ | रासस
unn.prixa.net

काठमाण्डाै - आर्थिक वर्ष २०७५/०७६ मा झण्डै नौ खर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गएकाे आ‍र्थिक वर्षको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा विप्रेषण आप्रवाह आठ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ पुगेको उल्लेख छ ।

आर्थिक वर्ष २०७५/०७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा सात खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आप्रवाह १०.२ प्रशितले बढेको थियो । गत आवमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजागारीमा जानेको सङ्ख्या ३२.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ९.३ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा वर्षमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो स¬ङ्ख्या ०.६ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा चालू खाता दुई खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा दुई खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । यस्तै आव २०७५/०७६ मा शोधनान्तरस्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष शोधनान्तरस्थिति ९६ करोड रुपैयाँले बचतमा रहेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा पूँजीगत ‘ट्रान्सफर’ १५ अर्ब ४६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब सात करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष पूँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया