एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि नेपालले आज हङ...
बैशाख ८, २०८१ शनिबार
संखुवासभा – संखुवासभामा पहिलो पटक पाँच जनामा डेंगु देखा परेको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ ।
अहिलेसम्म जिल्ला अस्पताल खाँदबारीमा दुई जना, तुम्लिङटारको मनकामना अस्पतालमा दुई जना र खाँदबारीमा नै रहेको गोपालभगत अस्पतालमा एक जनालाई डेंगु देखिएको पुष्टि भएको जिल्ला अस्पताल खाँदबारीका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर लक्ष्मण खड्काले बताउनु भयो ।
खड्काका अनुसार केही समयअघि जिल्ला अस्पतालमा चेकजाँच गर्न आएका एक जनामा डेंगुको शंका लागेर नमुना स्वास्थ्य मन्त्रालयमा पठाएका थियौँ, नमुनाको आधारमा डेंगु लागेको पुष्टि भएको सुपरिन्टेण्डेन्ट खड्काले बताउनु भयो ।
त्यसपछि जिल्ला अस्पतालमा चेकजाँच गर्न आएका खाँदबारी–८ घर भएका ३० वर्षीय सुनील श्रेष्ठलाई समेत डेंगु देखिएको उहाँको भनाइ छ । सुनिल पेसाले ड्राइभर हुनुहुन्छ र उहाँ प्रायजसो धरान, इटहरी र खाँदबारी गरिरहनु हुन्छ । उहाँमा उतैबाट रोग सरेको हुन सक्ने अस्पतालले आशंका गरेको छ ।
साथै घरबाट बाहिर टाढा नगएका खाँदबारी–९ का नारायण लम्साल र संगीता मगरलाई समेत डेंगु देखिएको हो । उनीहरुलाई तुम्लिङटारको मनकामना अस्पतालमा चेकजाँच गर्ने क्रममा डेंगु रहेको पत्ता लागेको हो ।
त्यसैगरी सदरमुकाम खाँदबारीमा नै रहेको गोपालभगत अस्पतालमा खाँदबारी–३ मानेभञ्जाङ्गकी उषा श्रेष्ठलाई डेंगु देखियो । श्रेष्ठ पनि घर नजिकैको शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । सम्पूर्ण प्रतिवेदन जिल्ला अस्पतालमा पठाइ सकिएको अस्पतालका व्यवस्थापक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
केही समयअघि सदरमुकाम खाँदबारीभन्दा बाहिर धरान, विराटनगर आवातजावात गर्नेहरुलाई मात्रै डेंगु लागेको आंशका गरिएको थियो । तर अहिले खाँदबारीभन्दा बाहिर नगएकाहरुलाईसमेत डेंगु देखा परेको जिल्ला अस्पतालका डा. खड्काले बताउनु भयो ।
डेंगु एडिज नामको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । विशेषगरी गर्मी मौसम र गर्मी ठाउँमा देखिने गर्छ ।
सुरुमा टाउको दुख्ने, सामान्य ज्वरो आउने, वान्ता हुने, पसिना आउने, हाडजोर्नी, मांशपेशी र नसाका साथै आँखाका गेडीहरु दुख्ने जस्ता भाइरलका लक्षणहरु नै देखापर्ने डा. खड्काको भनाइ छ । संखुवासभा जस्तो चिसो हुने पहाडी क्षेत्रमासमेत डेंगु देखा पर्नु अलि अनौठो मानिएको छ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।