पहिरोले थुनिएको सभाखोला बग्न थाल्यो

 भदौ २६, २०७६ बिहिबार ९:३६:२५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – वर्षाका कारण संखुवासभाको सभापोखरी गाउँपालिका–४ फाक्सीबुङमा पहिरो झरेर थुनिएको सभाखोलाको पानी विस्तारै बग्न थालेको छ । 

बुधबार दिउँसो करिब साढे २ बजेतिर वर्षाका कारण खसेको पहिरोले सभाखोला थुनिएको थियो । सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारभन्दा तीन किमि उत्तरमा रहेको फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएको थियो । खोला थुनिएर करिब तीन सय मिटरभन्दा ठूलो ताल बनेको थियो । 

 

बिहीबार बिहानैदेखि जमेको पानी विस्तारै खोलिएर बग्न थालेकाले जोखिम घटेको सभापोखरी–६ नम्बरका वडाध्यक्ष विकास पौडेलले बताउनुभयो । उहाँको अनुसार, बुधबार राति पनि ठूलो वर्षा भए पनि थप पहिरो नझरेको र थुनिएको ठाउँको पानी विस्तारै बग्न थालेको बताउनुभयो । 

पहिरोले थुनिएको सभाखोलाको वारिपट्टि फाक्सीबुङ पर्छ भने पारिपट्टि खेवारिङ पर्दछ । पहिरोसँगै ठूलाठूला ढुङगाहरु झरेर खोला नै थुनिएकाले सबै पानी एकैपटक खोलिने सम्भावना नभएको स्थानीयको अनुमान छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया