‘मन्त्रीका कारण मात्रै नभइ जहाजबाट केही यात्रु झरेर नाराबाजी गरेकाले पनि उडानमा ढिलाइ भयो’

 भदौ २९, २०७६ आइतबार १५:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– नेपालगञ्ज विमानस्थलबाट काठमाण्डौका लागि शनिबार साँझ दुई ओटा भीआईपी उडान थियो ।

साँझ ६ः३० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र त्यसपछि पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा काठमाण्डौ उड्ने तय भएको थियो । मन्त्री भट्टराई बुद्ध एयरबाट र कांग्रेस सभापति देउवा श्री एयरको जहाजबाट काठमाण्डौका लागि उड्ने भएपछि विमानस्थल पनि त्यसैअनुसारको तयारीमा लागेको थियो । 

विमानस्थल प्रमुख प्रेमनाथ ठाकुर दुवै भीआईपीको उडान सहज बनाउन आफैं खटिनुभएको थियो ।  

बुद्ध एयरको विमान अवतरणपछि यात्रु ओराल्ने तथा लगेजहरु झार्न तथा फेरि यात्रु र लगेज लोड गर्न झण्डै ३५ मिनेट लागेको ठाकुर बताउनुहुन्छ ।  

त्यसबीचमा आफूहरु कांग्रेस सभापति देउवाको उडान सहज बनाउन श्री एयरको उडान समय मिलाउँदै गर्दा बुद्ध एयरमा चढिसकेका ५/१० जना यात्रु ओर्लेर एकाएक नाराबाजी गर्न लागेको र त्यहाँ आफैँ गएर सम्झाउँदा पनि जथाभावी होहल्ला गरेको उहाँले बताउनुभयो । 

बेलुकी ६ बजेर ११ मा अवतरण गरेको जहाजबाट यात्रु झार्ने, फेरि चढाउने अनि त्यही बीचमा तेल हाल्ने र सरसफाई गर्ने जस्ता काम ३५ मिनेटमै सकेको विमानस्थल प्रमुख ठाकुर बताउनुहुन्छ ।  

मन्त्री भट्टराईको धनगढीबाटै उडानको टिकट रहेको भए पनि त्यहाँ पुगेका बेला नेपालगञ्ज विमानस्थलको पनि अवलोकन गर्ने भन्ने कुरा भएपछि उहाँ नेपालगञ्ज हुँदै काठमाण्डौ फर्कने समय मिलाइएको पनि उहाँले बताउनुभयो ।  

तर कार्यक्रम सकेर फर्कँदा ढिला भएको र उहाँको स्वकीय सचिवले फोन गरेर केही ढिला हुन्छ भनेपछि आफैँले जहाजका क्याप्टेनलाई अनुरोध गरेर केही समय माग गरेको पनि प्रमुख ठाकुरले उज्यालोलाई बताउनुभयो ।  

मन्त्रीका स्वकीय सचिवले १०/१५ मिनेट कुर्नुहोस्, त्योभन्दा बढी ढिला हुने भयो भने हामी यतै बस्छौँ भनेर भन्नुभएकाले आफूहरुले मन्त्रीलाई १५ मिनेट मात्रै कुरेको उहाँले बताउनुभयो ।  

‘बेलुकी ६ बजेर ४८ मिनेटमा सबै यात्रुहरु जहाज चढिसकेका थिए । त्यही बेला मन्त्री पनि विमानस्थल छिर्नुभएको र विमानस्थलको सबै प्रक्रिया सक्दा उहाँ ७ बजे जहाज चढिसक्नुभएको थियो’, विमानस्थल प्रमुख ठाकुरले भन्नुभयो ।  

मन्त्री भट्टराई विमानस्थलको प्रक्रिया सकेपछि सरासर जहाजमा चढ्नुभएको र जहाजमा चढ्दा केही यात्रुले अभद्र व्यवहार देखाएको पनि ठाकुरले बताउनुभयो । जहाजमा बसिसकेका ५/१० जना यात्रु फेरि झरेर नाराबाजी गर्दा उडानमा झनै ढिलाइ भएको उहाँको भनाइ छ । 

जहाज अवतरण भएको ५५ मिनेटमै उडान गरिएको भन्दै ठाकुरले सामान्य प्रक्रिया पूरा गरेर जाँदा पनि कम्तीमा ३५ मिनेट समय लाग्ने बताउनुभयो । झण्डै २० मिनेट जति ढिलाइ भएको देखिएको भन्दै यो सबै मन्त्रीका कारण मात्रै नभइ जहाजबाट झरेर नाराबाजी गर्नेहरुका कारण पनि उडान ढिलाइ भएको उहाँ बताउनुहुन्छ । 

‘हामीले जहाजबाट उत्रेर नाराबाजी गर्नेलाई संयमता अपनाउँदै सम्झाउने प्रयास गरेको भए पनि उनीहरु अटेर गर्दै होहल्ला गर्दा उडानमा समस्या आएको हो’ उहाँले भन्नुभयो । 

प्रमुख ठाकुरले भिडियोमा जहाजभित्रै पनि यात्रुहरुले मन्त्रीविरुद्ध हुलहुज्जत गरिएको देखिएको भन्दै यो अन्तर्राष्ट्रिय उड्डयन मान्यता विपरीत भएको बताउनुभयो । 

जहाजभित्र कसैले अभद्र व्यवहार गरेमा उतार्न सकिने नियम रहे पनि आफूहरु संयम भएर उडानको व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।  

जहाजभित्र जथाभावी व्यवहार गर्ने, हुलहुज्जत गर्न खोज्नेलाई ‘ब्ल्याक लिस्टेट’ गरेका थुप्रै उदाहरण छन् । नेपालमा भने यो पहिलो पटक भएको छ । 

संसारका विभिन्न देशमा सम्बन्धित कम्पनीले उडाउन सक्दिन भनेर ब्ल्याक लिस्टेड गरेको उदाहरण रहेको भन्दै उहाँले भन्नुभयो, ‘यसमा भने हामीले संयमता अपनाएका हौँ ।’ 

मन्त्रीले अनुरोध गर्दा मात्रै उडान समय ढिला हुन्छ कि अरु यात्रुले गर्दा पनि यसरी नै ढिला गरिन्छ भन्ने प्रश्नमा विमानस्थल प्रमुख ठाकुरले साधारण अवस्थामा ढिलाइ गर्न नसकिने भए पनि अवस्था हेरेर समय सार्न सकिने बताउनुभयो । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • जनमुक्ति सेना नेपाल

    Sept. 15, 2019, 11:24 p.m.

    कानुनी राज्यमा जनतालाई नियम कानुन अनि नेतालाई चैन हैनत ! उसो भए मन्त्रीकै मार्गमा अन्य नागरिकले पनि यस्तै गरे के हुन्छ हालत मुलुकको ? नियम भनेको नियम नै हुनुपर्छ चाहे जुनसुकै ओहोदाका मान्छे किन नहोस हैनभने संविधान च्यातेर डस्डविनमा फाले भैगो त ! अनि हवाई कम्पनीले अन्य यात्रुुलाई पनि भोलि मन्त्री लाई जस्तै सुविधा दिने वा नदिने ? आखिर जनताले पनि पैसा नै तिरेका होलान विमानको फ्रि मा पक्कै चढेका हैनन होला ...

  •  0 Reply

तपाईको प्रतिक्रिया