वैदेशिक रोजगार पीडितलाई भदौ महिनामा विभागले भरायो अहिलेसम्मकै बढी क्षतिपूर्ति

 असोज १, २०७६ बुधबार १३:४९:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले भदौ महिनामा मात्रै वैदेशिक रोजगार पीडितलाई २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति भराएको छ । 

नयाँ र पुराना गरी दुई सय ९५  पीडितलाई क्षतिपूर्ति रकम भराएको विभागका महानिर्देशक भीष्मकुमार भूसालले बताउनुभयो ।

विभागमा भदौ महिनामा संस्थागततर्फ १६७ र व्यक्तिगततर्फ ४८ उजुरी परेका थिए । महानिर्देशक भूसालका अनुसार भदौ महिनामा विभागमा दर्ता भएका उजुरीमध्ये संस्थागततर्फ ८५ र व्यक्तिगततर्फ ४० मुद्दा फरफारक भएका छन् । यस्तै संस्थागततर्फका १ सय ७० वटा पुराना मुद्दा पनि भदौ महिनामै फरफारक भएको भूसालले बताउनुभयो । 

टर्कीको रोजगारीमा जाने क्रममा अघिल्लो वर्ष ठगिएका १ सय ७० जनाको क्षतिपूर्ति पनि यसै महिना भराएकोले क्षतिपूर्तिको यो रकम अहिलेसम्मकै उच्च रहेको उहाँको भनाइ छ ।

‘यो भन्दा पहिले एक महिनामा सबैभन्दा बढी १ करोड रुपैयाँसम्म क्षतिपूर्ति भराएको रेकर्ड थियो, यो आजसम्मकै सबैभन्दा बढी हो’, उहाँले भन्नुभयो,  ‘ टर्की पीडितले मात्रै ९७ लाख रकम क्षतिपूर्ति पाउनुभएको छ ।’

म्यानपावर कम्पनी, रोजगारदाता कम्पनी र टर्की दूतावाससँगको छलफलपछि टर्की पीडितलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको निर्देशक भूसालले बताउनुभयो ।

यस्तै भदौ महिनामा २ करोड ८५ लाख बिगो दाबीसहित ४१ मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा पेश भएका छन् । यस्तै व्यवसायीबाट १९ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरेको निर्देशक भूसालले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया