‘आमा सँधै भन्छिन् : कान्छी, खेल छोडेर घर आइजो’

 असोज २, २०७६ बिहिबार १२:१६:२ | लक्ष्मण कार्की
unn.prixa.net

छोराछोरीलाई खेल्न कुद्न प्रेरित गर्ने बा आमा कमै छन् । त्यसैकारण खेलकुदमा लाग्नेहरु बा आमाका आँखा छल्दै र ढाँट्दै यता लाग्नुपरेको बताउँछन् । जब उनीहरुले कुनै उपाधि जित्छन्, पदक ल्याउँछन्, कीर्तिमान बनाउँछन वा मान्छेले सुन्न चिन्न थाल्छन् रिसाएकै बाआमा पनि खुशी हुन्छन् र भन्छन् ‘ठिकै छ नि त ।’

बा आमाबाट खेलाडीका रुपमा अनुमोदन हुन पाएका छोराछोरी दङ्ग हुन्छन् । तर, सबैले भने यसरी खुशी हुन पनि पाउँदैनन् । भाराेत्तोलनकी कीर्तिमानी खेलाडी तारादेवी पुन यो मामिलामा यस्तै अपवाद हुन् ।

१८ वर्ष भयो उनले भाराेत्तोलन खेल्न थालेको । यसक्रममा उनी नेपालकै सबैभन्दा बलियो महिला ‘स्ट्रङ्गेष्ट वुमन’ को उपाधि पाएकी छन् । भाराेत्तोलनको स्न्याच तथा क्लिन एण्ड जर्कमा गरी उनले उठाएको जति अर्थात् १ सय ७५ किलो भार अहिलेसम्म नेपालका कुनै महिलाले उचाल्न सकेका छैनन् । उनले आफनो नाममा राष्ट्रिय कीर्तिमान बनाउने र आफैले भत्काउने र फेरि बनाउने गरेको धेरै भइसक्यो ।

तर दुई दशक पुग्नै लाग्दा पनि उनको भाराेत्तोलन आफ्नी आमाबाट अनुमोदन हुन सकेको छैन । जति कीर्तिमान बनाएपनि आमाले स्याब्बास छोरी भनेर धाप मारेकी छैनन् उनलाई । भाराेत्तोलनमा ९० किलो भार उचालेर सुरु भएको उनको यात्रा १ सय ७५ किलो अर्थात झण्डै दोब्बर बनाउँदासम्म उनलाई आमाको स्याब्बासी खट्किरहन्छ ।

‘आमाले ओहो ! कान्छी कस्तो गज्जब गरिस् भनेर धाप मारिदिउन् जस्तो लाग्छ ।’

‘उहाँलाई कन्भिन्स गराउन नसकेकोमा नमज्जा लाग्छ’, तारादेवी भन्छिन्, मेरो लागि आमा सबैभन्दा नजिकको साथी हो, सबैभन्दा मान्ने मान्छे हो । उहाँलाई नै खुशी बनाउन सकिनँ भन्ने सोच्दा नमज्जा पनि लाग्छ ।’ 

भारोत्तोलनबाट उनले पाएका पुरस्कार, मेडल र प्रमाणपत्र न भनेर साध्य छ न गनेरै । उनका कोठामा प्रमाणपत्र र मेडलको खात छ तैपनि ती कुनैले आफ्नी सबैभन्दा प्रिय मान्छेको मन जित्न नसकेकोमा उनलाई खल्लो महसुस हुन्छ । यो कुरा अलि धेरै कोट्यायो भने उनी भावुक बन्छिन् ।

गएको वैशाखमा भएको आठौँ राष्ट्रिय खेलकुदमा तारादेवीले भारोत्तोलनमा स्वर्ण पदक जितिन् । जित्नासाथ आमालाई त्यो खबर सुनाउने उत्कट चाहना थियो नै । सँगै थियो छोरीको यत्रो सफलताको कुरा सुनाएर आमाले स्याब्बास भनिहाल्नुहोला कि । तर म्याग्दीको दुर्गम हिस्तान गाउँमा बस्ने आमासँग आफूले चाहेको बेला कुरा गर्न सकिँदैन । कुराकानीका लागि आमाले चाहनुपर्छ । मतलब, आमा घरभन्दा अलि वर आउनुपर्छ फोन गर्न, जहाँ मोबाइलले टावर टिप्छ । आमाले टावर टिप्ने ठाउँबाट फोन गरेपछि बल्ल बोल्न पाइन्छ ।

तर, उनले पदक जितेको पाँच दिनसम्म पनि आमाको फोन आएन । फोन र फेसबुकमा बग्रेल्ती बधाई आएका थिए । तर उनी आमाको फोन पर्खिरहेकी थिइन् । यताबाट गर्दा सम्पर्क हुँदैन थियो उताबाट फोन आउँदैन थियो ।

किन आमाको मोबाइलमा टावर टिपेन ? तारादेवीलाई कारण थाहा थिएन । 

पाँच दिनपछि बल्ल आमाको फोन आयो । ‘यत्रो दिन किन फोन नगर्नुभएको ?’, उनले सुरुमै आमासँग चित्त दुखाइन् । ‘किन गर्नु अनि ?’ आमाले केही चाल नपाएको जस्तो गरिन् । ‘मैले राष्ट्रिय खेलकुदमा तक्मा जितेँ नि’, उनले आमालाई एकै सासमा सुनाइन् ।

‘ए ...’ आमाको उत्तर । उही पारामा ।

‘खुशी लागेन ?’ तारादेवीले सोधिन् ।

‘त्यो त अस्ति सुनेको मैले रेडियोमा’, आमाको थप जवाफ । पारा उही ।

‘अब त्यो खेल छोडेर घर आउने चाहिँ कैले हो ?’ आमाको उही प्रश्न सधैँ जस्तै ।
 
यसपटक पनि आमालाई मनाउने प्रयास असफल भएकोमा तारादेवी अवाक् बनिन् । 

छोरीले भलिबल खेल्दासम्म आमाको कुनै नाइनास्ती थिएन । तर छोरीले गह्रौँ भारी उठाउने काम गर्छे भन्ने सुनेदेखि हो आमालाई त्यो मन नपरेको । मनाउन उनले एकपटक आमालाई खेल भइरहेको ठाउँमै लगिन् । तर परिणाम उल्टो भयो । गह्रौँ न गह्रौँ भारी जुरुक्कै उचाल्नुपर्ने र अरुलाई पनि जित्नुपर्ने देखेपछि आमा झन बिच्किइन् । जतिसक्दो छिटो यो छोडेर घर आइहाल् भनिराखेर आमा म्याग्दी फर्किइन् ।

भारोत्तोलनमै लागेकोमा पनि उनका दुई दाइ एक भाइ र एक दिदीको सहयोग र समर्थन भरपुर छ । २०६० सालमा दिवंगत हुनु अघिसम्म बुबाको पनि पूर्ण समर्थन थियो । तारादेवीका दाजुभाइ र दिदी पनि आमालाई फकाउँछन् । तर अहँ, आमाको मन फर्किएको छैन । दुई दशक हुनै लाग्यो आमाको मन फर्किँदै फर्किएको छैन ।

तारादेवीलाई भारत्तोलनमा १८ वर्षसम्म पहिलो हुन र भइराख्न कीर्तिमान बनाउन र बनाइराख्न कम्ती मेहनत गर्नुपरेन । ‘कति गाह्रो छ भन्ने त मलाई नै थाहा छ नि’, उनी भन्छिन्, ‘३८ वर्षको भएँ, नयाँ नयाँ क्षमतावान खेलाडीहरु आइरहेका छन् तैपनि यतिका वर्ष नम्बर वान भएर टिकिराख्न कति गाह्रो छ त केवल मलाई थाहा छ ।’

यसका पछि उनी आवद्ध नेपाल पुलिस क्लबको मुख्य भूमिका रहेको उनी बताउँछिन् । तर उनले आमाको मन भने अझै जित्न सकेकी छैनन् । फोन गरेपिच्छे ७३ वर्षे आमा सोध्छिन्, ‘कान्छी, खेल छोडेर घर आउने कहिले हो ?’ कहिले निर्देशन दिन्छिन्, लु छिट्टै खेल्नु छोडेर घर आइहाल्नु ।

‘यो कार्यक्रम हाम्रो म्याग्दीमा कुन चैँ रेडियोले बजाउँछ भाइ ?’, तारादेवीले उज्यालो फल्चाका लागि कुराकानी गरिसकेपछि सोधिन् । ‘आमालाई सुनाउनु छ के ।’ आमाको मन पगाल्ने एउटा प्रयास थियो त्यो पनि ।

तारादेवी ३८ वर्षकी भइन् । सबैले बिहे कहिले गर्ने भनेर वाक्क लगाउँछन् । आमाले नभन्ने कुरै भएन । अब चाहिँ आमाको यो कुरा मान्नुपर्छ कि जस्तो उनलाई पनि लाग्न थालेको छ । ‘आमाको भारोत्तोलन छोड भन्ने आग्रह त मान्न सकिनँ, ज्याद्रो भएर लागिरहेँ बिहे गर भन्ने दबाब चाहिँ अब मान्नुपर्छ कि’, तारादेवी हाँस्दै सुनाउँछिन् ।

१३औँ दक्षिण एसियाली खेलकुदको तयारीमा रहेकी तारादेवीलाई प्रतियोगितामा पदक जितेर मात्र भएको छैन । त्यो पदकले आमाको मन पनि फर्काउनुछ ।

किनभने, आमाले ‘स्याब्बास ! कान्छी’ भनेर धाप नमारेसम्म उनलाई आफूले सफलतामा के नपुगेको नपुगेको जस्तो भइरहनेछ तारादेवीलाई । 

अन्तिम अपडेट: असोज २१, २०७६

लक्ष्मण कार्की

उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।  

तपाईको प्रतिक्रिया