आप्रवासी कामदारको अधिकारबारे काठमाण्डौमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

 असोज ८, २०७६ बुधबार १५:२२:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – आप्रवासी कामदारको मानव अधिकार संरक्षणको विषयमा आउँदो कात्तिकमा काठमाण्डौमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

वैदेशिक रोजगारीका क्रममा हुने मानव अधिकार सम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले कात्तिक २६ देखि २८ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन हुने सम्मेलनका संयोजक तथा नेपाल मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले बताउनुभयो ।

सम्मेलनमा दक्षिण एशिया, एशिया प्रशान्त क्षेत्र, अफ्रिका, दक्षिण अमेरिका र युरोप क्षेत्रका राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्तहरुको सहभागिता रहनेछ । यस्तै राष्ट्रिय मानव अधिकार संस्थाहरुको विश्व सञ्जालका प्रमुख, गन्तव्य देशका सरकारी निकायका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि र आप्रवासन क्षेत्रका विज्ञहरुको पनि सहभागिता रहनेछ । सम्मेलनमा ३२ देशबाट अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने आयोगले जनाएको छ ।

आप्रवासी कामदारको व्यवस्थापन तथा प्रशासन, स्वच्छ एवं जिम्मेवार भर्ना प्रक्रिया, अनियमित आप्रवासन एवं मानव बेचबिखनका समस्या, आप्रवासी महिला कामदारको सुरक्षा र चुनौतीका तथा न्यायमा सुनिश्चितता लगायतका विषयमा छलफल हुने पाठकले जानकारी दिनुभयो ।

नेपाल तथा दक्षिण एसियाबाट लाखौँको संख्यामा कामदारहरु खाडी लगायतका अरु देशहरुमा रोजगारीको लागि जाने गरेको अवस्थामा उनीहरुका साझा समस्यालाई यस सम्मेलनले सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनले काठमाण्डौ घोषणापत्र जारी गर्नेछ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया