महाअभियोग मामिला: ट्रम्प डेमोक्रेटिक पार्टीका नेतासँग रुष्ट

 असोज १६, २०७६ बिहिबार १३:१२:३२ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका नेताहरुमाथि आफूविरुद्ध महाअभियोगको योजना बनाएको आरोप लगाएका छन् । 

डेमोक्रेटिक पार्टीका नेताहरुले देशलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर सोच्नुको सट्टा चुनाव जित्न महाअभियोगको योजना बनाएको आरोप लगाएका उनकाे भनाइ छ । 
ट्रम्पले डेमोक्रेटिक पार्टीका नेताहरुलाई अभद्र भाषाको प्रयोग गर्दै बेइमानी गरेको र देशद्रोहीसम्म भन्न भ्याए । 

कांग्रेसको एक समितिले ट्रम्पविरुद्ध लागेको आरोपको सम्बन्धमा सबै दस्तावेज मागेकाे छ । ट्रम्पमाथि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको वार्तामा उनीमाथि एक जना डेमोक्रेट नेता र उनका छोराविरुद्ध भ्रष्टाचारको जाँच सुरु गर्नका लागि दबाब दिएको आरोप छ । 

तर ट्रम्पले भने यी सबै आरोपलाई लगातार नकार्दै आएका छन् । डेमोक्रेट नेताहरुले यो जाँचको बचाउ गर्दै यसलाई निष्पक्ष ढंगले पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । 

के हो ट्रम्पविरुद्ध जाँचको विषय ? 

राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग मामिलामा जाँच सुरु भैसकेको छ । उनीमाथि आफ्ना एक जना प्रतिद्वन्द्वीविरुद्ध योजना बनाएको आरोप लगाइएको छ । जाँचमा आरोप पुष्टि भए ट्रम्पलाई उनको पदबाट हटाउन सकिनेछ । 

यो विवाद यही वर्षको २५ जुलाईमा राष्ट्रपति भवनबाट गरिएको एउटा फोन कलसँग जोडिएको छ । त्यो फोनको पूरा जानकारी व्हिसलब्लोअरले मागेको थियो । 
व्हिसलब्लोअर एक अमेरिकी अधिकारी थिए, जसको उजुरीपछि यो विषयलाई तत्काल ध्यानमा लिन योग्य र विश्वसनीय मानिएको थियो । डेमोक्रेट सांसदहरुले उनको उजुरीको प्रतिलिपि संसदमा पेश गर्न माग गरे । 

त्यसपछि अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाकी सभामुख न्यान्सी पलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी थिइन् । 

‘युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको फोन वार्तामा ट्रम्पले उनलाई जो बाइडेन र उनका छोराविरुद्ध भ्रष्टाचारको विषयमा जाँच गर्न दाबाब दिएको थिए’, ट्रम्पविरुद्ध आरोप लगाइएको छ । 

जो बाइडेन डेमोक्रेटिक पार्टीका नेता हुन् र आगामी राष्ट्रपतीय चुनावमा पार्टीका उम्मेदवार पनि हुन सक्छन् । यसको मतलब उनी चुनावमा राष्ट्रपति ट्रम्पको प्रतिद्वन्दी हुन सक्छन् । बाइडेनका छोरा युक्रेनको एक ग्यास कम्पनीमा काम गर्दथे । 

अहिलेसम्म यो विषयमा बाइडेनविरुद्ध कुनै सबुत सार्वजनिक भएको छैन । 

डेमोक्रेट नेताहरुले युक्रनेका नयाँ राष्ट्रपति जेलेन्स्की सत्तामा आउँदा ट्रम्पले युक्रेनलाई दिँदै आएको सहयोग रोक्ने फैसला गरेको आरोप लगाएका छन् । 
ट्रम्पले आफ्नो फाइदाको लागि सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा युक्रेनको हस्तक्षेपको कोसिस गरिरहेको पनि बताइएको छ ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया