नारायणगढ–मुग्लिन सडकखण्ड : फेरि समय थप्ने तयारी, लागत मूल्य बढ्यो

 जेठ ९, २०७५ बुधबार ११:३१:७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन, जेठ ९ – नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

हालसम्म सडकको ८८ प्रतिशत काम सम्पन्न भएको छ । हालसम्म पहिलो खण्ड आँपटारीदेखि दासढुगांसम्म ८७ प्रतिशत, दोस्रो खण्ड दासढुंगादेखि सिमलतालसम्म ९६ प्रतिशत र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिन सम्म ८१ दशमलव ५ प्रतिशत काम सम्पन्न भएको छ । तेत्तीस दशमलव २ किलोमिटर रहेको यस सडकखण्डको हालसम्म ३२ किलोमिटरमा पहिलो चरणको कालोपत्रे भइसकेको छ । सडक खण्डमा तीन चरणको कालोपत्रे हुने छ । 

फेरि समय थप्ने तयारी 

२०७२ वैशाखमा २४ महिनामा सक्ने गरी यो सडक ठेक्का दिइएको थियो । जेठ १६ गते भित्र निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने गरी चौथो पटक समय थपिएको थियो । ३३ किलोमिटर सडकखण्ड निर्माणका लागि तीन वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । अन्तिम अवस्थामा फेरि निर्माण कम्पनीले समय अपुग भएको भन्दै थप समय माग गरेका छन् । तोकिएको समयमा काम सम्पन्न नभएका कारण आयोजनाको लागत मूल्य बढेको छ । 

पानी परेको, बन्द भएको, सडक जामका कारण काम गर्न नपाएको, काम थपिएको र पहिले मागे अनुरुप समय नपाएकाले मिति थप गर्नुपर्ने कारण देखाउँदै निर्माण कम्पनीले थप समय माग गरेका हुन् । 

पछिल्लो पटक थप गरिएको समय अनुसार पहिलो खण्ड आँपटारीदेखि दासढुंगासम्मको सडकखण्ड निर्माणको जिम्मा लिएको कम्पनीको मिति सकिएको छ । चौथो पटकको मिति थप अनुसार पहिलो खण्डको १० मे २०१८ मा मिति सकिएको हो । दोस्रो खण्ड दासढुंगादेखि सिमलतालसम्मको निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले पाएको समय अवधि पनि सकिएको छ । 

पहिलो खण्डको निर्माणको जिम्मा लिएको  बिएलए–श्रेष्ठ जेभीले थप चार सय दिन समय माग गरेको छ । दोस्रो खण्ड उड हिल–लामा जेभीले थप ४० दिन अर्थात् जुन मसान्तसम्मको समय माग गरेको आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले बताउनुभयो । 

पछिल्लो पटकको  मिति थप हुँदा दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय दिइएको थियो । तेश्रो खण्डको समय वांकी रहेपनि थप समय माग गर्ने कुरा भइरहेको रेग्मीले बताउनुभयो । 

लागत मूल्य बढ्यो 

निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य ३१ करोड ५२ लाख ६ हजार १८१ रुपैयाँले बढेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालका अनुसार सुरुमा दुई अर्ब ८८ करोड ७० लाख १४ हजार २१० रुपैयाँमा ठेक्का दिइएको सडकको लागत मूल्य बढेसँगै तीन अर्ब २० करोड २२ लाख २० हजार ३९१ रुपैयाँ  पुगेको छ ।

तीन भागमा विभाजन गरेर ठेक्का दिइएको यस सडकखण्डको पहिलो खण्डको झण्डै ६० करोड ६१ लाखबाट बढेर करिब ६८ करोड ९७ लाख रुपैयाँ पुगेको छ । दोश्रो खण्डमा झण्डै ९७ करोड ६७ लाखबाट वृद्धि भएर झण्डै एक अर्ब १० करोड र तेश्रो खण्डमा सबैभन्दा बढी झण्डै  एक अर्ब ३० करोड रुपैयाँबाट बढेर झण्डै एक अर्ब ४१ करोड रुपैयाँ पुगेको उहाँले बताउनुभयो । 

एक वर्षभन्दा बढी समय थपिनु, निर्माण सुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु र कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । आयोजना अन्तर्गत सडक निर्माणमा भित्तो कटाइ, पहिरो पन्छाइ, पर्खाल लगाउने काम, बोलपत्रमाभन्दा स्तरीय नाली निर्माण र कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो । 

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको छ । सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर फराकिलो कालोपत्रे गरिँदैछ भने  बाँकी खण्डमा ९ मिटर फराकिलो हुँदैछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया