कलङ्की–महाराजगञ्ज सडकमा दुई ‘अण्डर पास’

 असोज ३०, २०७६ बिहीबार ७:२६:४० | रासस
unn.prixa.net

काठमाण्डौ – चक्रपथको दोस्रो चरणको विस्तारका रुपमा रहेको कलङ्की–महाराजगञ्ज सडकमा २ वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने भएको छ । झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आउँदो चैतमा सडक हस्तान्तरण गर्ने भएको छ । 

पहिलो चरणको विस्तार (कोटेश्वर–कलङ्की) सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । उहाँले भन्नुभयो, ‘पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएको गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।’

बालाजु चोक र महाराजगञ्ज चोकमा गरी दुई स्थानमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । महाराजगञ्ज चोकमा कलङ्की चोकमा जस्तै अण्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिनुभयो । बालाजुमा निर्माण हुने ‘अण्डरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ । 

पैदल यात्रुलाई सडक पार गर्न प्रत्येक एक÷एक किलोमिटर एउटा आकाशे पुल निर्माण हुने थापाले जानकारी दिनुभयो । जम्मा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भइरहेको छ । सडक बिस्तारका लागि चीन सरकारलाई हस्तान्तरण गर्न सरकारले अहिले सडकको अधिकार क्षेत्र खाली गराउन सुरु गरेको प्रमुख थापाले बताउनुभयो । 

यस सडकमा रुख काट्ने, पोल सार्नेलगायतका तयारी भइरहेको छ । केही महीनामै काम सम्पन्न गर्ने उहाँले बताउनुभयो । सम्पूर्ण तयारी सकिए पनि सरकारले चीन सरकारलाई सडक निर्माणका लागि हस्तान्तरण गर्नेछ । चीन सरकारले झण्डै पाँच÷छ महीना तयारीको काम गरेर निर्माण सुरु गर्ने उहाँले बताउनुभयो । 

सडकको अधिकार क्षेत्रमा घरटहरालगायतका संरचना हटाउनु पहिलो चरणमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको छ । स्वयम्भू, ठूलो भ¥याङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनु समस्या रहेको छ । स्वयम्भूमा बुद्धको ठूलो मूर्ति रहेकामा त्यसलाई समेत सार्नुपर्ने उहाँले बताउनुभयो । 

पहिलो चरणमा समस्या देखिएका कुरामा सुधार भए पनि अरू कुरामा दोस्रो चरण पनि झण्डै पहिलो जस्तै हुने विभागले जनाएको छ । मुख्य सडकबीचमा रहनेछ भने त्यसको दुवैतर्फ दुई÷दुई लेनको सहायक सडक हुनेछ । सहायक सडकमा प्रवेश गर्नका लागि सडकको दुवैतर्फ एक÷एक लेनको सर्भिस ट्र्याक रहने गरी डिजाइन भएको छ । सवारी चालकले पहिले सर्भिस ट्र्याकबाट सहायक सडकमा प्रवेश गरेर मात्रै मुख्य सडकमा प्रवेश गर्न पाउँछन् । त्यस्तै सहायक सडकबाट एउटा चोकमा पुगेर मात्रै मुख्य सडक वा मुख्य सडकबाट सहायक सडक गर्न पाउने गरी डिजाइन भइरहेको छ ।

पहिलो चरणमा आकाशे पुल र सर्भिस ट्र्याक

गएको वर्ष पुसमा नै चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि अहिले कोटेश्वर–कलङ्की सडकमा आकाशे पुल निर्माण र ‘सर्भिस ट्र्याक’ निर्माण भइरहेको छ । दश किलोमिटरको सो सडकमा चीन सरकारले सम्झौताअनुसार तीन स्थानमा आकाशे पुलको निर्माण गरेको थियो । आकाशे पुल पर्याप्त नभएको टिप्पणीपछि अहिले थप छ स्थानमा पुल निर्माण भइरहेको काठमाण्डौ चक्रपथ सुधार योजनाले जनाएको छ । त्यस्तै चक्रपथको बाहिर र भित्र गरी दुवैतर्फ ‘सर्भिस ट्र्याक’ निर्माण भइरहेको छ । विभिन्न स्थानमा सडक छेउमा रहेका घरटहरा समयमै हटाउन नसक्दा ‘सर्भिस ट्र्याक’ निर्माणमा ढिलाइ भएको हो । 

नागढुङ्गा–नौबिसे सुरुङमार्ग आउँदो साता शिलान्यास 

नागढुङ्गा–नौबिसे सुरुङमार्गको आउँदाे साता शिल्यान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गर्ने गरी तयारी भइरहेको सडक विभागले जनाएको छ । शिलान्यास हुने स्थानमा किसानको धान भएकाले त्यो हटाएर मात्रै शिलान्यास गरिने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । विभागले आगामी ४ गतेका लागि योजना बनाए पनि तय भइनसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘किसानलाई हामीले खाली गर्न भनेका छौँ, खाली भएपछि काम हुनेछ ।’

यो सुरुङमार्ग निर्माणका लागि गएको ६ गते जापानको हाजमा आङ्दो कर्पाेरेशनसँग ठेक्का सम्झौता भएको थियो । ४२ महीनामा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । मुआब्जा रकमसमेत गरेर सो सुरुङमार्गको जम्मा लागत रु २२ अर्ब हुने बताइएको छ । जम्मा रकममध्ये नेपाल सरकारले रु छ अर्ब जग्गाको मुआब्जा वितरणमा खर्च गर्ने भएको छ । अहिलेसम्म चार अर्ब रुपैयाँ मुआब्जाबापतको रकम बाँडिसकिएको छ । 

सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर सडकसमेत निर्माण हुनेछ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा फ्लाई ओभरसमेत निर्माण हुने सम्झौता भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘फ्लाई ओभरको निर्माण सम्पन्न भएपछि यो नै नेपालको पहिलो फ्लाई ओभर हुनेछ ।’ जापान सरकारको ०.०१ प्रतिशत सहुलियत ऋणमा सुरुङमार्ग निर्माण हुन लागेको हो । यही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने उहाँले जानकारी दिनुभयो । अहिले सुरुङमार्ग निर्माण गर्न लागेकै कम्पनीले माइतीघर–सूर्यविनायक सडक निर्माण गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया