विमानस्थलको सम्भाव्यता अध्ययन गर्न प्राविधिकको टोली महेन्द्रनगरमा

 असोज ३०, २०७६ बिहिबार ८:१:२० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको मझगाउँमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न प्राविधिक टोली महेन्द्रनगर पुगेको छ । झण्डै २ दशकदेखि बन्द रहेको विमानस्थल सञ्चालनको सम्भाव्यता अध्ययनका लागि रियलपात इन्जिनियरिङ्ग कन्सल्टेन्सीको पाँच सदस्यीय प्राविधिक टोली बुधबार महेन्द्रनगर पुगेको हो ।

इन्जिनियर गुरुदत्त अधिकारी, इन्जिनियर स्मरण भट्ट, इन्जिनियर सन्देश पौडेल, इन्जिनियर अभिशेक बर्मा र सव इन्जिनियर सविन पौडेलसहितको टोलीले विमानस्थालको भौतिक पूर्वाधार, सीमाक्षेत्र लगायतका विषयमा अध्ययन गर्नेछ ।

चार पाँच दिनभित्र विमानस्थलको प्राविधिक विषयको अध्ययन गरेर नागरिक उड्ययन मन्त्रालयमा प्रतिवेदन बुझाउने रियलपात इन्जिनियरिङ्ग कन्सलटेन्सीका इन्जिनियर गुरुदत्त अधिकारीले बताउनुभयो ।

उहाँले ७०/७२ सिटका जहाज सञ्चालनका लागि एक हजार ८ सय ८० मिटरको रनवे आवश्यक पर्ने बताउँदै आवश्यक जमिनको व्यवस्थापन हुन सके मझगाउँ विमानस्थलको सम्भाव्यता राम्रो रहेको बताउनुभयो । 

‘अहिले हामीसँग रहेका विमानलाई उडानका लागि १८ सय मिटर रनवे चाहिन्छ’, उहाँले भन्नुभयो ‘यस्तै सुरक्षाका लागि दुबैतर्फ ३ सयका दरले थप जमिन गर्दा लम्बाइ २४ सय मिटर आवश्यक पर्छ ।’

उहाँका अनुसार विमानस्थल सञ्चालन गर्न झण्डै एक सय ७० विघा जमिन आवश्यक पर्ने र मझगाउँ विमास्थलको ६५ विघा क्षेत्रफल रहेकाले अझै एक सय १० विघा जमिन अधिकरण गर्नुपर्ने देखिन्छ । 

यता, १५ सय मिटरमा पनि उठान गर्न सकिने बताउँदै सानो रन वे बनाउदा गर्मी मौसम र बढी भारमा उडान भर्न समस्या हुने उहाँको भनाइ छ ।

निकुञ्जको जमिन अधिकरण गर्नुपर्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन लिन नसके विमानस्थल सञ्चालनमा ल्याउन नसकिने इन्जिनियर अधिकारी बताउनुहुन्छ । ‘हामीसँग दक्षिणतर्फ निकुञ्ज र उत्तरतर्फबस्ती रहेकाले दुई वटा विकल्प छ’, उहाँले भन्नुभयो ‘बस्ती विस्थापित नगर्ने हो भने किुञ्जको ८० विघा जमिन चाहिन्छ, बस्तीको ३५ विघा जमिन अधिकरण गर्ने हो भने निकुञ्जको ४५ विघा जमिन भए पुग्छ ।’

उहाँले थोरै क्षेत्रफलमा विमानस्थल सञ्चालन गर्दा विमानको लागत बढी हुने र भाडादर महँगो हुने भएकाले त्यसबाट यात्रुलाई फाइदा नहुने बताउनुभयो । 

प्राविधिक टोलीलाई प्रतिनिधिसभा सदस्य डा.दीपक प्रकाश भट्ट, सुदूपश्चिम प्रदेशका उद्योग वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, प्रदेश सभा सदस्य मानबहादुर सुनार र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले स्वागत गर्दै प्राविधिक कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

यता, विमानस्थलका सञ्चालन लागि स्थानीयले संघर्ष समिति बनाएर दवाब दिदै आएका छन् भने भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्षमा २० लाख बजेट विमानस्थलका लागि विनियोजन गरेको गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया