अफताब आलमले ‘पोलिग्राफ टेस्ट’ दिन मानेनन्

 कात्तिक ५, २०७६ मंगलबार १९:४४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

राैतहट - राजपुर बमकाण्डको आरोपमा १२ वर्षपछि पक्राउ परेका रौतहट क्षेत्र नम्बर-२ का सासंद तथा पूर्वमन्त्री मोहमद अफताब आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट दिन मानेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाको अनुसन्धानका क्रममा अफताब आलमको पोलिग्राफ टेस्ट गर्नुपर्ने भएको छ । अनुसन्धान र सोधपुछका क्रममा आरोपित व्यक्तिले झूट बोले-नबोलेको पत्ता लगाउन पोलिग्राफ टेस्ट गर्ने गरिन्छ । पोलिग्राफ टेस्टका क्रममा बयान दिइरहेको व्यक्तिको शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ ।

‘अनुसन्धानका क्रममा आवश्यक्ता अनुसार हामीले आलमको पोलिग्राफ टेस्ट गर्नेछौँ ’, जिल्ला प्रहरी कार्यालयका डीएसपी नविन कार्कीले भन्नुभयाे, ‘आलमले
भने पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् ।’

घटनामा प्रयोग भएको ट्रयाक्टर पनि फेला पर्‍याे

२०६४ चैत्र २७ गते भएको बम विष्फोटमा मारिएका र घाइते भएकाहरुलाई इँटा भट्टासम्म ओसार्न प्रयोग गरिएको ट्रयाक्टर प्रहरीले फेला पारेको छ । त्यस बेला घटनामा शव तथा घाइते ओसार्न प्रयोग भएको ना १ त ६४७२ नम्बरको ट्रयाक्टर भेटिएकाे हाे । ज्यान गुमाएका तथा घाइते भएकाहरुलाई रातारात इँटाभट्टामा पुर्‍याउन प्रयोग गरिएको ट्रयाक्टर सोमबार प्रहरीले बरामद गरेको छ ।

ना १ त ६४७२ नम्बरको ट्रयाक्टर घटनाको प्रमाण मेटाउने योजना अन्तर्गत नै अफताबका भाइ महताब आलमले २०६७ असार २३ गते अर्कालाई बेचेका भेटिएकाे छ । २०५७ जेठ २४ गते महताबकै नाउँमा खरिद भएको त्याे ट्रयाक्टरमा बम विष्फोटमा परेकाहरुलाई हालेर इँटा भट्टामा लगिएको थियो ।

इँटा भट्टा र घटनासँग जोडिएका अन्य सबै प्रमाण नष्ट गरिसके पनि गाउँमा ट्रयाक्टरको चर्चा हुन थालेपछि त्यसलाई पनि बेचिदिएको प्रहरीले जनाएकाे छ ।

रौतहट, देवाहीगेनाही नगरपालिका-२, करुनिया बस्ने उमाशंकर साहको नाउँमा कायम गरिएको ट्रयाक्टरकाे नम्बर प्लेट मेटेर प्रयोग गरिँदै आएको थियो ।
सोमबार साहकै घरबाट त्याे ट्रयाक्टर बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया