खारेजीमा परेर पनि वैदेशिक रोजगारीका नाममा ठगी गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

 कात्तिक ५, २०७६ मंगलबार २०:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - खोरेजीमा परेर पनि वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ ।

वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था वमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेको सिलिङ्क ओभरसिज सर्भिस प्राइभेट लिमिटेडको चप्पल कारखानामा रहेको कार्यालयमा मंगलबार विभागले सिलबन्दी गरेको छ ।

वैदेशिक रोजगार विभागले मिति २०७६-०५-२९ मा सूचना प्रकाशित गरी दिएको निर्देशनविपरीेत सिलिङ्क ओभरसिजले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेको हो ।

विभागको निर्देशन नमानेपछि काठमाण्डौ महानगरपालिका वडा नम्बर ४, चप्पल कारखानामा रहेको सिलिङ्क ओभरसिज सर्भिस प्राइभेट लिमिटेडको इजाजतपत्र स्वतः रद्द भएको थियो ।  तर उक्त संस्थाले हालसम्म पनि सक्कल राहदानी र रकम फिर्ता नगरेकाले राहदानी र क्षतिपूर्ति रकम दिलाइ पाऊँ भनी निमिका शेर्पासमेत ७ जनाले दिएको उजुरीको सम्बन्धमा विभागले कात्तिक ४ गते आकस्मिक अनुगमन टोली खटाएको थियो ।

अनुगमन टोली विगतमा त्यस संस्थाको कार्यालय रहेको भवनमा पुग्दा झण्डै ७०-८० जना व्यक्तिहरु संस्थालाई बुझाएको राहदानी र पैसा  फिर्ता पाउने आशमा कुरिरहेका थिए ।

ती व्यक्ति मात्रै होइन, सिलिङ्क ओभरसिज सर्भिस प्राइभेट लिमिटेडले अहिले पनि कार्यालय नै बन्द नगरी वैदेशिक रोजगारमा पठाइदिने भनी  विभिन्न व्यक्तिहरुसँग रकम र राहदानी संकलन गरिरहेको अनुगमन टोलीको प्रारम्भिक अनुसन्धानमा फेला परेको छ ।

अनुगमन टोली आएको थाहा पाएपछि संस्थाका सञ्चालक अनिस सुन्दास सम्पर्कविहीन भएको र संस्थामा भएको विभिन्न व्यक्तिहरुको राहदानी र कागजपत्र सुरक्षित गर्नका लागि कार्यालयमा सिलबन्दी गरिएको विभागले जनाएको छ ।

यसभन्दा अघि पनि भदौ २४ गते बौद्ध प्रहरीले त्यस संस्थाले संकलन गरेका झण्डै १५० जना व्यक्तिहरुको राहदानीसहित कर्मचारीलाई बौद्ध क्षेत्रवाट नियन्त्रणमा लिई वैदेशिक रोजगार विभागमा बुझाएको थियो । त्यस घटनाको अहिले हविभागले विस्तृत अनुसन्धान गरिरहेको छ भने फरार सञ्चालकविरुद्ध विभागले कानुनी कारबाही अघि बढाएको जानकारी दिएको छ ।

पछिल्लो समय धरौटी थप गर्न नसकी खारेजीमा परेका कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भन्दै सोझासाझा व्यक्तिहरुलाई झुक्याई राहदानी र पैसा बुझेको गुनासो आइरहेको विभागले जनाएको छ ।

त्यस्तो कार्य गर्ने व्यक्ति वा संस्थाका बारेमा जानकारी प्राप्त गर्ने जुनसुकै व्यक्तिले वैदेशिक रोजगार विभागमा जानकारी गराउन विभागले सबैमा अनुरोध गरेको छ । त्यस्ता ठगी धन्दा चलाउनेविरुद्ध कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने विभागले जनाएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया