विप्लव समूहको काभ्रेपलाञ्चोक जिल्ला सक्रेटरी पक्राउ

 कात्तिक ७, २०७६ बिहिबार ९:२७:१५ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई बुधबार राति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । ‘विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ गर्‍याैँ’, उहाँले भन्नुभयो । ३२ वर्षीया थोकर भर्खरै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ ।

यसअघि प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च/अप्रेशन’का क्रममा काभ्रेपलाञ्चोकबाट विसं २०७५ चैत ९ गते बिहान विप्लव समूहका मध्य कमाण्डर सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित ९ जना नेता तथा कार्यकर्तालाई काभ्रेपलाञ्चोक र ललितपुरको सिमानामा पर्ने खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकैबाट गाडीमा काठमाण्डाैतर्फ गइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा ‘विप्लव’ समूहका मध्य कमाण्डर ओली, धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जिव कार्की, लोकेन्द्र खड्का थिए ।

यस्तै, चैत ६ गते पनि काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव समूहका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षका शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षकै विशाल तामाङलाई पनि पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया