पल्लाे किँरात राष्ट्रिय लिम्बूवान मोर्चाका नौ जना नेता इलामबाट पक्राउ

 कात्तिक ७, २०७६ बिहिबार १६:३६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – पल्लाे किँरात राष्ट्रिय लिम्बूवान मोर्चाका नौ जना नेता इलामबाट पक्राउ परेका छन् । विभिन्न ठाउँमा मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले मोर्चाका केन्द्रीय सचिवसहित नौ जनाको टोलीलाई बिहीबार पक्राउ गरेको हो । 

आफ्नो पार्टीको ६४ औँ स्थापना दिवस भन्दै उनीहरुले जिल्लाका विभिन्न ठाउँमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राखेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

पक्राउ पर्नेहरुमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर विश्वकर्मा (धमला) पार्टी कै महिला संघकी केन्द्रीय अध्यक्ष कविरमाया साँवा, इलाम जिल्ला अध्यक्ष विजय आङ्देम्बे, इलाम जिल्ला सचिव मनकुमार माखिम, जिल्ला कोषाध्यक्ष मैतराज लिम्बु रहेका छन् । यस्तै जिल्लाका सदस्यहरु कमल लकान्द्री, वृजराज चोङवाङ, अजाहाङ लिम्बु र हर्कप्रसाद नेम्वाङ्ग पनि पक्राउ परेका छन् । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेले शान्ति सुरक्षामा आँच आउने काम गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ । 

मोर्चाका कार्यकर्ताले जिल्लाका सरकारी कार्यालय लगायतका ठाउँमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राखेका थिए । लिम्बूवान राज्यको माग गर्दै मोर्चाले पूर्वमा विभिन्न गतिविधिहरु गर्दै आएका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया