इँटा भट्टामा जिउँदै मानिस जलाएको घटनाकाे सबै प्रमाण मसँग छ: प्रत्यक्षदर्शी मियाँ

 कात्तिक ९, २०७६ शनिबार १९:३९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको खुलासा भएको छ । न्यायका लागि १२ वर्षयता कानुनी लडाईं लड्दै आएका मृतक ओसी अख्तरका ससुरा समसुल मियाँले राज्यको सबै निकायलाई घटना लुकाउन र दोषीलाई उन्मुक्ति दिन दुरुपयोग गरेको खुलासा गर्नुभएकाे छ ।

रिपोर्टर्स क्लब नेपालमा शनिबार पत्रकार सम्मेलन गर्दै मियाँले जतिसुकै समय लागे पनि सत्यको जित हुने बताउँदै दोषीलाई कारबाही गराएरै छाड्ने बताउनुभयाे । उहाँले भन्नुभयाे,‘राज्य नै घटना लुकाउन र दोषीलाई बचाउन लागेको प्रमाण मसँग छ ।’

तत्कालीन सरकार, प्रहरी प्रशासन सबै मिलेर घटना दबाएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयाे,‘म यही रिपोर्टर्स क्लबको मञ्चमा उभिएर न्यायको भीख माग्न आएको थिएँ, तर सुनुवाई भएन ।’

१२ वर्ष अगाडि यही घटनाबारे सबैलाई जानकारी गराउँदा पनि कहीँ कतैबाट सुनुवाइ नहुँदा दोषीले टाउको उठाएर हिंडेको उहाँले गुनासाे गर्नुभयाे ।

उहाँले भन्नुभयाे,‘घटनामा महताब आलम, अफताब आलम, शेख भदै (सेराज), कृष्ण लामालगायतको प्रत्यक्ष संलग्नता छ ।’

घटनामा नेपाली कांग्रेसका तत्कालीन संविधानसभा सदस्यका उम्मेदवार अफताब आलमको प्रत्यक्ष निर्देशनमा बम बिष्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा हालिएको उहाँले बताउनुभयाे । घटनामा तत्कालीन सशस्त्र प्रहरीका एसपी कृष्ण लामा प्रत्यक्ष संलग्न भएको र रौतहट प्रहरीका प्रमुख एसपी लक्ष्मण न्यौपानेले पनि भूमिका खेलेको उहाँकाे आरोप थियाे ।

उहाँले भन्नुभयाे,‘प्रहरी प्रशासनको संलग्नतामा सबै मिलेर ट्याक्टरबाट घाइते बोकेर जलाइएको थियो ।’ 

घटनाको विस्तृत विवरणबारे जानकारी दिँदै मध्यराततिर राजा इँटा भट्टा पुर्याइएको उहाँले सुनाउनुभयाे । उहाँले भन्नुभयाे ‘बोराबाट सिधै इँटा पोल्ने भट्टाभित्र हालेर मारेको हो । त्यहाँ जीवित रहेका व्यक्तिलाई समेत जिउँदै मारिएको छ ।’

हत्या हुँदा सशस्त्रका तत्कालीन एसपी कृष्ण लामा पनि राजा इँटा भट्टामै रहेको उहाको दावी थियाे । घटनाबारे आफूसँग प्रशस्त प्रमाण रहेको जनाउँदै अनुसन्धानमा सघाउन ती सबै प्रमाणहरु प्रहरीलाई दिइसकेको बताउनुभयाे ।  

घटना भएको समयमा सर्लाहीमा भएको जनाउँदै घटनाबारे जानकारी पाउनसाथ घटनास्थलमा पुगे पनि प्रशासनले विष्फोट भएको ठाँउमा जान नदिएको भन्दै उहाँले भन्नुभयाे, ‘आफ्नो मान्छे  मारिएको भन्दा पनि हामीलाई घटनास्थलसम्म पुग्न दिइएन । रातभर गहुँबारीमा लुकेर हेरेर बसेँ ।’

घटनामा एक एक गरेर इँटा भट्टामा मानिसलाई जिउँदै हालेको देखेको उहाँले सुनाउनुभयाे । उहाँका अनुसनर केही घाइते भाग्न पनि सफल भएका थिए । 

घाइतेमध्ये एक जना अहिले पनि जिवितै रहेको बताउँदै उहाँले ती घाइतेबाट प्रमाण जुटाएको बताउनुभयाे । घटनापछि हत्याको सबै दृश्य देखेको सुनाउँदै बिहान चार बजे गण्डक नहर हुँदै ज्यान जोगाएर भागेको साथै आफ्नो ज्वाईँलाई जिउँदै भट्टामा हालेर मारेको प्रत्यक्ष देख्ने अर्को व्यक्ति पनि जीवितै रहेको उहाँले सुनाउनुभयाे ।

‘मेरो ज्वाईँ र श्रीनारायणको छोरो पिन्टु सिंंह भन्ने व्यक्ति बम विष्फोट भएको ठाँउ बाहिर रहेको र उनीहरु घाइतेमात्रै भए पनि त्यहीँ उपचार गराउने बहानामा बेहोस बनाउने सुई लगाएर मारिएको हो’, उहाँले भन्नुभयाे ‘बेहोस अवस्थामै बोरामा हालेर इँटा भट्टामा हालेर मारिएको हो ।’

ज्वाईँको अवस्थाबारे जानकारी लिन खोज्दा उल्टै आफूहरुलाई ज्यान मार्नेसम्मको धम्की आएको उहाँले बताउनुभयाे । आफ्नो ज्यानकाे खतरा बढ्दै जाँदा न्यायको आशा मारिसकेको बताउँदै उहाँले घटनाका घाइतेहरुलाई उपचार गराएको भए बाँच्ने सम्भावना रहेको दुखेसो पोख्नुभयाे । 

घटनामा घाइते भएकाहरुले पनि घटना भएको भन्दै साविति बयान दिइसकेको बताउँदै उहाँले भन्नुभयाे, ‘उपलब्ध प्रमाणको आधारमा उचित न्यायको माग गरेका छौँ । ’

विष्फोटबाट भत्केको घर निर्माण गरेर पुरानो देखाउन राता–रात गाँउकै मान्छेलाई प्रयोग गरेको समेत उहाँको भनाइ थियाे । ‘अहिले घर बनाउने मिस्त्रीले समेत विष्फोटबाट भत्केको घर आफूहरुले रातकाे समयमा मर्मत गरेको बयान दिइसकेका छन्,’ उहाँले सुनाउनुभयाे, ‘घर बनाउने मिस्त्रीले नयाँ घरलाई पुरानो देखाउन माकुराको जालो र गहुँको भुसको प्रयोग गरेको साथै इँटा भट्टाभित्र लास देखेको बयानमा बताइसकेका छन,’ मियाँले भन्नुभयाे ।

घटना  लुकाउन आफू र आफ्नो परिवारलाई पनि लोभ लालच, डर त्रास देखाएको उहाँले सुनाउनुभयाे । ‘मेरो निर्दोष ज्वाईंको हत्या गर्ने अपराधीहरुसँग सम्झौता गर्दिनँ भनेर १२ वर्षयता न्यायका लागि लडिरहेको छु ’, उहाँले बताउनुभयाे । 

पत्रकार सम्मेलनमार्फत घटनाबारे अन्तराष्ट्रिय चासो बढ्दै जाँदा इन्सेकमा कार्यरत मिस सोनिया, नेपाल बार एशोसियसनका दिपेन्द्र झालगायतमाथिआरोपी महताब आलमले हातपात गरेको समेत उनले बताए । 

प्रशासनले चिम्नीको मोटो परीक्षणको लागि लगेको जानकारी पाए पनि कुन चिम्नी, कहाँको चिम्नीबाट माटो लगेको हो आफूहरुलाई थाहा नभएको उहाँले बताउनुभयाे ।

आफूसँग बम विष्फोटका घाइतेबारे पनि प्रमाण भए पनि अहिलेसम्म प्रशासनले प्रमाणित नगरेको उहाँकाे गुनासाे थियाे । आफूहरुले न्याय नपाउनुको पछाडि राजनीतिक चलखेल रहेको जनाउँदै उहाँले राजनीतिक दबाबकै कारण प्रमाण नष्ट गर्ने प्रयास भएको आरोपसमेत लगाउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया