भारतमा तीन जना नेपाली मजदुरको हत्या गरेको आरोपमा एक नेपाली पक्राउ

 कात्तिक १३, २०७६ बुधबार २०:११:४७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – भारतको पिथौरागढमा बैतडीका तीन जना नेपाली मजदुरको हत्या गरेको आरोपमा भारतीय प्रहरीले एक जना नेपालीलाइ पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका वडा न ५ घर भई मजदुरीका लागि पिथौरागढमा काम गर्दै आइरहेका मृतकका भतिजा नाता पर्ने धनबहादुर बोहरालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पिथौरागढमा काम गर्दै आइरहेका नेपाली मजदुरहरुको हत्या गरेको आरोपमा भारतीय प्रहरीले उनलाई पक्राउ गरेको हो । शुक्रबार तीन जना नेपालीको लिङ्ग काटेर हत्या भएको भारतीय प्रहरीले जनाएको थियो ।

भारतको पिथौरागढमा मजदुरी गरिरहेका बैतडीको पुरचौडी नगरपालिका–५, दहतोलीका हरिश बोहरा, उहाँका सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका–४, भटनाका काशी बोहराको कात्तिक १० गते लिङ्ग काटिएको अवस्थामा पिथौरागढको दुर्गम गाँउको एक घरमा भारतीय प्रहरीले शव फेला परेको थियो । 

मजदुरहरुको हत्या आरोपमा पक्राउ परेका धनबहादुर बोहरा मृतक हरिश बोहराको भतिजा पर्ने पनि भारतीय प्रहरीले बताएको छ । धनबहादुर बोहरालाई भारतीय प्रहरीले कात्तिक ११ गते पिथौरागढबाट झण्डै १२० किलोमिटर टाढा रहेको मुस्यारीबाट पक्राउ गरेको हो । घटनाको अनुसन्धान गर्न बैतडीबाट पनि प्रहरीे सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बैतडीले एउटा टोली भारत पठाएको थियो ।

हत्या गरेको आरोपमा पक्राउ परेका धनबहादुरले आफूले नै हत्या गरेको बयान दिइसकेको प्रहरी सहायक निरीक्षक महराले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया