सयपत्री फूलकाे उत्पादन कसरी बढाउन सकिन्छ भनेर विद्यार्थीले गरे अनुसन्धान

 कात्तिक १४, २०७६ बिहिबार १८:३५:१४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – सयपत्री फूलको उत्पादन कसरी बढाउन सकिन्छ भन्ने विषयमा कृषि विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुले नै अनुसन्धान गरेका छन् । 

बैतडीको डिलासैनी गाउँपालिका ६ मा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा अध्ययनरत बीएससी एजी अन्तिम सेमेस्टरका विद्यार्थीहरुले सयपत्री फूलमा अनुसन्धान गरेका छन् । 

सयपत्री फूलको बोटको टुप्पाेलाई काटेपछि बोटमा धेरै हाँगा हुने र त्यो बोटमा बढी फूल फुल्ने गरेको पाइएको विद्यार्थी नरेन्द्र साहुले जानकारी दिनुभयो । एउटा बोटमा ५५ देखि ६४ ओटासम्म फूल फूलेको अनुसन्धानमा संलग्न विद्यार्थी श्रद्धा मल्लले बताउनुभयो । 

बीएससी एजी आठौँ सेमेस्टरका पाँच जना विद्यार्थीले प्रयोगात्मक कक्षाअन्तर्गत सयपत्री फूलमा अनुसन्धान गरेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले जनाएको छ । एक सय २० वर्गमिटर जमिनमा पाँच सय सयपत्री फूलका बोट रोपेर अनुसन्धान गरिएको हो । 

अनुसन्धानमा विद्यार्थीहरु नरेन्द्र साहु, कमल पहराई, वीरेन्द्र चौधरी, श्रद्धा मल्ल र भावना अर्याल सहभागी छन् । अनुसन्धानका लागि रोपिएको फूललाई बिक्रीका लागि धनगढीसम्म पुर्‍याइएको विद्यार्थीहरुले बताएका छन् । प्रतिकेजी एक सय रुपैयाँका दरले सयपत्री फूल बिक्री गरेको अनुसन्धानमा सहभागी भावना अर्यालले बताउनुभयो । 

पछिल्लो समय गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका विद्यार्थीहरुले सयपत्री फूलमा गरेको अनुसन्धानले फूल खेतीबाट पनि आत्मनिर्भर बन्न सकिने कुरा देखाएको कलेजका उपप्राध्यापक रमेश उप्रेतीले बताउनुभयो । 

चाडपर्वको बेला फूलको माग बढ्ने भएकाले विद्यार्थीहरुले गरेको प्रयोगात्मक अनुसन्धानले स्थानीय किसानहरुलाई पुष्प खेतीमा लाग्न प्रेरित गरेकोे गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका प्राचार्य परमानन्द जोशीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया