गुराँसे पोखरी क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिँदै

 कात्तिक १९, २०७६ मंगलबार १३:३५:१९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गुराँसे पोखरी क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न थालेकाे छ । 

गुराँसे पोखरी बाहेक इस्वा नेम्बा पोखरीलाई समेत मिनी पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सुरु गरिएकाे छ । 

गुराँसे पोखरी क्षेत्रलाई आन्तरिक बाह्य पर्यटनको केन्द्र बनाउन पोखरी संरक्षणदेखि यहाँको प्राकृतिक सम्पदालाई थप व्यवस्थित गर्ने सुरु गरिएको हाे । 

गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूले अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा गाउँपालिकाले २५ लाख रुपैयाँ खर्च गरेर पोखरी क्षेत्रको संरक्षणका लागि स्थायी घेरबार तथा पोखरी वरिपरि पक्की पदमार्ग निर्माण गरिसकेको छ । त्यसै रकमबाट साङ्डाँडाबाट पोखरी क्षेत्रसम्म कच्ची मोटरबाटो बनाउने तथा पोखरी वरिपरी सफाइसमेत गरेको छ । 

पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले सुरु गरेको अभियानलाई यस वर्ष पर्यटन मन्त्रालयले पनि सहयोग गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सूर्यमान ओख्राबुका अनुसार पर्यटन मन्त्रालयले गुराँसे पोखरी क्षेत्रको संरक्षण तथा पर्यटकीय केन्द्रको विकासका लागि चालू आर्थिक वर्षमा १० लाख रुपैंया विनियोजन गरेको छ ।

गाउँपालिकाले थप ५ लाख रुपैयाँसहित १५ लाख रुपैयाँ लगाएर पोखरी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि काम गर्ने योजना बनाएको निमित्त प्रमुख ओख्राबुले बताउनुभयाे । गाउँपालिका अध्यक्ष लिम्बूका अनुसार चालू आर्थिक वर्षका लागि विनियोजन भएको १५ लाख रुपैयाँले पोखरी क्षेत्रमा अन्य आवश्यकीय पूर्वाधारको विकास गरिने छ ।

प्राकृतिक सुन्दरताले झकिझकाउ गुराँसे पोखरी क्षेत्रलाई यो क्षेत्रकै महत्वपूर्ण‘पिकनिक स्थल’का रुपमा विकास गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ । झण्डै १ सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको पोखरीको वरिपरी २ सय ५० मिटर स्टिलकाे रेलिङ लगाएर पोखरीलाई स्थायी रुपले घेरबार गरिएको गुराँसे पोखरी संरक्षण उपभोक्ता समितिका सचिव चन्द्र नाल्बाेले जानकारी दिनुभयो । 

चिया बगान, भ्यूटावरसहितका संरचना निर्माण गर्नेसमेत नाल्बाेले जानकारी दिनुभयो । गुराँसे पोखरी क्षेत्र भएकोले गुराँसका सबै प्रजातिले भरिभराउ बनाउने तयारी पनि गरिएको छ ।

पिकनिक स्थलसहितको पर्यटकीय केन्द्र भएकोले पानीको अभाव नहुने गरी योजना अघि बढाएएको छ ।

यहाँबाट कञ्चनजंघा, पाथीभरा, कुम्भकर्ण, मानाभरा र फुङ्फुङे झरनाजस्ता क्षेत्रहरुको दृश्यावलोकन गर्न सकिन्छ भने पाँचथर र ताप्लेजुङका उच्च हिमाली बस्तीहरुलाई समेत नजिकबाटै नियाल्न सकिन्छ। 

यहाँबाट पाँचथरको फिदिम बजारको माथिल्लो भागका बस्ती पौवा भञ्ज्याङसहित गोपेटार र जोरपोखरीलाई नजिकबाटै नियाल्न सकिन्छ । ताप्लेजुङका मैवाखोला, आठराई त्रिवेणी, मिक्वाखोला र मैवाखोला गाउँपालिका तथा फुङ्लिङ बजारसहित नगरपालिकाका अधिकांश क्षेत्र अवलोकन गर्न सकिने उहाँले जानकारी दिनुभयाे । 

मोटरबाटो समेत पुगिसकेकोले गुराँसे पोखरी क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने गाउँपालिकाले विश्वास लिएको छ ।गुराँसे पोखरी क्षेत्र पुगेपछि इस्वा नेम्बा पोखरी नपुगी फर्कने मन कसैको हुँदैन । चारैतर्फ जंगली क्षेत्रले ढाकेको भएकोले इस्वा नेम्बा पोखरी क्षेत्र प्रकृति पूजकहरुका लागि एक महत्वपूर्ण केन्द्र नै बनेको छ ।गुराँसे पोखरीको छाप यहाँ पनि रहेको अनुमान गर्नेहरु प्रशस्तै छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया