यौन सम्पर्कबाट विश्वमै पहिलो पटक डेंगी भएको पुष्टि

 कात्तिक २३, २०७६ शनिबार ८:४०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्पेनका स्वास्थ्य अधिकारीहरुले एक जना पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट सरेको पाइएको हो ।

स्पेनको राजधानी मड्रिडका एक जना ४१ वर्षीय पुरुषमा यौन सम्पर्कको माध्यमबाट डेंगीको सक्रमण भएको द टेलिग्राफको अनलाइन संस्करणले जनाएको छ । क्युबा भ्रमणमा गएका बेला पुरुष साथीसँगको शारिरीक सम्पर्कपछि उनमा डेंगीको संक्रमण भएको मड्रिडमा रहेको पब्लिक हेल्थ डिपार्टमेन्टकी अधिकारी सुसाना जिमिनेजले जानकारी दिएकी छिन् ।

उनमा डेंगीको संक्रमण भएको सेम्टेम्बरमा पुष्टि भएको थियो । उच्च ज्वरो आउने, शरीर दुख्ने लगायतका लक्षण देखिने रोगको संक्रमण नभएको क्युबामा गएका उनलाई डेंगीको संक्रमण भएको देखेर डाक्टरहरु पनि समस्यामा परेको जिमिनेजले बताएकी छिन् । उनी भन्छिन्, ‘उनको साथीमा पनि त्यस्तै लक्षण देखिएको थियो । तर दश दिन पहिले केही कम भएको थियो । उनी पहिले क्यूबा अनि डोमिनिकन गणराज्यको भ्रमणमा गएका थिए ।’

उनको शुक्राणुको विश्लेषपछि उनमा डेंगी भएको पत्ता लागेको थियो । त्यति मात्रै होइन, त्यसमा क्यूबामा फैलने भाइरस पनि फेला परेको थियो । जिमिनेजका अनुसार एक पुरुष र एक महिलाबीच यौन सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण हुने कुरा दक्षिण कोरियामा हालसालै प्रकाशित वैज्ञानिक लेखको विषय थियो ।

के हो डेंगी ?

डेंगी ज्वरो विशेषगरी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोगबाट बर्सेनि विश्वमा झण्डै १० हजार व्यक्तिको ज्यान गरेको छ भने एक करोड व्यक्तिमा यसको संक्रमण हुने गरेको छ ।

एडिज इजिप्टाई जातको लामखुट्टेले डेंगी भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । यो रोग मुख्यतः स्त्रीजातिका एडिज लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्ने गर्छ । 

यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र साँझपख मानिसहरुलाइ टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातिका लामखुट्टेमा पाइँदैन ।

यसमा चार प्रकारका  डेंगी भाइरस हुन्छन । त्यो भाइरस शरीरमा प्रवेश गरेपछि डेंगी ज्वरो लाग्ने हो । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोको रुपमा हुन्छ  । 

डेंगीका लक्षणहरु 

सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने,ज्वरो आउने,  रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ  ।

त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु  देखा पर्छन । 

शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ ।  साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।

तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ ।  शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ ।

अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने बताइएको तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने बताइएको छ ।

यो रोगको तीनवटा चरणहरु देखिन्छ । क्लासिक डेंगी ज्वरो, डेंगी हेमोरेजिक ज्वरो र डेंगीशक सिन्ड्रोम । क्लासिक डेंगी सामान्य प्रकारको डेंगी हो, यो आफै निको हुन्छ तर डेंगी हेमोरेजिक ज्वरो वा डेंगीशक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ ।

डेंगीले निम्त्याउने जोखिम

फोक्सोमा पानी जम्ने
पेटमा पानी जम्ने
रक्तश्राव हुने 
मृगौला ड्यामेज हुने 
एक पटक डेंगी भैसकेको मानिसमा धेरै जोखिम हुन्छ  ।

डेंगीबाट बच्ने उपाय

लामखुट्टेको टोकाइबाट बच्नुपर्छ  । 
घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।  
घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन
लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ ।
झ्याल ढोकामा जाली राख्नु पर्छ । 
शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ । 
सरसफाइमा ध्यान दिनुपर्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया