४८ पदका लागि २८१ को उम्मेदवारी : सिके राउतको पार्टी पनि चुनावी मैदानमा (कहाँ कसको उम्मेदवारी ?)

 कात्तिक २८, २०७६ बिहिबार ८:५६:३७ | रासस

काठमाण्डौ – आउँदो मङ्सिर १४ गते पालिकाका ४८ पदका लागि हुने उपचुनावमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ पालिकाका विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ ।

उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपचुनाव हुँदैछ । उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या २६ छ ।

धरानमा नेकपाका प्रकाश राई र कांग्रेसका तिलक राई

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का वडाध्यक्ष पदका लागि दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित पुगेका नेकपा तथा नेपाली काङ्ग्रेससहितका विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र काङ्ग्रेसका तर्फबाट तिलक राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी प्रमुख पदकै लागि चार स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्र रुपबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन कार्यालयले नेपाली काङ्ग्रेसलाई ११ देखि १२ बजेसम्मको र नेकपालाई १२ बजेपछिको समय दिएको थियो । यही समय सीमामा रहेर नेकपा र नेपाली काङ्ग्रेसका उम्मेदवारले उमेदवारी दर्ता गराएको स्थानीयवासीले बताएका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारको विषयमा समय दिएको थिएन । 

त्यसैगरी ७ नं वडाध्यक्षमा नेपाली काङ्ग्रेसका तर्फबाट सुवर्णमोहन पालिखे र नेकपाका तर्फबाट जीवन सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । गएको चुनावमा धरान उपमहानरपालिकामा प्रमुख पदमा नेकपाका तर्फबाट तारा सुब्बा विजयी हुनुभएको थियो । उहाँको बिरामीका कारण काठमाण्डौमा उपचारका क्रममा निधन भएपछि प्रमुख पद खाली भएको थियो । वडा नं ७ मा नेकपाका तर्फबाट भुवनसिंह मोक्तान विजयी हुनुभएको थियो । उहाँको पनि बिरामी भएका कारण निधन भएपछि पद खाली भएको थियो । 

मकालु गाउँपालिकाको अध्यक्षका लागि को को उम्मेदवार ?

सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदको उपचुनावमा सात वटा पार्टीले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । 

नेकपाबाट तेजबहादुर पोखरेल, नेपाली काङ्ग्रेसबाट विमल पराजुली, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेघनाथ राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट मनबहादुर विक, समाजवादी पार्टीबाट नुर्बु शेर्पा र सङ्घीय लोकतान्त्रिक मञ्चबाट कविता राईले उम्मेदवारी दिनुभएको निर्वाचन आयुक्त तिलकबहादुर कार्कीले जानकारी दिनुभयो । खाँदबारी नपा–३ को वडाध्यक्षको लागि नेकपाबाट भरत घिमिरे र नेपाली काङ्ग्रेसबाट विक्रम गुरुङको उम्मेदवारी परेको निर्वाचन कार्यालय सङ्खुवासभाले जनाएको छ ।

फाल्गुनन्दको अध्यक्षमा आठको उम्मेद्वारी

पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष पदमा आठ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दका अनुसार गाँउपालिकाको प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टीबाट (नेकपा) वीरबहादुर कुरुम्बाङ, नेपाली काङ्ग्रेसका वृजहाङ आङ्देम्बे, समाजवादी पार्टीकी विमला आङ्देम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका ससुहाङ चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका मोतिप्रसाद लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतेन चोम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले उम्मेद्वारी दर्ता गराउनुभएको हो । 

हिलिहाङ गाँउपालिका–७ को वडाध्यक्ष पदमा छ जनाको उम्मेद्वारी दर्ता भएको छ । वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गेहनाथ रिजाल, नेपाली काङ्ग्रेसका तिलविक्रम इधिङ्गो, राष्ट्रिय प्रजातन्त्र पार्टीका तुलप्रसाद पन्थाक, समाजवादी पार्टीका भुवानीप्रसाद लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका मुक्तिनाथ खनाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनबहादुर थाम्सुहाङले उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

फिदिम नगरपालिका–१ को वडाध्यक्ष पदमा सात जनाले उम्मेद्वारी दर्ता गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गजाधर भट्टराई, नेपाली काङ्ग्रेसका सुवराज थापा, समाजवादी पार्टीका गौरव लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीका मिलन गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी कल्पना राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वीरबहादुर केरुङ र राप्रपा लोकतान्त्रिककी जानुका थाम्सुहाङले उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिनुभयो । 

जिल्लामा तीन वटा स्थानीय तह (एक गाउँपालिका अध्यक्ष र दुई वडा अध्यक्ष) का लागि  उपचुनाव हुँदैछ । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ, फिदिम नगरपालिका–१ का वडाध्यक्ष हर्क मोत्तान र हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थ तिम्सिनाको निधन भएका कारण ती स्थानमा चुनाव हुन लागेको हो । 

राउतको पार्टीबाट उम्मेदवारी

निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा. सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपचुनावमा एक महिलाले उम्मेदवारी दिनुभएको छ ।

गाउँपालिकाको अध्यक्ष पदमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिनुभएको पार्टीका महोत्तरी जिल्ला इञ्चार्ज सञ्जय यादवले बताउनुभएको छ ।

तीन पालिकाका चार पदका लागि महोत्तरीमा ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा एवं मटिहानी नगरपालिकाका तीन वटा वडाध्यक्षसहित जम्मा चार पदका लागि ४६ जनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । पिपरा गाउँपालिकाको अध्यक्ष पदमा २० जनाको मनोनयनपत्र (उम्मेदवारी) दर्ता भएको छ । 

त्यसैगरी बलवा नगरपालिकाका वडा नं २ र ८ एवं मटिहानी–८ का वडाध्यक्ष पदमासमेत २६ जनाले उम्मेदवारी दर्ता गराएका जिल्लाका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो ।

पिपरा गाउँपालिकामा ११ राजनीतिक दलका र नौ जना स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी बलवा–२ को वडाध्यक्षमा आठ जना, बलवा–८ को वडाध्यक्षमा १२ जना र मटिहानी–८ को वडाध्यक्षमा छ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

पिपराका निर्वाचित अध्यक्ष विनोदकुमार चौधरी, बलवा–२ र ८ का वडाध्यक्ष क्रमशः राजकुमार साह र लोकेन्द्र महतोको मृत्यु भएर एवं मटिहानी–८ का वडाअध्यक्ष सञ्जयकुमार मण्डलले राजिनामा दिएर रिक्त भएको पदका लागि उपचुनाव हुन लागेको हो । 

 बैतडीमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मनोनयन दर्ता गराउँदै जाँदै । तस्विर : रासस

खार्पुनाथको उपाध्यक्षमा को–को उम्मेदवार ?

हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि नेकपाबाट रुपा शाही, नेपाली कांग्रेसबाट तारा शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाहीको उम्मेदवारी परेको छ । 

नेकपाबाट उम्मेदवारी दर्ता गरेकी रुपा यसअघि पराजित हुनुभएको थियो । यसअघि कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सिन्धु शाही हमालको जीप दुर्घटनामा ज्यान गएपछि खार्पुनाथको उपाध्यक्षमा उपचुनाव हुन लागेको हो ।

विप्लव नेतृत्वको नेकपाले जितेको थबाङ–१ मा यस पटक कसले जित्ला ?

रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा हुने वडाध्यक्षको उपचुनावका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कलमबहादुर रोका र स्वतन्त्रबाट भद्रबहादुर झाँक्रीले बुधबार मनोनयन दर्ता गरेको थबाङ गाउँपालिका अध्यक्ष बिरबहादुर घर्तीले बताउनुभयो ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका झाँक्री यसअघि निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो । वडाध्यक्षमा उम्मेदवारी दिन मंगलबार मात्रै उहाँले वडा सदस्य पदबाट राजीनामा दिनुभएको थियो । 

सत्तारुढ नेकपाले यसअघिको चुनावमा पराजित ग्रीस पुनलाई उम्मेदवार बनाउने पहिले नै घोषणा गरेको भए पनि स्वतन्त्रबाट निर्वाचित सदस्य झाँक्रीले राजीनामा दिएर अध्यक्षमा उम्मेदवारी दिएपछि फेरि पराजित हुने आशंकामा उसले बुधबार एकाएक जनकबहादुर बुढालाई उम्मेदवार बनाएको हो ।

विप्लव नेतृत्वको नेकपाका नेता फर्कबहादुर बुढासहितको प्यानल त्यस वडामा स्वतन्त्रबाट निर्वाचित भएको थियो । वडाध्यक्ष बुढाको गएको असारमा मस्तिष्कघातका कारण निधन भएपछि थबाङ १ मा वडाध्यक्ष पद रिक्त रहेको थियो ।

गएको चुनावमा विप्लव नेतृत्वको नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दिवंगत बुढाले तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार ग्रीस पुनलाई १ सय ३ मतले हराउनु भएको थियो । अहिले वडा नम्बर १ मा १ हजार २ सय ७४ जना मतदाता रहेका छन् भने जनचच्छु प्राविमा दुई वटा मतदान केन्द्र तोकिएको छ ।

कपिलवस्तुमा १२ जनाको उम्मेदवारी

शिवराज नगरपालिका–१० लालपुरमा १२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नं १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अदालत मनिहार, नेपाली काङ्ग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट महोम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।  

यस्तै स्वतन्त्र उम्मेदवारमा शिवलाल यादव, शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहारको मनोनयन दर्ताको भएको छ । 

मालारानी ३ को वडाध्यक्षमा तीनको उम्मेदवारी 

अर्घाखाँचीको मालारानी गाउँपालिका–३ खनदहमा वडाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहले जनाएको छ । 

तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष जीवनकुमार चौहानको २०७४ को पुसमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परी निधन भएपछि वडाध्यक्षको पदमा उपचुनाव हुन लागेको हो । नेकपाका उम्मेदवार मालारानी गाउँपालिकाका सदस्य हुनुहुन्छ भने काङ्ग्रेसका उम्मेदवार खनाल स्थानीय तहको निर्वाचनमा त्यही वडाबाट अध्यक्ष पदमा ३६ भोटले पराजित हुनुभएको थियो । 

कोहलपुर ६ मा पाँच दलद्वारा उम्मेदवारी दर्ता

बाँकेको कोहलपुर नगरपालिका–६ मा हुने उपचुनावका लागि पाँचवटा राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका छन् । स्थानीय तह मुख्य निर्वाचन अधिकृतको कार्यालय कोहलपुरका अनुसार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले उम्मेदवारी दर्ता गरेका छन् ।

वडाध्यक्ष रामसोहन थारूको २०७५ मङ्सिर ९ गते निधन भएपछि रिक्त पदका लागि कोहलपुर–६ मा उपचुनाव हुन लागेको हो । उपचुनावका लागि नेकपाबाट रामशरण थारू र काङ्ग्रेसबाट श्रीकृष्ण थारू, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेमकिपाबाट दीपालक्ष्मी हमालले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

चितवनका तीन वडामा मनोनयन दर्ता 

चितवनका तीन वडामा अध्यक्ष पदका लागि मनोनयन दर्ता गरिएको छ । भरतपुर महानगरपालिका–१६ मा पाँच र खैरहनी नगरपालिका–४ र ५ मा चार/चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाल, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अम्बरबहादुर थापा र नेपाली काङ्ग्रेसका अमृतराज हमालले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ । 

त्यसैगरी खैरहनी–४ मा नेपाली काङ्ग्रेसका देवप्रसाद बस्नेत, राप्रपाका अनुज अधिकारी, नेकपाका बेदबहादुर अधिकारी र राप्रपा संयुक्तका सीताराम थापाले मनोनयन दर्ता गराउनु भएको हो । खैरहनी–५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका बिकन महतो थारू, नेपाली काङ्ग्रेसका प्रतिमा कार्की र नेकपाका पुननारायण प्रधानले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ । 

जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार जिल्लामा छ वटा मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयम्सेवक नियुक्त गरिनेछ । ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– २ को वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्दै दर्णबहादुर खत्री । तस्विर : रासस

इन्द्रावतीमा पाँच दलको उम्मेदवारी 

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा पाँच पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षको उम्मेदवारमा नेकपाले केदारनाथ आचार्य, नेपाली काङ्ग्रेसले अशोक तामाङ, राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ, राप्रपा नेपाल रणबहादुर तामाङ र समाजवादी पार्टी नेपालबाट प्रकाश श्रेष्ठको उम्मेदवारी परेको छ । 

यसअघि निर्वाचित भएका वडा अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि अहिले उपनर्वाचन हुन लागेको हो । यसअघि यो वडामा नेपाली काङ्ग्रेस विजयी भएको थियो । निर्वाचित श्रेष्ठसँग नेकपाले उम्मेदवारी खडा गरेको आचार्य पाँच मतले पराजित भएका थिए । यस वडामा एक हजार ४०४ मतदाता रहेका छन् ।

धनपालथान २ को वडाध्यक्षमा सातको मनोनयन 

मोरङको धनपालथान गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदका लागि जनमत पार्टीसहित सात दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पङ्कजकुमार मण्डल, नेपाली काँग्रेसका नारायणप्रसाद साह, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)का ज्योति पासवान, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका चन्द्रनन्द मण्डल, जनमत पार्टीका चनरादेवी मण्डल र मङ्गला नेशनल अर्गनाइजेशनबाट मेघनाथ पासवानले उम्मेदवारी दर्ता गरेका जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो ।
    
तत्कालीन वडाध्यक्ष बलिराम भगतको २०७५ जेठ २४ गते मृत्यु भएका कारण त्यस स्थानमा उपचुनाव हुन लागेको हो ।

बडिगाड २ मा तीनको उम्मेदवारी

बागलुङको बडिगाड गाउँपालिका–२ मा तीन जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । खाली रहेको वडाध्यक्षको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट ढालप्रसाद शेरचन, नेपाली काङ्ग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल रानाको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपचुनावमा बडीगाड गाउँपालिका–२ मा एक हजार ७४२ मतदाताले मतदान गर्दैछन् । 

गएको चुनावमा निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि बडिगाड गाउँपालिका–२ खाली थियोे । केन्द्रीय सहमतिअनुसार यहाँ वडाध्यक्षका लागि नेकपालाई राष्ट्रिय जनमोर्चाले सघाउने छ । 

पुनर्वास ३ को वडाध्यक्षमा पाँचको मनोनयन दर्ता

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा पाँच जनाले उम्मेदवारी दिएका छन् ।

पुनर्वास नगरपालिका–३ का लागि हुने वडाध्यक्षको उप–निर्वाचनका लागि अध्यक्ष पदमा नेकपाबाट कृष्णबहादुर तामाङ, नेपाली काङ्ग्रेसबाट दीपबहादुर तामाङ, समाजवादी पार्टीबाट भीमबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पद्मबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट श्रीधनबहादुर तामाङको मनोनयन परेको जिल्ला निर्वाचन कार्यालय महेन्द्रनगरका प्रमुख उदयराज जोशीले जानकारी दिनुभयो ।

यसअघि उक्त वडाबाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको संयोजकमा निर्वाचित भएपछि वडा रिक्त थियो । सो वडामा एक हजार १९९ मतदाता रहेका छन । 

सुन्दरबजार नगरपालिका–२ को वडाध्यक्ष बन्न पाँच उम्मेदवार

लमजुङको सुन्दरबजार नगरपालिका–२ मा खाली रहेको वडाध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । नेकपाको तर्फबाट नवीन श्रेष्ठ, काङ्ग्रेसको तर्फबाट प्रकाश सेढाई, राप्रपाको तर्फबाट पवनराज बसौला, मङगल नेशनल अर्गनाइजेशनको तर्फबाट रामजी दर्जे र स्वतन्त्रको तर्फबाट कृष्णबहादुर केसीले मनोनयन दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले बताउनुभयो ।

यो वडामा तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि सो पद खाली भएको थियो । उपनिर्वाचमा दुई हजार २९७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।  

हरिपूर्वा नगरपालिकामा वडाध्यक्षमा सात जनाको उम्मेदवारी

सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा आगामी मङ्सिर १४ गते वडाध्यक्षका लागि हुने उपचुनावका लागि सातजनाले उम्मेदवारी दर्ता गराएका छन् । दुईजना स्वतन्त्रसहित सातजनाको  उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट दोष मोहम्मद अन्सारी, नेपाली काङ्गे्रसका तर्फबाट रामप्रीत पासवान, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट रामविश्वास राय, समाजवादी पार्टीबाट श्यामबाबु राय, सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेश राय यादव तथा मनोजकुमार राय र मनोजकुमार यादवले स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराउनुभएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट विजयी वडाध्यक्ष इसाक अन्सारीको गत वर्ष निधन भएपछि हरिपूर्वा नगरपालिका–१ मा उपचुनाव हुन लागेको हो । 

कोहलपुरमा पाँचको उम्मेदवारी

बाँकेको कोहलपुर नगरपालिका वडा नं ६ मा मङ्सिर १४ गते हुने उपचुनावका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेपाल मजदूर किसान पार्टीबाट दीपालक्ष्मी हमालको उम्मेदवारी परेको छ ।

नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष रामसोहन थारुको गत वर्ष मङ्सिर ९ गते हृदयाघातका कारण निधन भएपछि वडाध्यक्ष पद रिक्त रहेको हो । 

बौदीकालीमा तीनको उम्मेदवारी 

नवलपुरको बौदीकाली गाउँपालिका वडा नं ५ मा तीन जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षका लागि सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र समाजवादी पार्टीकोतर्फबाट उम्मेदवारी परेको हो ।

वडाध्यक्षका लागि सत्तारुढ नेकपाको तर्फबाट पूर्णबहादुर रानाको प्रस्ताव तथा बेलबहादुर रानाको समर्थनमा खिमबहादुर खरू मगरको उम्मेदवारी परेको हो । नेकपाले स्वर्गीय वडाध्यक्ष दलबहादुर खरू मगरका जेठा छोरा खिमबहादुरलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको हो ।

नेपाली काङ्ग्रेसकोतर्फबाट लुलसिंह लुङ्गेली मगरको प्रस्ताव तथा शेरबहादुर रानामगरको समर्थनमा तुलबहादुर राना (अनिल)को उम्मेदवारी परेको छ । समाजवादी पार्टीका तर्फबाट आइतवीर रानामगरको प्रस्ताव तथा लीलाम्बर लुङ्गेलीमगरको समर्थनमा प्रितमबहादुर रानाले उम्मेदवारी दिनुभएको छ । 

तत्कालीन नेकपा (एमाले)बाट निवार्चित वडाध्यक्ष दलबहादुरको निधन भएपछि रिक्त पदका लागि उपचुनाव हुन लागेको हो । 

सप्तरीमा जनमत पार्टीसहित नौको मनोनयन

सप्तरीको एकमात्र वडाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । 

छिन्नमस्ता गाउँपालिका वडा नं ७ को वडाध्यक्ष पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नौ जनाले उम्मेदवारी मनोनयन गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अच्छेलाल यादव, नेपाली काङ्ग्रेसबाट शिवनारायण मण्डल, राजपा नेपालबाट प्रमिलादेवी यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र जनमत पार्टीबाट दिनेशकुमार यादवले उम्मेदवारी मनोनयन गर्नुभएको छ । नौमध्ये नुर हसन मन्सुरी, रञ्जीतकुमार यादव र धीरेन्द्रकुमार यादवले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो ।

बैतडीमा आठको उम्मेदवारी

उपचुनावका लागि बैतडीमा आठ उम्मेदवारको मनोनयन दर्ता भएको छ । वडाध्यक्ष रिक्त रहेका बैतडीका तीन वडाका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी मङ्सिर १४ गते जिल्लाको दोगडाकेदार गाउँपालिकामा चार, सुर्नया गाउँपालिका एक र पुर्चौडी नगरपालिका चारमा उपचुनाव हुँदैछ ।

उपचुनावका लागि बैतडीमा नेपाली काँग्रेसका उम्मेदवार मनोनयन दर्ता गराउँदै जाँदै । तस्विर : रासस

सुर्नया गाउँपालिका–१ मा अध्यक्ष पदका लागि दुईजना उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट धनबहादुर चन्द र नेपाली काङ्ग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको हो ।

यस्तै पुर्चाैंडी नगरपालिका–४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली काङ्ग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीले जानकारी दिएको छ ।

यस्तै दोगडाकेदार गाउँपालिका–४ को वडाध्यक्ष पदका लागि तीनजना उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ । नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली काङ्ग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिनुभयो । 

घोराही–१६ मा सातको मनोनयन दर्ता

दाङको घोराही उपमहानगरपालिका–१६ को अध्यक्ष पदका लागिसातजनाले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृत प्रेम खड्काले दिनुभएको जानकारीअनुसार मनोनयन दर्ता गर्नेहरुमा दलबाट पाँच र स्वतन्त्रबाट दुई जना  रहेका छन् । नेपाल कम्युनिष्ट पाटी (नेकपा)बाट सुरेशबहादुर केसी, नेपाली काङ्ग्रेसबाट ताराबहादुर डिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाश केसी, समाजवादी पार्टीबाट विमला पुन, मङ्गोल नेशनल  अर्गनाइजेशनबाट पहलमान आलेमगर रहनुभएको छ । 

त्यस्तै स्वतन्त्रबाट जगलाल चौधरी र समीर वली रहनुभएको छ । स्वतन्त्रबाट मनोनयन दर्ता गराउनु भएका चौधरी नेकपाकै  हुनुहुन्छ । उहाँले पार्टीबाट टिकट नपाएपछि  स्वतन्त्रबाट मनोनयन दर्ता गराउनु भएको हो ।

यसअघि सो वडाका वडाध्यक्ष लक्षिण बुढामगरको निधन भएपछि उपचुनाव हुन लागेको हो ।

साकेला ३ को वडाध्यक्षका लागि चार जनाको मनोनयन दर्ता

खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्ष पदका हुने उपचुनावमा चार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेकपाका  शिवकला राई, नेपाली काङ्ग्रेसका शुक्रबहादुर तामाङ, समाजवादी पार्टीका रमेश राई र राप्रपाका इन्द्रबहादुर खड्काले मनोनयनपत्र दर्ता गराउनु भएको हो ।

तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित खिदिमाका वडाध्यक्ष मणिकुमार राईको गएको वैशाख ९ गते मृत्यु भएपछि उपचुनावमार्फत अर्को वडाध्यक्ष चयन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नेकपाले स्वर्गीय मणिकुमारको श्रीमती शिवकलालाई उम्मेदवार बनाएको हो ।

धुलिखेल २ को वडाध्यक्षका लागि चार दलको उम्मेदवारी दर्ता 

धुलिखेल नगरपालिका–२ मा आगामी मङ्सिर १४ गते हुने उपचुनावको वडाध्यक्ष पदका लागि चारवटा दलले उम्मेदवारी दर्ता गराएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ को वडाध्यक्ष पदका लागि नेकपा, नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले बताउनुभयो ।

नेकपाबाट देवप्रसाद कोइराला, नेपाली काङ्ग्रेस पार्टीबाट दर्णबहादुर खत्री, राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट वासुदेव थापाले आफ्नो उम्मेदवारी दिनुभएको हो । धुलिखेल नगरपालिका–२ रविओपीका वडाध्यक्ष राजन कोइरालाको गएको २०७४ भदौ ९ गते निधन भएपछि उपचुनाव हुन लागेको हो । 

भोजपुरमा वडाध्यक्षमा तीन दलको उम्मेदवारी

भोजपुरमा तीनवटा दलले उम्मेदवारी दर्ता गराएका छन् । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडाध्यक्ष पदका लागि आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङग्रेस र नेपाल मङ्गोल नेशनल अर्गनाइजेशनले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ । 

वडाध्यक्ष पदका लागि नेकपाका तर्फबाट जितेन्द्र राई, नेपाली काङ्ग्रेसका तर्फबाट समरबहादुर कार्की र मङ्गोल नेशनल अर्गनाइजेशनका तर्फबाट कला राईले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिनुभयो । 

वडाध्यक्ष रुद्धबहादुर पाण्डेको निमोनियाका कारण गएको साउन १८ गते मृत्यु भएपछि यो स्थान रिक्त रहेको थियो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया