विदेश जाने बढे, एउटै म्यानपावरले पठायो ५ सयभन्दा बढी कामदार

 मंसिर ४, २०७६ बुधबार १७:१०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कात्तिक महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या असोजकोभन्दा झण्डै तेब्बरले बढेको छ । असोज महिनामा १८ हजार ७ सय ७१ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

कात्तिक महिनामा यो संख्या ३२ हजार ५ सय ३ ले बढेर ५१ हजार २ सय ७४ पुगेको छ । विभिन्न ९१ देशमा जानको लागि ४७ हजार १ सय १६ पुरुष र ४ हजार १ सय ५८ महिलासहित ५१ हजार २ सय ७४ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

सबैभन्दा बढी १५ हजार ७ सय १४ जनाले यूएई जान श्रम स्वीकृति लिएका छन् । कतारको लागि ११ हजार २१, साउदी अरब जानको लागि १० हजार ७ सय ३३ जनाले स्वीकृति लिएका छन् ।

यस्तै मलेसियाको लागि ५ हजार ७ सय ७५, कुवेत जानको लागि २ हजार ५ सय ६१, बहराइनको लागि १ हजार ३० जनाले अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये तीन महिलासहित २ सय २६ जनाले कोरिया जान अन्तिम श्रम स्वीकृति लिएका छन् ।

१ सय ५० म्यानपावरले एकजना पनि पठाउन सकेनन्

जम्मा ६ सय ९३ म्यानपावरले १८ हजार ४ सय ९० कामदारलाई वैदेशिक रोजगारीमा पठाएका छन् । यो महिनामा एसओएस म्यानपावर सर्भाइसले सबैभन्दा बढी ५ सय ३८ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ ।

यस्तै अञ्जली ओभरसिज सर्भिसले ४ सय ६ र प्याराडाइज् इन्टरनेशनलले ४ सय १ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ । ६५ म्यानपावर कम्पनीले महिनाभरी १ जना कामदारलाई मात्र वैदेशिक रोजगारीमा पठाएका छन् । ५८ म्यानपावरले कात्तिक महिनाभरी २ जना कामदारलाई पठाएका छन् । 

सक्रिय रहेका ८ सय ४३ म्यानपावरमध्ये १ सय ५० म्यानपावरले एक जना पनि पठाउन सकेनन् ।

कात्तिक महिनामा विभिन्न देशबाट ४३ हजार ९ सय पुरुष र ४ हजार ३ सय ७७ महिलासहित ४८ हजार दुईसय ७७ जना कामदारको माग आएको विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया