ब्यूटी पार्लरको ‘ब्यूटीफुल’ कमाइ !

 मंसिर ६, २०७६ शुक्रबार १५:२९:१५ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – १८ वर्षअघि ब्यूटी पार्लरको तालिम लिँदै गर्दा सुनसरीकी बिजु श्रेष्ठलाई अहिलेकोजस्तो शान र कमाइ होला भन्ने लागेकै थिएन । जे त होला भनेर लिएको तालिमले अहिले सोचेभन्दा राम्रो प्रतिफल दिएको छ । शान, मान र कमाइ बढाएको छ ।

एसएलसीको परीक्षा दिएर बसेको खाली समय सदुपयोग गर्दै बिजुले इटहरीमा १८ वर्षअघि ब्यूटी पार्लरको काम सिक्नुभएको थियो । ६ महिनाको कोर्स गर्दैगर्दा उहाँलाई रुचि पनि बढ्दै गयो ।

अरुलाई राम्रो बनाउन र आफू राम्री देखिन आन्तरिकसँग सँगै बाहिरी सौन्दर्यको ज्ञान भयो । अनि ६ महिनाको तालिम सकेर उहाँले यही क्षेत्रलाई पेशा बनाउनुभयो ।तर व्यावसायिक रुपमा अगाडि बढ्न भने सजिलो थिएन । ‘तालिम लिन त्यति गाह्रो भएको थिएन, जति काम सुरु गर्दा भयो’, बिजु सम्झनुहुन्छ, ‘नसोचेको दुःख भयो सुरुका दिनमा, तर मेरो काम र मेहनतलाई सबैले रुचाइदिनुभयो, त्यसपछि कहिल्यै पछाडि फर्किएर हेर्नु परेको छैन ।’

उहाँले १५ रुपैयाँबाट सुरु गरेको थ्रेडिङ (आँखीभौँ मिलाउने काम)को पारिश्रमिक अहिले एक सय रुपैयाँसम्म पुगेको छ । यस्तै ‘फेसियल’ गरेको पारिश्रमिक २ हजारबाट ५ हजार रुपैयाँ पुगेको छ ।

बिजु आफूले काम गरेको ठाउँलाई ‘ब्यूटी क्लिनिक’ र आफूलाई नर्सजस्तो ठान्नुहुन्छ । ‘हामी छालालाई स्वस्थ र सुन्दर बनाउन काम गर्छौं, त्यसैले म आफूलाई ब्यूटी नर्स भन्न रुचाउँछु’, उहाँले भन्नुभयो ।

बिजुको इटहरीमा अहिले ब्यूटी क्लिनिक छ र त्यहाँ कयौँले रोजगारी पाएका छन् । आ–आफ्नो घर चलाएका छन् । अरुलाई समेत रोजगरी दिन पाएकोमा दंग पर्दै बिजु भन्नुहुन्छ, ‘सुखसँगै सन्तुष्ट पनि छु ।’

यसैगरी आफ्नो काममा सन्तुष्ट हुनुहुन्छ, इटहरीकै मनिता तामाङ पनि । उहाँ आमाको सिको गर्दै मेकअप आर्टिस्ट बन्नुभयो । एक, डेढ लाख रुपैयाँ खर्चिएर रहरै रहरमा उहाँले मेकअप गर्न सिक्नुभयो । आमा ब्यूटीसियन भएकै कारण उहाँलाई पनि यो क्षेत्रले लोभ्यायो । ‘रहरैरहरले यो क्षेत्रमा प्रवेश गरेँ, अहिले कमाइ महिनाको एक, डेढ लाख रुपैयाँसम्म हुन्छ । योभन्दा बढी के चाहियो ?’ सन्तुष्ट हुँदै उहाँ भन्नुहुन्छ ।

बिजु र मनिताजस्तै दङ्ग हुनुहुन्छ, मोरङ, विराटनगरका सुशील स्वेच्छा पनि  । विराटनगर घर भएका उहाँलाई पहिले श्रृंगारको चमकधमकबारे थाहै थिएन । कुनै गैरसरकारी संस्थामा काम गर्दागर्दै उहाँलाई सुन्दर बनाउन र बन्न मन लाग्यो । अनि धाउनुभयो सीप सिक्न । अहिले उहाँ मेकअप आर्टिस्टको रुपमा काम गर्नुहुन्छ ।

उहाँको बुझाइमा पहिले यो क्षेत्रलाई विकृतिको रुपमा लिइने गरिन्थ्यो । अहिले समयसँगै धेरैको बुझाइ फेरिएको छ । पहिले नक्कल पार्ने थलोको रुपमा चिनिने ब्यूटीपार्लर अहिले धेरैजसोलाई अपरिहार्य नै भएको  छ ।

सुशील भन्नुहुन्छ, ‘२ वर्षयता श्रृंगारको क्षेत्रमा व्यावसायिकता बढेको छ । त्यही भएर गैरसरकारी संस्थाको जागिर छोडेरै आएँ । बिजनेससँगै यो हातको कला देखाउने सीप हो । सिजनमा २ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाइ हुन्छ ।’

सुनसरीमा ब्यूटी पार्लर र मेकअप इन्स्टिच्युट चलाइरहेकी मार्टिना (कमला श्रेष्ठ) को कथा पनि उस्तै छ । झण्डै एक दशकदेखि श्रृंगार क्षेत्रमा सक्रिय मार्टिना (कमला श्रेष्ठ) लाई यो क्षेत्र आफ्नो पेशा बन्छ भन्ने लागेकै थिएन ।

फुर्सदको समयमा सिकेको तालिमले उहाँलाई दक्ष बनायो, सँगै स्वरोजगार पनि । ‘मैले काम गर्न थालेको ८ वर्ष भयो, यो अवधिमा मैले दामसँगै नाम कमाएँ’, उहाँ भन्नुहुन्छ ।

मार्टिनाले आफूले सिकेको सीप अरुलाई पनि सिकाउनु हुन्छ । उहाँले अहिले विराटनगरमा पनि शाखा खोल्नु भएको छ । ११ सय जनाभन्दा धेरैलाई त उहाँले श्रृंगारको सीपसँगै कला पनि सिकाउनुभयो ।

श्रृंगार भनेको एउटा कला हो । कूचीकारले आफ्नो कलाले जसरी सुन्दर तस्बिर बनाउँछ, मेकअप आर्टिस्टले पनि त्यसैगरी सुन्दर श्रृंगार गरिदिन्छन् । यही कुराले लोभ्यायो, काठमाडौकी युनिशा शाहीलाई । 

महिनाभरि १०-२० हजार रुपैयाँको जागिर गर्नुभन्दा आफैले सीप सिकेर गर्ने काम उहाँको रोजाइमा पर्यो । हातमा सीप भए संसारको जुन कुनामा भए पनि सजिलै स्वरोजगार बन्न सकिन्छ ।

शाहीले मेकअप गरिदिएरै आफ्नौ पढाइ र घर खर्च जुटाउनुहुन्छ । यो मात्रै होइन उहाँले श्रृंगारलाई नै भविष्य बनाउँदै हुनुहुन्छ । 

दक्षलाई अवसरै अवसर

शहरका हरेक घरघर र गल्लीगल्लीमा अहिले ब्यूटीपार्लर खुलेको छ । केही व्यावसायिक रुपमै सक्रिय छन् त केही बचेको समयको सदुपयोग गर्छन् । तर यति हुँदाहुँदै पनि दक्ष जनशक्ति नहुँदा कुनै ठूलो ‘प्रोजेक्ट’का लागि भारतबाट मेकअप आर्टिस्ट ल्याउनु पर्ने बाध्यता छ ।

 

श्रृंगार गर्नेलाई हेयर स्टाइल नआउने  । हेयरको काम गर्नेलाई मेकअप गर्न नआउने र आए पनि फिनिसिङ गर्न नसक्ने । यिनै कारणले अहिले नेपालमा भारतबाटै धेरै मेकअप आर्टिस्ट भित्रिने गरेका नेपालमै पहिलो पटक मेकअप स्टूडियोलाई भित्राएका हेमन्त निरौला बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘कपाल काट्ने,  कपाल रंग्याउने, हातमा मेहेन्दी लगाउने जस्ता अधिकांश श्रृंगारमा भारतीय नागरिक नै छन्, सीप सिकेर दक्ष बने यो क्षेत्रमा राम्रो कमाइको अवसर छ ।’ नेपाली आर्टिस्टसँग सीप भए पनि सर्टिफिकेट नहुनु अर्को समस्या रहेको निरौलाले बताउनुभयो ।

फेरिँदै मेकअपको शैली

कुनै बेला अनुहारमा क्रिम पाउडर लगाए, नलगाएको प्रष्टै थाहा हुन्थ्यो । जानी नजानी सेतो र फुस्रो देखिने गरी अनुहारमा क्रिम पाउडर पोत्ने चलन थियो । बुझाइ पनि गलत थियो– मेकअप गोरी देखिन गर्ने हो ।

अहिले गोरो छाला बनाउन होइन भइरहेको ब्यूटीलाई अझ निखार्न मेकअप हुन थालेको छ । स्पष्ट भन्नु पर्दा ‘नेचुरल ब्यूटी’लाई नै थप निखार्ने । विवाह, ब्रतबन्ध वा कुनै औपचारिक कार्यक्रम र सेमिनार । छाला र शरीरको बनोट सुहाउँदो आकर्षक बन्न प्रायः सबैको रोजाई अहिले नेचुरल मेकअप बनेको छ । 

मेकअप आर्टिस्ट मनिता तामाङ भन्नुहुन्छ, ‘अहिले  छाला अनुसारको मेकअप  गर्ने फेसन बढेको छ ।’ निश्चित समयको तालिम लिएर श्रृंगारको क्षेत्रमा काम गर्न सके महिनाको ४०-५० हजार रुपैयाँ नेपालमा नै घाम धुलो नखाइ कमाउन सकिन्छ । तर यसमा धैर्यता र निरन्तरता भने चाहिन्छ ।

अन्तिम अपडेट: असार ८, २०७७

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया