श्रम स्वीकृति लिन ई–टोकन लागू हुँदै, अब पालो कुर्न नपर्ने

 मंसिर ८, २०७६ आइतबार १६:२:३९ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले आउँदो १५ गतेदेखि  ई–टोकन र म्यासेजिङ सेवा सुरु गर्ने भएको छ ।

ई–टोकनले श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेश गर्नेबित्तिकै श्रम स्वीकृति कुन दिन पाउने भन्ने कुरा थाहा हुने भएकाले लाइन लाग्न नपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुसालले बताउनुभयो ।

आइनलाइनबाटै पुनः श्रम स्वीकृतिका लागि आफूलाई पायक पर्ने श्रम कार्यालय छान्न सकिने पनि उहाँले बताउनुभयो । अनलाइनबाटै फारम भरेर तोकिएको समयमा कार्यालयमा पर्खिरहनुपर्ने पुरानो परम्पराको अन्त्य हुने विभागको विश्वास छ । 

यस्तै, यही सेवालाई थप प्रभावकारी बनाउन विभागले म्यासेजिङ प्रणालीलाई पनि सँगै जोडेको छ । 

आवेदन बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृति या अस्वीकृत  भएमा वा थप कागजात पेश गर्नु परेमा यो प्रणालीबाट मोबाइलमा म्यासेज पठाएर जानकारी दिइनेछ । 

श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमा मेसेजबाटै प्राप्त गर्न र सेवाग्राहीले फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर पठाउने विभागले जनाएको छ । 
फारम भर्दा सहि नम्बर प्रयोग गर्न विभागले अनुरोध गरेको छ । 

विद्युतीय भुक्तानीको काम अन्तिम चरणमा

वैदेशिक रोजगार पीडितलाई सेवामा सहज पहुँच बनाउने उदेश्यका साथ विभागले विद्युतीय भुक्तानीको प्रणाली पनि ल्याउने भएको छ । 

‘लामो समयदेखिको प्राविधिक तयारी पछि सेवा प्रदायकसँग सम्झौताको चरणमा हामी पुगेका छौ’, महानिर्देशक भुसालले भन्नुभयो, ‘यो प्रणाली लागू भैसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा विचौलियाको सहयोग माग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

यस्तै कामदार छनौट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाइन प्रणाली समेत तयार भै लागू गर्ने अवस्थामा रहेको महानिर्देशक भुसालले जानकारी दिनुभयो । सम्बन्धित सरोकारवालालाई अभिमुखिकरण गराएपछि यो प्रणाली लागू गरिने पनि उहाँले बताउनुभयो ।

यसअघि विभागले विद्युतीय स्टीकर अर्थात ई–स्टीकरको सेवा दिन सुरु गरिसकेको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया