शुल्क फिर्ताको प्रतिबद्धता बुझाउँदै मेडिकल कलेज

 मंसिर १०, २०७६ मंगलबार १३:१६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मेडिकल कलेज सञ्चालकले मंगलबार बेलुकीसम्म विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने वा समायोजन गर्नेबारे प्रतिबद्धता जनाउने भएका छन् ।

सरकारले दिएको २४ घण्टे अल्टिमेटमअन्तर्गत मंगलबार बेलुकीसम्म विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नेबारे लिखित सहमति सरकारलाई बुझाउने तयारी भइरहेको नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक सुरेश कनोडियाले जानकारी दिनुभयो ।

‘आज बेलुकी कार्यालयसमयमै शुल्क फिर्ता वा समायोजनबारे सरकारलाई लिखित प्रतिबद्धता बुझाउँछौँ’, कनोडियाले भन्नुभयो, ‘तर सबै शुल्क फिर्ता गर्ने वा समायोजन गर्ने भन्नेबारे छलफल चलिरहेको छ ।’

कनोडिया निजी मेडिकल कलेजहरुको छाता संगठन एसोसिएशन अफ् प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ् नेपालको अध्यक्षसमेत हुनुहुन्छ । उहाँका अनुसार मेडिकल कलेज सञ्चालकबीच सबै शुल्क फिर्ता गर्ने वा समायोजन गर्ने भन्नेमा एकमत हुन बाँकी छ । 

धेरै मेडिकल कलेज सञ्चाकले शुल्क फिर्ता गर्न नसकिने तर समायोजन गर्न सकिने भन्दै आएका छन । यो विषयमा एकमत भएपछि शिक्षा मन्त्रालयमा पुगेर लिखित प्रतिबद्धता बुझाउने उनीहरुको तयारी छ ।

सरकारले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न वा समायोजन गर्न फेरि मंगलबार बेलुकीसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो । मंगलबार बेलुकीसम्म पनि शुल्क फिर्ता गर्ने वा समायोजन नगरे गृह मन्त्रालयले ठगी मुद्दामा कारबाही प्रक्रिया अगाडी बढाउनेछ ।

सहमतिको पर्खाइमा शिक्षाा मन्त्रालय 

तेस्रो पटक गरी २४ घण्टे अल्टिमेटम दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बेलुकीसम्ममा मेडिकल कलेज सञ्चालकको पर्खाइमा छ । यसअघि सोमबार १५ दिने अल्टिमेटम सकिनु अघिल्लो दिन फेरि २४ घण्टे अल्टिमेटम दिएर कडा रुपमा प्रस्तुत भएको शिक्षा मन्त्रालय मंगलबार बेलुकीसम्ममा मेडिकल कलेज शुल्क बुझाउन तयार हुने विश्वासमा छ ।

‘हामीले सबै प्रक्रिया खुला राखेर बसेका छौँ,’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भन्नुभयो, ‘चौतर्फी दबाब बढेका बेला कारबाही प्रक्रिया अगाडि बढाउने भनिसकेपछि उहाँहरुले शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाउनुहुन्छ भन्ने विश्वासमा छाँै ।’

यसबीचमा चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज भैरहवा र नेसनल मेडिकल कलेज विरगञ्जमा विद्यार्थीको आन्दोलन चर्किएको छ । नेसनल मेडिकल कलेजका विद्यार्थीमाथि कलेज सञ्चालक बसरुद्दीन अन्सारीले ‘गुण्डा’ लगाएर कुटपिट गरेपछि कलेज सञ्चालकको ज्यादती रोक्न कारबाही गर्नैपर्ने दबाब पनि बढेको छ ।

आइतबार चितवन र वीरगञ्जमा भएको अभिभावक र विद्यार्थीको प्रदर्शनमा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले समर्थन गरेको थियो । अनेरास्ववियूले विद्यार्थीमाथि कुटपिट गर्ने र शुल्क फिर्ता गर्न अटेरी गर्ने नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दीन अन्सारीलाई पक्राउ गर्न माग पनि गरेको थियो ।

शुल्क फिर्ता नगरे ठगी मुद्दा !

मेडिकल कलेज सञ्चालकले मंगलबार बेलुकीसम्ममा अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय गरेको छ । यसका लागि मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्ने पनि गृह मन्त्रालयको तयारी छ ।

गएको असोज र कात्तिकमा एक महिना र त्यसपछि १५ दिनको समयसीमा दिएको सरकारले मंगलबारसम्ममा पनि बढी लिएको शुल्क फिर्ता वा समायोजन नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगी मुद्धा चलाउने निर्णय गरेको हो । 

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मेडिकल कलेजले तोकिएको समयसीमा भित्र शुल्क फिर्ता नगरे कारबाही गर्न देशभरिका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । 

उहाँले उजुरी नआई कारबाही प्रक्रिया अघि नबढ्ने भएकोले ठगिएको प्रमाणसहित उजुरी आएमा कारबाही सुरु गरिने बताउनुभयो । चितवन मेडिकल कलेजका विद्यार्थीले ठगीको उजुरी जिल्ला प्रशासन कार्यालयमा दिएकाले चितवनबाटै कारबाही अगाडि बढाउने गृहको तयारी छ ।

विद्यार्थीबाट गैरकानुनी रूपमा उठाइएको शुल्क फिर्ता गर्न यसअघि शिक्षा मन्त्रालयले १५ दिनको समय दिए पनि मेडिकल कलेज सञ्चालकले अटेर गरेपछि सरकारी कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

सरकारले तोकेकोभन्दा धेरै शुलक लिएर ठगी गरेको भन्दै चिकित्साशास्त्रका विद्यार्थीहरुले विभिन्न मेडिकल कलेजमा आन्दोलन गरिररहेका छन् । आन्दोलन गरिरहेका विद्यार्थीमाथि कुटपिट गरेपछि मेडिकल कलेज सञ्चालकमाथि कारबाही गर्नुपर्ने दबाब बढेको छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया