किर्ते गरेर बैंकबाट रकम निकाल्ने गिरोह पक्राउ (नामसहित)

 मंसिर ११, २०७६ बुधबार १४:३३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बैंकमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न बैंकमा खाता खोलेर हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने ६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर,काठमाण्डौले जनाएको छ । जनता बैंकका खातावाल गोपालमान राजवाहकले आफ्नो खाताबाट मंसिर ८ गते १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइल मेसेज आएको भन्दै प्रहरीमा उजुरी दिनभएकाे थियाे ।

त्यसै सूचनाकाे आधारमा प्रहरीले राष्ट्र बैंक र सम्बन्धित बैंकसँग छलफल गरी प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको थियो ।

अनुसन्धानका क्रममा किर्ते गरी रकम निकाल्दै गरेको अवस्थामा चोरीमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाण्डौका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुको साथबाट विभिन्न बैंकका चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु, एनआईसी एसिया बैंकको भिसा कार्ड, झण्डै ३ सय जनाको नागरिकताको फोटोकपी तथा हस्ताक्षरका नक्कलहरु र १८ लाख ५० हजार रुपैयाँ बरामद भएको सुवेदीले बताउनु भयो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घर भएर काठमाण्डौ कालिमाटी बस्ने वर्ष १९ को सुभाष श्रेष्ठ, वर्ष १९ कै कुमार तामाङ, वर्ष १८ को मनिष घिमिरे, वर्ष २१ को अन्जन बराल, बागलुङकाे गलकोट नगरपालिका घर भइ काठमाण्डौ बुद्धनगर बस्ने वर्ष २५ को सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भएर काठमाण्डौ सुविधानगर बस्ने वर्ष ३० को गोविन्द घिमिरे रहेका छन् । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया