बैंकको रकम जोगाउन जोडिहाल्नुस् एसएमएस सेवा

 मंसिर १२, २०७६ बिहिबार ७:३७:५७ | रासस
unn.prixa.net

काठमाण्डौ – तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन ? छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईंलाई । 

काठमाण्डौमा यस्तै, एउटा ठूलो घटना सार्वजनिक भएको छ । जुन तपाईंले पत्याउनै सक्नुहुन्न । रकम सुरक्षित हुन्छ र चाहेको बेलामा निकाल्न पाइन्छ भनेर ढुक्कसँग बैंकमा पैसा राखिन्छ तर बैंकको कर्मचारीको लापर्वाहीले त्यो पैसा सजिलै अर्कैले निकालेर लान्छ । बैंकको सेवामा प्रश्न चिह्न लाग्ने गरी एउटा गिरोहले यसैगरी अर्कै व्यक्तिको खातामा रहेको झण्डै २० लाख रुपैयाँ नगद निकाल्न सफल भएको छ । कुनै प्रविधिको प्रयोगविनै चेकमार्फत यसरी सजिलै पैसा निकालेर लगिन्छ भने अब बैंकलाई कसरी विश्वास गर्ने ? गम्भीर प्रश्न खडा भएको छ । 

चिनियाँ ह्याकरले एटिएमको स्वीच ह्याक गरेर गत भदौमा करोडौैँ रकम निकालेका थिए । कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर असोजमा ६५ लाख रुपैयाँ निकालिएको थियो । उनीहरुको पाँच अर्ब रुपैयाँ निकाल्ने योजना प्रहरीको सक्रियताले विफल भएको थियो । यो घटनामा संलग्न चिनियाँसहित नेपाली अहिले पनि पुर्पक्षका लागि थुनामा छन् । 

प्रविधिको प्रयोग बढेसँगै बैंकिङ प्रणालीमाथि नै प्रश्न चिह्न लाग्ने गरी भएको घटना सेलाउन नपाउँदै प्रविधिको उपयोग नगरी खातावालको कीर्ते हस्ताक्षर गरेर उसैको नाममा नयाँ चेकबुक बनाई पैसा निकालिएको घटना सार्वजनिक भएको छ । खातावालाले एसएसएम सेवा प्रयोग गर्दा पैसामात्रै जोगिएन गिरोह नै पक्राउ परे ।

घटना आइतबारको भए पनि महानगरीय प्रहरी परिसर काठमाण्डौले बुधबार सार्वजनिक गर्दै फरक खालको गिरोह देखिएको जनाएको छ । उक्त घटनामा संलग्न छ जनालाई पक्राउ गरी उनीहरुबाटरु १८ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ भने केही पैसा उनीहरुबीच बाँडेको फेला परेको छ । 

यसरी भएको थियो घटना

आइतबार दिउँसो करिब २ बजे जनता बैंक ग्वार्काे शाखामा गोपालमान राजवाहकको नाममा चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाउन निवेदन आयो । बैंकका कर्मचारीले २ : ३० बजे सजिलै चेकबुक बनाएर पठाइदिए । त्यहीँ शाखाबाट पैसा निकाल्दा शङ्का हुने देखेर उक्त गिरोहले दिउँसो ३ : ३० बजे बानेश्वरस्थित बैंकको शाखाबाट चेकमार्फत नौ लाख ९९ हजार रुपैयाँ निकाले । दिउँसोको काउण्टर बन्द भएपछि साँझ दुईवटा चेकमार्फत उनीहरुले राजवाहककै खातबाट पाँच÷पाँच लाख रुपैयाँ नगद निकाले । 

यसरी क्रमैसँग पैसा निकालेको एसएमएस आउँदा राजवाहक दङ्ग हुनुहुन्थ्यो । ‘कसैलाई चेक दिएकै छैन, एटिएम कार्ड पनि दिएको छैन कसरी पैसा निस्कियो’, चकित पर्नुभयो । एसएसएससहित राजवाहक महानगरीय प्रहरी पसिरको सम्पर्कमा आउनुभयो । 

तत्कालै प्रहरी हाइअलर्ट भयो । उनीहरुको निगरानी शुरु भयो । सबै बैंकलाई सर्कुलर गरेर प्रहरीले त्यस्ता व्याक्ति आउने बित्तिकै खबर गर्न भनियो । राजवाहकको खातामा पाँच लाख रुपैयाँ बाँकी रहेको थाहा पाएका गिरोह भोलिपल्ट सोमबार त्यसैगरी तीन वटा चेक बनाएर बैंकबाट पैसा निकाल्ने क्रममा न्यूरोडबाट पक्राउ गर्न सफल भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल घर भएर कालीमाटी बस्दै आएका १९ वर्षका सुवास श्रेष्ठ, यही ठाउँ बस्ने १९ वर्षका कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोटका २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भएर काठमाण्डौ बस्ने ३० वर्षका गोविन्द घिमिरे रहेका छन् । उनीहरुलाई बैंकिङ कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले नगद १८ हजार ५०० रुपैयाँसहित विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २९० थान, सयौँ व्यक्तिको बैंकमा रहेको रकम उल्लेख भएको २६ वटा हाजिरीखाता खोल्न फोटो टाँसेको फारम ३०० वटा, विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट १९५ वटा, विभिन्न व्यक्तिको नाममा जनता बैंकको ५७ वटा चेकबुक बरामद गरिएको छ । 

यस्तै ज्योति बैंक, एभरेष्ट बैंक, माछापुच्छ«े बैंक, मुक्तिनाथ बैंक, एनआइसी एशिया बैंकका दर्जनौँ चेकबुक पनि फेला परेको छ । उनीहरुका साथबाट ८२५ जनाको फोटो, एनआइसी एशिया बैंकको ८२ वटा र अन्य बैंकको सात गरी ८९ वटा एक्टिभ भएको एटिएम कार्ड फेला परेको छ । रकम उल्लेख गरेर साट्न ठिक्क पारिएको अवस्थाको ३२९ वटा चेक पनि बरामद गरिएको प्रहरीले जनाएको छ । परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी उनीहरुले खातावालाको सबै विवरण पहिचान गरेर नक्कली हस्ताक्षर दुरुस्त पारी रकम निकाल्ने गरेको पाइएको बताउनुभयो । 

‘सामान्य दुई÷तीन लाख पैसा निकाल्दा नै बैंकले खातावालालाई फोन गर्छ, तर यहाँ झण्डै १० लाख निकाल्दा पनि खातावालाई जानकारी नहुनुले कर्मचारीको मिलेमतोको आशंकामा अनुसन्धान जारी छ’, बोगटीले भन्नुभयो । उहाँका अनुसार दिनभरि गतिविधि गर्ने र रातिमा उनीहरुले नक्कली हस्ताक्षर बनाउन सिक्ने गरेका थिए । 

हस्ताक्षर बनाउन प्रयोग भएका दर्जनौँ हाजिरीखातासमेत बरामद भएको छ । उहाँले केही कागजातको अनुसन्धान भइरहेको र अझै दुई बोरा कागज हेर्न बाँकी नै रहेको बताउनुभयो । अहिले एक व्यक्तिको मात्रै पैसा लगेको पाइएकाले उनीहरुले अन्य धेरै व्यक्तिको रकम लगेको हुनसक्ने आशङ्का प्रहरीको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया