खप्तड क्षेत्रमा हिमपात

 मंसिर १३, २०७६ शुक्रबार २०:१९:५० | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा हिमपात भएपछि एकाएक चिसो बढेको छ ।

हिमपात भएसँगै वन्यजन्तु तथा खप्तड आसपासका स्थानीयलाई आवतजावतमा समस्या भएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक वार्डेन प्रकाशबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, बिहिवार रातिदेखि बाक्लो हिमपात भएको छ, हिमपातले स्थानीय तथा वन्यजन्तुलाई आवत जावत र काम गर्नमा समस्या भएको छ ।

खप्तडसँगै जिल्लाका उच्च हिमाली भेगहरु देउताल, केदार, गुनडमा पनि हिमपात भएको स्थानियले जानकारी दिएका छन् । हिमाली भेगमा हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ ।

हिमपात बिहीबार साँझदेखि सुरु भएको थियाे । यहाँका उच्च लेकाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा अहिले पानी पर्न थालेको छ । बिहीबार साँझपखबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, डडेल्धुरा, बाजुरा, अछाम, बझाङ, दार्चुला र डोटीमा एकाएक मौसम बदली भएको थियो । यहाँका अन्य जिल्लामा हिमपात नभए पनि बाजुरा र डोटीका उच्च लेकाली भेगमा भने हिमपात भएको हो ।

आकाशको पानीले खेती गर्नुपर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका थिएनन् । पानी पर्न थालेपछि किसानहरु खेती लगाउन सजिलो हुँने भन्दै खुसी भएका छन् ।

अन्तिम अपडेट: चैत १०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया