संखुवासभामा उपचुनावको रौनक : ९८ वर्षीय वृद्धले समेत गरे मतदान

 मंसिर १४, २०७६ शनिबार २०:१८:३९ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभा जिल्लामा शान्तिपूर्ण र उत्साहपूर्वक ढंगमा उपचुनाव सम्पन्न भएको छ ।

मकालु गाउँपालिकाको अध्यक्षका लागि भएको उपचुनावमा ५ हजार ७ सय ७४ मत अर्थात ६४.५५ प्रतिशत मत खसेको छ । त्यहाँ ९ हजार १ सय मतदाता रहेका थिए ।

त्यसैगरी  खाँदबारी नगरपालिका वडा नं. ३ मा एक हजार २ सय ७१ मत अर्थात ६९.४८ प्रतिशत मत खसेको छ । त्यहाँ १ हजार ८ सय २२ मतदाता रहेका थिए ।
रिक्त रहेका स्थानीय तहको उपचुनावमा आमसर्वसाधारणहरुले निकै उत्साहका साथ मतदानसमते गरेका छन् ।

खाँदबारी–३ का ९८ वर्षीय दुर्गबहादुर श्रेष्ठले स्ट्रेचरमा बोकाएर आएरप नि आफ्नो मताधिकार प्रयोग गनुभयो । त्यस्तै खाँदबारी–३ कै अर्की ९६ वर्षीया विष्णुमाया श्रेष्ठले पनि स्टे्रचरमा बोकाइएर मताधिकार प्रयोग गर्नुभयो । उहाँले आफूले पाउने मत दिनका लागि नै घरका सदस्यहरुलाई बोकेर भए पनि लैजाउ भनेको बताउनुभयो । खाँदबारी–३ मा धेरै जना महिलाहरु काखे बच्चा बोकेर पनि मतदान गर्न आएका थिए ।

त्यसैगरी मकालु गाउँपालिका–२ को हेमान्द्री माविको (क)केन्द्रबाट पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले मतदान गर्नुभयो । मकालु गाउँपालिकामा पनि असक्त, वृद्धवृद्धा र बुढाबुढीहरु स्ट्रेचरमा नै आएर पनि मतदान गरेका छन् ।

बिहान ७ बजेबाट सुरु भएको उपचुनावमा बेलुकी ५ बजेसम्म मतदान गरिएको थियो । जिल्लाको मकालु गाउँपालिका र खाँदबारी–३ दुवै ठाउँमा शान्तिपूर्ण ढंगले उपचुनाव सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले बताउनुभयो । उहाँले खाँदबारी–३ सदरमुकामबाट नजिकै रहेकाले मतपत्र गायत सबै चिजहरु बोकर सदरमुकाम खाँदबारीमा ल्याइसकिएको र सर्वदलीय बैठकपछि ८ बजेदेखि मतगणना सुरु गरिने जानकारी दिनुभयो ।

त्यसैगरी मकालु गाउँपालिकाका विभिन्न केन्द्रहरु मांसिमा, निभारे, ठाडेखोलालगायतका क्षेत्र दुर्गम स्थल र टाढा–टाढा रहेको छ । त्यहाँसम्मका सबै ठाउँहरुमा यातायातको सुविधा नभएको हुँदा पैदल आउनु पर्ने भएकाले रातको १/२ बजेभित्र सबै केन्द्रहरुबाट मतपत्र आइसक्ने र बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु हुने निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको ६ वटा वडा रहेको र त्यहाँका १० स्थल र १३ केन्द्रका सबै ठाउँहरुमा शान्तिपूर्ण र उत्साहपूर्वक ढंगले उपचुनाव सम्पन्न भएको बताउनुभयो ।

जिल्लाको मकालु गाउँपालिका अध्यक्ष र खाँदबारी नगरपालिका–३ को वडा अध्यक्षको निधनपछि ती ठाउँहरुमा जनप्रतिनिधि पद रिक्त रहेको छ । मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ जना उम्मेदवार बनेका छन् ।

नेकपाबाट तेजबहादुर पोख्रेल, कांग्रेसबाट बिमान पराजुली, संघीय समाजवादीबाट नुर्बु शेर्पा, जनमुक्ति रमेश राई, राप्रपाका मेघनाथ राई र संघीय लोकतान्त्रिक फोरम मञ्च कविता राई उम्मेदवार छन् । त्यसैगरी खाँदबारी नगरपालिका वडा नम्बर ३ को अध्यक्ष पदमा नेकपाले भरतकुमार घिमिरे र नेपाली कांग्रेसले विक्रम गुरुङबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया