प्रचण्डको गृह जिल्लामा नेकपालाई झट्का, तीनवटै वडामा कांग्रेसको जित

 मंसिर १५, २०७६ आइतबार ९:१४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ र खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा भएको उपचुनावमा सवै वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यसअघि भएको चुनावमा भरतपुर १६ मा तत्कालीन नेकपा एमाले र खैरहनी ४ र ५ मा नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका थिए । अहिले दुई पार्टी मिलेर बनेको सत्तारुढ दलले तीनमध्ये कम्तीमा दुई वटा वडा जित्ने दाबी गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला एवम् निर्वाचन क्षेत्रमै पर्ने भरतपुर १६ को निर्वाचनमा नेकपा पराजित भएको छ । यसअघि नेकपा एमालेले एक्लै जितेको वडामा अहिले दुई पार्टी मिलेर वनेको नेकपाका उम्मेदवार नै पराजित हुनुले नेकपामा तरंग पैदा गरेको छ ।

भरतपुर १६मा यसअघि नेकपा एमाले एक्लै हुँदा ६४ मतान्तरतले जित हासिल गरेको थियो । अहिले पार्टी एक हुँदा पनि कांग्रेससँग ३०८ मतको अन्तरले पराजित भएको छ । कांग्रेसका उम्मेदवार अमृतराज हमालले ३ हजार १८३ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै उहाँका प्रतिद्वन्द्वी सत्तारुढ दल नेकपाका उम्मेदवार भक्तराज हमालले २ हजार ८७५ मत प्राप्त गर्नुभएको छ ।

हमाल यसअघिको स्थानीय तहको चुनावमा नेकपा एमालेका चतुरमान गुरुङसँग ६४ मतकोे अन्तरले पराजित हुनुभएको थियो । चतुरमान गुरुङको क्यान्सर रोगका कारण गएको असोजमा निधन भएको थियो ।

भरतपुर १६ मा आफ्ना उम्मेदवार भक्तराज हमाललाई जिताउन नेकपाका अध्यक्ष प्रचण्ड स्वयं चुनावी सभामा सम्बोधन गर्न चितवन आउनुभएको थियो । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो ।

नेकपाका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पनि नेकपा पराजित भएको छ । चितवनको खैरहनी नगरपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई पराजित गर्नुभएको छ । बस्नेतले १ हजार १ सय ३८ मत प्राप्त गर्नुभयाे भने अधिकारीले ९८६ मत प्राप्त गर्नुभयाे । २ हजार ६ सय ९२ मतदाता रहेको यस वडामा २ हजार १ सय ७२ मत खसेको थियो । यस वडामा यसअघिको चुनावमा नेपाली कांग्रेस नै विजयी भएको थियो । 

यसैगरी खैरहनी वडा नं.५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की (बस्नेत) विजयी हुनुभएको छ । कार्कीले ८ सय ४२ प्राप्त गर्नुभएको थियो भने नेकपाका पुननारायण प्रधानले ७ सय ५६ मत प्राप्त गर्नुभएको छ । 

२ हजार १ सय ११ मतदाता रहेको यस वडामा १ हजार ६ सय ७० मत खसेको थियो ।

यसअघिको चुनावमा पनि यहाँ कांग्रेस नै विजयी भएको थियो । विजयी उम्मेदवार बस्नेत निधन भएका वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुनुहुन्छ ।

२०७४ फागुन ६ गते साँझ रत्ननगर नगरपालिका–३ शान्तिचोकमो पिकअप भ्यानले ठक्कर दिँदा खैरहनी नगरपालिकाको जीपमा सवार वडा नम्बर ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नम्बर ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया