भक्तपुर १ (क) मा कांग्रेसका भँडेल विजयी

 मंसिर १५, २०७६ आइतबार १२:३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुर क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपचुनावमा नेपाली कांग्रेस विजयी भएको छ । उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेमकिपालाई पछाडि पार्दै कांग्रेसका उम्मेदवार कृष्णलाल भडेँलले १३ हजार ४४९ मत ल्याएर विजयी हुनुभएको हो । 

निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार डि.पि. ढकालले ११ हजार २०६ मत प्राप्त गर्नु भएको छ भने नेमकिपाका उम्मेदवार निरज लवजूले ५ हजार ८२९ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले  ३८५ मत प्राप्त गरेका छन् । 

२०७४ सालमा भएको चुनावमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी हुनु भएको थियो भने काँग्रेसका जीवन खत्रीले ९ हजार ९७७ मत र नेमकिपाका निरज लवजुले ७ हजार १९ मत प्राप्त गर्नु भएको थियो । लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपचुनाव भएको हो । 

चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नं. १०  गरी कूल १० वटा वडामा भएको उपचुनावमा ७१.१७ प्रतिशत मत खसेको थियो । 
२१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी जम्मा ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी जम्मा ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया