पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - बागलुङकाे भिमगिठेमा मंगलबार जीप पल्टिँदा १५ जनाले ज्यान गुमाए । १८ जना चढेको जीप मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडकखण्डबाट बडिगाड खोलामा खसेको हो । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ ।
अघिल्लो हप्ताको बुधबार अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा चालक र गाडी धनीसहित १९ जनाको ज्यान गयो । नरपानीको घुम्ती र भिरालो सडकमा तीव्र गतिका कारण बस मोडिन नसक्दा भिरबाट खसेको प्रहरीले जनाएको छ ।
त्यही दिन हुम्लाको सिमकोटमा टिप्पर पल्टिँदा चार जनाको ज्यान गयो । चालकले जाँडरक्सी खाएर गाडी चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।
पछिल्लो एक हप्तामा भएका यी मुख्य दुर्घटनामा ३८ जनाको ज्यान गयो । यी सबै दुर्घटनामा ओभरलोड, तीव्र गति, घुम्ती र भिरालो बाटो, चालकले जाँडरक्सी खाएर गाडी चलाउनु मुख्य कारण देखिएको छ ।
दुर्घटनापछि ट्राफिक प्रहरीले कारण खोतल्छन् अनि चालक र बाटोको अवस्थालाई नै मुख्य दोष देखाउने गरेका छन् । बाटोको अवस्था र चालकको कमजोरी दुर्घटनाको मुख्य कारण हुने गरेको गाडी चालक आफैंले पनि स्वीकार गर्छन् ।
कपिलवस्तु–काठमाण्डौ रात्रिबस चलाउने निर्मल सारु भन्नुहुन्छ, ‘भिरपहरा खोतलेर बाटो बनाइएको छ, घुम्ती र खाल्डाखुल्डीमा अन्धाधुन्ध गाडी हाँक्नुपर्छ, कतिबेला दुर्घटना हुन्छ पत्तो हुँदैन ।’
बाटो सजिलो भएका ठाउँमा पनि दुर्घटना हुने गरेका छन् । यसको जवाफमा चालक सारु भन्नुहुन्छ, ‘ट्राफिक संकेत धेरैजसो ठाउँमा नहुनु र ट्राफिक नियम मिच्न खोज्दा बेलाबखत एकअर्का चालकबीच हुने भनाभनले पनि दुर्घटना हुने गर्छ ।’
दुर्घटना र क्षति
आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्म काठमाण्डाै उपत्यकामा मात्रै ३६ हजार ६८ वटा गाडी दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । यी दुर्घटनामा १ हजार ७२ जनाले ज्यान गुमाएका छन् । गएको साउनदेखि कात्तिक मसान्तसम्म ४ हजार १ सय ७१ वटा दुर्घटना भएका छन् । चार महिनामा भएका गाडी दुर्घटनामा ५९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।
नेपालमा हरेक दिन औसतमा ७ जनाले गाडी दुर्घटनामा ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सडक दुर्घटना नागरिकको ज्यान जाने चौथो कारण मानिन्छ । नेपालको भौगोलिक अवस्था, कमजोर सडक, चालकको लापर्वाहीका कारण दुर्घटना धेरै हुने गरेका छन् ।
घुम्ती तथा साँघुरा बाटो, थोत्रा गाडी र ट्राफिक नियमको पालना नहुँदा दुर्घटना बढेका छन् । दिनहुँ भैरहने दुर्घटनामा ८६ प्रतिशत चालकको लापर्वाहीले हुने गरेको ट्राफिक प्रहरीको अध्ययनबाट देखिन्छ ।
छिटो गन्तव्यमा पुग्न चालकलाई यात्रु तथा गाडी धनीले दिने दबाबका कारण पनि दुर्घटना निम्तिने गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीले सन्तुलन गुमाएका कारण दुर्घटना हुन्छ ।
लामो दुरीमा चल्ने बसमा दुई जना चालक हुनुपर्ने नियम छ । तर लामो दूरीमा चल्ने धेरै गाडीमा यो नियम कार्यान्वयन भएको छैन । एउटै चालकले घण्टौं गाडी चलाउने गरेका छन् ।
सरकारले २० वर्ष नाघेका सार्वजनिक गाडीलाई चलाउन रोक लगाएको छ । तर सडकमा थोत्रा गाडी गुड्न रोकिएको छैन । धेरै सडक पहाडी भूभागमा रहेको र सामान्य मापदण्ड पनि पालना नभएका कारण दुर्घटनाको जोखिम बढ्दो छ ।
पहाडका सडक धराप
नेपाल अटोमोबाइल्स एसोसिएशन नासाका अध्यक्ष गोविन्द भट्टराई पहाडमा सडकलाई ‘धराप’ को संज्ञा दिनुहुन्छ । सबैभन्दा ठूलो दोष सडक बनाउने क्रममा भएको इञ्जिनियरिङ बेइमानी भएको उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘गाडीका चक्का मात्रै अट्ने गरी खोलेका बाटा, खाल्डा परेका र भत्किएका, साइड दिनै नसकिने साँघुरा बाटाले नागरिकको ज्यान धरापमा पारेका छन् ।’
कालोपत्रे गरिएका सडकमा पनि प्राविधिक पाटोलाई ख्याल नगरिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भूगोललाई बुझेर मापदण्डअनुसार सडक सुधार गर्न सके पनि दुर्घटना रोक्न सकिन्छ ।’
नियम मानौँ : ट्राफिक प्रहरी
सडक आसपासका घुम्ती, हटाउन नसक्दा पहाडी सडक तुलनात्मक रुपमा बढी नै अव्यवस्थित र असुरक्षित छन् । तराईको तुलनामा धेरै दुर्घटना पहाडी क्षेत्रमा नै भएका छन् । पहाडी क्षेत्रका साँघुरा तथा कच्ची सडकमा लामा गाडी गुड्छन् । ब्रेक फेल हुने, टायर पड्कने जस्ता समस्याले पनि दुर्घटना हुने गरेको छ ।
दुर्घटना न्यूनीकरण गर्न आफूहरुको प्रयास निरन्तर रहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेलको दाबी छ । उहाँका अनुसार ट्राफिक नियम कार्यान्वयन गराउन, ट्राफिक संकेत राख्न, चालकलाई जाँडरक्सी खाएर गाडी चलाउन नदिन, थोत्रा गाडी हटाउन आवश्यक काम भैरहेका छन् ।
‘अहिले भएको सडकलाई तत्काल आजको आजै व्यवस्थित गर्न सकिंदैन, तर भएको ट्राफिक नियमको पालना गरे मात्रै पनि गाडी दुर्घटनामा आधाले कमी आउँछ’ उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।