संरक्षणकर्मीलाई स्थानीयको प्रश्न : वन्यजन्तु त संरक्षण भयो, मान्छेको संरक्षण खै ?

 मंसिर २८, २०७६ शनिबार १२:१३:३१ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्र आसपासका क्षेत्रकाे संरक्षण अभियानमा पहिलेभन्दा तुलनात्मक रुपमा स्थानीयहरुकाे संख्या  बढेकाे छ ।

वन्यन्तुको संरक्षण त गर्यौँ तर मानवको संरक्षण खै त ? भन्ने प्रश्न पनि उठिरहेको छ ।

जंगली जनावरबाट क्षति भएमा घटनास्थलमै  राहत दिएर क्षतिको विवरण संकलन गरेर पर्याप्त क्षतिपूर्ति दिइनुपर्छ । त्यसैले अब राहत नभइ सरकारले क्षतीपूर्ति दिलाउन विशेष कार्यक्रम ल्याउनु पर्ने सबैकाे भनाइ छ । 

वन, वन्यजन्तु, वातावरण र जैविक विविधता जोगाउन संरक्षण अभियानमा लागेका समुदाय र निकुञ्ज आसपासका युवाहरु संरक्षणमा लागिरहेका बेला दिनहुँ वन्यजन्तु र मानवबीचको द्वन्द्वका कारण अबका केही वर्षमा संरक्षण अभियानमा ठूलो असर पुग्न सक्ने खतरा रहेको चोरीशिकार नियन्त्रण युवा परीचालन अभियानमा जुटेका युवाहरुको भनाइ छ ।

संरक्षण अभियानमा जुटेका अधिकांश युवाहरु संरक्षण किन, के का लागि र कहिलेसम्म ? भन्न पनि थालेका छन् । 

मानव–वन्यजन्तुबीचको द्वन्द्वले अब वन्यजन्तु संरक्षण अभियानमा चुनौती झन बढ्न सक्ने खतरा रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल ठाकुरद्वारा बर्दियाका अध्यक्ष हेमन्त आचार्य बताउनुहुन्छ ।

मध्यवर्ती क्षेत्रमा बसोबास गरीरहेका मानव बस्तीमा निकुञ्ज भित्रबाट आएका जंगली हात्ती, पाटे बाघ, चितुवा, बँदेल लगायतका जंगली जनावरले विगतका वर्षदेखि घरगोठ भत्काउन, खेतीबाली नोक्सान गरी ज्यान मार्न, घाइते बनाउन थालेपछि जंगली जनावरलाई बस्तीमा आउनबाट रोक्न स्थानीयले घरखेत किनारमा विद्युत प्रवाह समेत गर्ने गरेका छन् । 

त्यसबाट पनि मानव र वन्यजन्तु दुवैलाई नोक्सानी पुगेको छ । निकुञ्जले जंगली हात्ती लगायतका जनावर निकुञ्ज भित्रबाट मध्यवर्ती क्षेत्र बाहिर आउनबाट रोक्ने विद्युतीय तारबार पनि लगाइएको छ । तर उचित संरक्षण, सम्वर्द्धन नहुँदा क्षति रोकिएको छैन । 

पहिले जंगली जनावरले ज्यान मारेमा १ लाख ५० हजार रुपैँया राहत रकम दिइन्थ्यो । त्यसपछि ३ लाख भयो । पछिल्ला केही वर्ष यता त्याे रकम बढेर ५ लाख पुगेकाे छ।

दुई वर्ष अघि संरक्षण अभियानमा जुटेका मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अन्तर्गतका उपभोक्ता समिति र निकुञ्जको पहलमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकाहकाे परिवारलाई १० लाख रुपैँया दिने निर्णय भयो । 

संरक्षण अभियानमा टिकाइराख्न उचित क्षतिपूर्ति र दिगो व्यवस्थापनको खाँचो

बर्दिया निकुञ्ज प्रशासनले पनि वन्यन्तुबाट जनधनको क्षति भएका स्थानीयलाई आफूहरुले उचित राहत रकम उपलब्ध गराउन नसकेका कारण र वन्यजन्तुलाई बाहिर आउनबाट रोक्न दिगो व्यवस्थापन गर्न नसकेका कारण वन्यजन्तु संरक्षणमा चुनौती देखिने आकलन गरिरहेको छ ।

वन्यजन्तु संरक्षण अभियानमा समुदायको सकृयता बढेका कारण बर्सेनि निकुञ्जमा जंगली जनावरको संख्यामा पनि वृद्धि हुँदैछ । क्षेत्रफल उही तर जंगली जनावरहरुको संख्यामा वृद्धि भएपछि जनावरहरु मानव बस्तीतिर आएका हुन् । 

वन्यजन्तुबाट जनधनको क्षति भएमा तत्काल राहत रकमको व्यवस्था दिने गरे पनि अहिलेको राहत कम निकै कम छ । संरक्षण अभियानमा स्थानीयहरु सकारात्मक हुँदाहुँदै पनि जंगली जनावरले वर्षभर खाने अन्नपात एकै दिनमा सखाप पारिदिन थालेपछि प्रतिशोधको भावनाले गर्दा मानव–वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको बर्दिया निकुञ्जका निवर्तमान प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापा बताउनुहुन्छ । 

पटकपटक गरी झण्डै २४ वर्ष बर्दिया निकुञ्जमा कार्यरत रहनुभएका रमेश थापा निकुञ्जको रेन्जरबाट प्रमुख संरक्षण अधिकृत भएर काम गरेको अनुभव सुनाउँदै वन्यजन्तुलाई निकुञ्ज बाहिर आउनबाट रोक्न दिगो व्यवस्थापनको खाँचो रहेको बताउनुहुन्छ ।

अहिले उज्यालो नेपाल बर्दियाका अध्यक्ष रहनुभएका थापाले आफ्ना जीवन भोगाइ र अनुभूति संगालेर संरक्षण यात्रा नामक पुस्तक लेख्नु भएको छ । उहाँकाे पुस्तकमा विशेषगरी मानव-हात्ती द्वन्द्व बर्दियाको गम्भीर चुनौती बन्दै गएको उल्लेख छ ।

विक्रम संवत २०२६ सालमा शाही शिकार सुरक्षित वनको रुपमा संरक्षण गर्न सुरु गरिएकाे यो निकुञ्ज २०३२ सालमा शाही कर्णाली वन्यजन्तु आरक्षमा परिणत भयाे र २०३८ सालमा शाही बर्दिया वन्यजन्तु आरक्ष रहेकोमा नाम परिवर्तन हुँदै २०४५ साल मंसिरमा शाही बर्दिया राष्ट्रिय निकुञ्ज बन्यो ।

देशमा राजतन्त्र हटेर लोकतन्त्र आएपछि २०६२ सालदेखि यसकाे नाम बर्दिया राष्ट्रिय निकुञ्ज कायम रहँदै आएको छ । 

२०३२ साल देखि वन्यजन्तु आरक्षको रुपमा रहेदेखि २०४५ सालमा निकुञ्ज घोषणा भए पनि २०५५ सालसम्म वन्यजन्तुबाट ज्यान गुमाएकाहरुको यकिन तथ्याङ्क छैन । तर २०५६ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती, बाघ, गैँडा लगायतका वन्यजन्तुको आक्रमणबाट १६ वर्ष भित्रमा ५० जनाको ज्यान गएको छ ।

हात्ती र गैँडाका लागि प्रशस्तै घाँसे मैदान र नदी तटीय क्षेत्र छ । तर पनि बर्दिया निकुञ्जमा जंगली जनावरको आक्रमणबाट बर्सेनि मानवीय क्षति हुने क्रम घटेको छैन ।

यस्तै मध्यवर्ती क्षेत्रमा पर्ने बर्दियाका निकुञ्ज आसपासका स्थानीयले खेतमा लगाएको अन्नबाली निकुञ्ज भित्रबाट आएका जंगली हात्ती, गैँडा, बँदेल, निलगाई, चित्तल लगायतका वन्यजन्तुले पनि नोक्सानी पुर्याउन थालेपछि स्थानीयले अन्नबाली जोगाउन विकल्पका रुपमा विभिन्न प्रकारका पासो थाप्ने, आक्रोशमा जनावर मार्ने र घाइते बनाउने काम गरिरहेका छन् ।

यी र यस्तै विविध कारणले मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ । 

मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि नेपाल सरकारले बेलैमा विशेष कार्यक्रम ल्याएर वन्यजन्तुलाई निकुञ्ज भित्रबाट बाहिर आउन नदिन दिगो व्यवस्थापन गर्न सकेमा, वन्यजन्तुबाट क्षति भएमा तत्कालै उचित राहत दिन सकेमा, संरक्षण अभियानमा जुटेका मध्यवर्ती क्षेत्रका स्थानीय युवाहरुका लागि आयमूलक कार्यक्रम ल्याएमा तथा संरक्षण अभियानमा याेगदान गर्नेको सम्मान गर्न सकेमा मात्र वन, वातावरण र वन्यजन्तु संरक्षण अभियान सार्थक हुनेछ । त्यसका लागि नेपाल सरकारले बेलैमा सोच्न जरुरी छ । 

बाघ हेर्न आउने पर्यटक पनि बढ्दै

बर्दिया निकुञ्जमा एक सयको हाराहारीमा जंगली हात्ती, ३७ वटा एकसिँगे गैँडा र ८७ वटा वयस्क पाटे बाघ छन् । त्यसैले गर्दा पनि बर्दियामा पछिल्ला केही वर्ष यता पर्यटकले दिनहुँ बाघ, हात्ती र गैँडा देख्न पाइरहेका छन् ।

बर्दिया निकुञ्जमा फागुनदेखि असारसम्म पाटे बाघ हेर्न पाइएपछि हरेक वर्ष आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा पनि वृद्धि हुँदै गएको छ । पर्यटन विकाससँगै पर्यटन व्यवसायी तथा स्थानीय समुदाय र सरकार सबैलाई फाइदा पुगेको छ । 

तर संसारबाट घट्दै गएको बाघको संरक्षण तथा बाघको संख्या वृद्धिका लागि सहयोग पुर्याउने उदेश्य सहित हरेक वर्ष जुलाई २९ तारीखमा मनाईने विश्व बाघ संरक्षण दिवसका अवसरमा यस वर्ष संरक्षणकर्मीहरुले मानव र वन्यजन्तुको द्वन्द्वका कारण अबका केही वर्ष भित्रै वन्यजन्तु संरक्षणमा चुनौती थपिन सक्ने खतरा रहेको समेत बताउन थालेका छन् । 

अहिले नेपालभरमा पाटे बाघको संख्या २३५ रहेको छ । नेपालका अरु क्षेत्रसंगै बर्दिया निकुञ्जमा पनि वर्षेनी बाघको संख्या बढ्दै गएको छ । सन् २०२२ सम्म पाटे बाघको संख्या दोब्बर गर्ने अर्थात २४२ पुर्याउने लक्ष्य सहित विभिन्न कार्यक्रमहरु संचालन भईरहेका छन् । तर पाटे बाघ संगै हात्ती, गैँडा, बँदेल, निलगाई लगाएतका वन्यजन्तु संरक्षणमा अबका केही वर्षपछी चुनौती थपिने संकेत देखिएको बर्दियाका संरक्षणकर्मीहरुको भनाई छ । व

वन्यजन्तुले जनधनको क्षति पुर्‍याउन थालेपछि स्थानीयहरु बर्सेनि पीडित हुँदै जाने तर सरकारले उचित राहत र क्षतिपूर्ति दिन नसकेका कारण अबका केही वर्षमा वन्यजन्तु संरक्षणमा चुनौती थपिन सक्ने खतरा रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यको भनाइ छ ।

अन्तिम अपडेट: पुस २८, २०७६

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया