राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक, उम्मेदवारी दर्ता पुस २० गते

 पुस २, २०७६ बुधबार १२:५७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनावका लागि कार्यतालिका सार्वजनिक गरेको छ । माघ ९ गते हुने चुनावका लागि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । 

कार्यतालिकाअनुसार आउँदो पुस १७ गते बिहान १० देखि ११ बजेसम्ममा मतदाता नामावली प्रकाशित हुनेछ । १७ गते नै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमाथि दाबी विरोधको उजुरी दिने समय तोकिएको छ । 

आयोगले दाबी विरोधको छानबिन गरी पुस १८ गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्नेछ । 

यस्तै आयोगले पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न सकिनेछ ।

उम्मेदवारको विरोधमा भने २१ गते उजुरी दिन सकिनेछ । २१ गते बिहान १० देखि दिउँसो ४ बजेसम्ममा उजुरी दिनुपर्नेछ । त्यसपछि आयोगले २२ गते बिहान १०  देखि दिउँसो ४ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि छानबिन गर्दै अन्तिम निर्णय गरी २३ गते बिहान १० देखि १ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

यस्तै उम्मेदवारले नाम फिर्ता लिनका लागि आयोगले २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको छ । उमेदवारको अन्तिम नामावली भने २५ गते बिहान १० देखि १ बजेसम्म प्रकाशित हुनेछ ।

निर्वाचन आयोगले मतदाता र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेपछि २५ गते नै दिउँसो १ देखि ४ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ ।

आयोगले चुनाव चिह्न प्रदान गरेको २ हप्तापछि माग ९ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न सबैसँग आग्रह गरेको छ । यस्तै आयोगले सबै मतपेटिका संकलन गरी ९ गते नै मतगणना सुरु गर्ने पनि जनाएको छ । 

राष्ट्रिय सभाका नेकपाका ८,  कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एक गरी १९ सांसदको दुई वर्षे कार्यकाल आउँदो फागुन २१ मा सकिँदैछ । 

संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भैसक्नुपर्ने व्यवस्था भएअनुसार चुनावी कार्यतालिका सार्वजनिक भएको हो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया