आहा ! झ्याडीकाे चिटिक्क माझी बस्ती

 पुस ६, २०७६ आइतबार १७:२५:५९ | रासस
unn.prixa.net

सिन्धुपाल्चाेक –  रातो-कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्काे छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ काे इन्द्रावती नदी किनारमा रहेको झ्याडीकाे माझी बस्तीमा ५३ घर छ । भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै बैग्लै बनेको छ ।

दशैँको फूलपातीको दिन नयाँ घर सर्नुभएकी ५५ वर्षीया लक्ष्मी माझी र श्रीमान ज्ञानबहादुर मंगलबार साँझ खाना पकाउँदै हुनुहुन्थ्यो । नयाँ घर पाउँदा उहाँहरु खुशी देखिनुभयो । उहाँहरुलाई पुरानो घरको याद भने हराएको छैन । लक्ष्मी भन्नुहुन्छ, 'घर त पुरानै ठिक नि यो त भुइँतलामात्रै छ, पुरानो घर त भुइँसहितको तीन तला थियो, सबै कुरा राख्न पाइन्थ्यो ।' 

तर अहिलेको घर पहिलेको भन्दा बलियो रहेकामा भने उहाँहरु ढुक्क हुनुहुन्छ । सरकारबाट आएको तीन लाख रुपैयाँमा रु चार लाख रुपैयाँ ऋण थपेर घर बनाएको उहाँले बताउनु भयो ।

छिमेकी सोमबहादुर माझी पनि दशैँलगत्तै टहरोबाट नयाँ घरमा सर्नुभएको छ । ६ जनाको परिवार बस्ने घरकाे बारेमा उहाँले भन्नुभयो, 'साँघुरो छैन, ओत लाग्न पाएकै छ, खुशी नै छौँ ।' उहाँले पनि माटोढुङ्गाको त्यो दुई तले घर भने कहिल्यै भुल्न नसक्ने बताउनु भयो । परिवारका सबै सदस्य घरबाहिर गएकाले भूकम्पमा बाँचेको स्मरण गर्दै सोमबहादुरले घर बनाउन लिएको चार लाख रुपैयाँ ऋण ज्याला मजदुरीबाटै तिरिरहेको बताउनु हुन्छ ।

जुना माझी नयाँ घरमै विवाह गरेर भित्रिनु भयो । उहाँले टहरो देख्न पाउनु भएन । तीन जनाको परिवारलाई नयाँ घरका तीन कोठा छ्यालब्याल छ, भूकम्प आए पनि डर छैन भन्नुहुन्छ जुना । निर्माण भएको नमुना माझी बस्तीका अधिकांश परिवार नयाँ घर सरिसकेका छन् ।

यहाँ रहेका ढुङ्गामाटोको दुई तले घर विसं २०७२ को भूकम्पले क्षणभरमै भत्कायो । त्यसपछि जस्ताले बारेको कटेरोमा रात बिताउन बाध्य भएका माझी बस्तीको अहिले मुहार फेरिएको छ । बस्ती साँच्चै नै मन लोभ्याउने खालको छ । दायाँबायाँ ‘रिटनिङ’ पर्खाल र सडक निर्माणको काम जारी छ । सबै पूर्वाधार सम्पन्न भएपछि झन् कति आकर्षक हुन्छ भन्ने कुरा अहिले नै अनुमान लगाउन सकिन्छ ।

यहाँका माझीहरु माछा मार्ने, ज्याला मजदुरी गर्ने र इन्द्रावती नदीमा बालुवा चालेर दिन बिताउँछन् । आर्थिक अभावका कारण भूकम्पले ढालेको घर बनाउन सकेका थिएनन् । मुश्किलले पानी ओत्ने जस्ताले बारेको कटेरोमा उनीहरुले केही वर्ष बिताए । अहिले नयाँ घर निर्माण भएपछि फुरुङ्ग छन् । पुरानो दुई तले घर भने कसैले पनि बिर्सन सक्दैनन् । ढुङ्गामाटोले बनेको भए पनि बार्दलीसहितको घर हेर्दा आकर्षकसँगै पर्याप्त ठाउँ हुन्छ । ती घर भूकम्पले ढालेपछि उनीहरुले चार वर्षपछि ढिलै भए पनि नयाँ घर पाएका छन् ।

चलचित्र नायिका श्वेता खड्काले आफ्ना दिवंगत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेताश्री फाउण्डेशन स्थापना गरेर विसं २०७३ मा नै नमुना बस्ती बनाउने घोषणा गर्नुभएको थियो । बस्ती निर्माणको काम भने विसं २०७४ जेठ १५ बाट थालियो । अहिले माझी बस्तीको निर्माणमा सरकारले स्वामित्व लिएको छ । फाउण्डेशनले सहयोग गरिरहेको छ ।

नायिका खड्काबाट प्राप्त ४० लाख रुपैयाँ र फाउण्डेशनको २३ लाख रुपैयाँ भने उपभोक्ता समितिले फिर्ता गर्ने शर्तमा चालु पुँजीको रूपमा परिचालन गरेको फाउण्डेशनबाट बस्तीको प्राविधिक काम हेर्दै आउनु भएका निराजन सापकोटाले बताउनु भयो । 'श्वेताश्री फाउण्डेशनको अगुवाइ, पुनर्निर्माण प्राधिकरणको साझेदारी र झ्याडी टोल सुधार समितिको सहकार्यमा बस्ती बनेको हो', सापकोटा भन्नुहुन्छ ।

सरकारबाट प्राप्त एक करोड ३० लाख रुपैयाँबाट बस्तीमा सडकलगायतका पूर्वाधारको काम जारी छ । सुरुमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट बस्तीका हरेक घरलाई तीन लाख रुपैयाँ सहयोग प्राप्त थियोे । त्यसपछि प्रतिपरिवारले चार लाख रुपैयाँ ऋण लिएर घर बनाएका छन् ।

यहाँको ५३ मध्ये २९ घरले ऋण लिइसकेको र बाँकी प्रक्रियामा छ । हरेक घरले मासिक सात हजार रुपैयाँ किस्ता बुझाउनु पर्छ । झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी पैसा अभावले फाउण्डेशन र खड्काबाट ६३ लाख रुपैयाँको चालु पुँजी ल्याएको बताउनुहुन्छ । सरकारको बजेट चलाइ सकेपछि अन्य संस्थाको पैसा चलाउन नपाउने मापदण्ड आएकाले ती पैसा फिर्ता गर्नेगरी तत्कालका लागि प्रयोग गरिएको हो ।

उहाँ थप्नुहुन्छ, 'बस्तीको माया होस् र आफ्नोपन आओस् भनेर घरमा व्यक्तिलाई पनि लगानी गर्न लगाइएको हो । यहाँको उपभोक्ता समितिले नै घर निर्माणको जिम्मा लिएको छ । काम पनि गाउँले आफैँले गरेका छन् । गाउँले मिलेरै काम गरेकाले बजेट बाहिर गएको छैन । काम गरेर कमाएको पैसाले मासिक किस्ता तिरिरहेका छन् माझीहरु ।'

बस्तीमा बाटोसहित बालबगैंँचा, सामुदायिक भवन, वाटर फाउण्टेन, स्वास्थ्य चौकीलगायत बनाइँदैछ । अझै पाँच/सात महिना पूर्वाधार निर्माणमा समय लाग्ने अनुमान छ । आगामी चैत १ गतेसम्मको समयसीमामा निर्माण सक्न मुश्किल छ ।

२८ रोपनी क्षेत्रमा बनेको छ बस्ती । तीन आनामा एउटा घर बनेको छ । एक घरमा तीन कोठा र शौचालय छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सव-इञ्जिनियर सुमन काफ्ले सरकारले तोकेको मापदण्डअनुसार नै बस्ती निर्माण भइरहेको बताउनुहुन्छ । सडकलगायत पूर्वाधार निर्माण कात्तिकबाट सुरु भएको र त्यसको म्याद चैत १ सम्म रहेको उहाँले बताउनु भयो ।

बस्ती निर्माणको सुरुकाे लागत १२ करोड रुपैयाँको हो । अन्य पूर्वाधार निर्माणमा चार करोड रुपैयाँ थियो । अहिले भने लागत बढेको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया