राष्ट्रिय सभा सदस्यको चुनावमा एक अर्कालाई सघाउने राजपा र नेकपाबीच सहमति

 पुस २, २०७६ बुधबार १९:२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय जनता पार्टी(राजपा) ले राष्ट्रिय सभा सदस्यका लागि हुने चुनावमा एक अर्कालाई सघाउने भएका छन् ।

रिक्त रहेका राष्ट्रिय सभा सदस्यका लागि आउँदो माघ ९ गते हुने चुनावमा प्रदेश दुईमा दुई पार्टीले सहकार्य गर्ने भएका हुन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ राजपाका अध्यक्ष मण्डलका सबै सदस्यको उपस्थितिमा दुई बुँदे सहमति भएको हो ।

सहमतिमा प्रदेश दुईमा रिक्त रहेका चार सदस्यमध्ये दुईमा राजपालाई नेकपा र दुईमा नेकपालाई राजपाले सहयोग गर्ने उल्लेख रहेको छ । अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त रहेको २ स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्नेए भएको छ । त्यस्तै महिला र दलित पुरुष समूहको २ स्थानमा नेकपाका उम्मेदवारलाई राजपाले सहयोग गर्ने भएको छ ।

त्यस्तै दुई पार्टीबीच राष्ट्रिय राजनीतिक समसामयिक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने सहमतिको दोस्रो बुँदामा उल्लेख रहेको छ ।

पटक-पटक मधेसका मुद्दालाई सम्बोधन नगरेको भन्दै सरकारको आलोचना गर्ने राजपा यस पटक भने सत्तारुढ दलसँगै सहकार्य गर्ने भएको छ । 

उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै चुनावी गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । त्यसअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डाक्टर युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।

अर्थ मन्त्रीसमेत रहनुभएका राष्ट्रियसभा सदस्य डाक्टर युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनित हुनेछ । उहाँ यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनुभएको थियो । फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना हुनुहुन्छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर, प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्यका लागि हुने चुनावका मतदाता हुन् ।

यो चुनावमा पहिलो हुने प्रणालीबाटै उम्मेदवारको चयन हुनेछन् । यो चुनाव प्रत्येक प्रदेशमै हुने र त्यही त्यही प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ । राष्ट्रियसभाको आगामी चुनावबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वाचित हुनेछन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया