नेपाली भाषा र गाउँ नै बिर्सिसकेका सोमकुमारको परिवार भेटियो

 पुस ३, २०७६ बिहिबार १८:१९:११ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियाको घरफिर्ती केन्द्रमा भेटिएका सोमकुमार तामाङको परिवार भेटिएको छ ।

नेपाली भाषा पनि नबुझ्ने, बोल्न नजान्ने, आमाबुवाको नाम पनि बिर्सिएका सोमकुमारलाई वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालको टोलीले मलेसिया भ्रमणमा रहेका बेला त्यहाँको लेङगेन इमिग्रेशन डेटिन्सन सेन्टरमा भेटेको हो ।

 

अवैधानिक हैसियतमा मलेसियामा काम गर्ने क्रममा पक्राउ परेका सोमकुमारले आफ्नो घर उदयपुर बताएको तर परिवारबारे थाहा नभएको भन्दै भन्दै महानिर्देशक भूसालले उहाँको बारेमा सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।

 

त्यसकै आधारमा विभिन्न सञ्चारमाध्यममार्फत सोमकुमारको बारेमा खबर प्रकाशित भएपछि सोमकुमारका भाइ राजकुमार तामाङ बिहीबार विभागको कार्यालय आएको महानिर्देशक भूसालले जानकारी दिनुभयो ।

राजकुमारकाअनुसार सोमकुमारको घर उदयपुरको कटारी नगरपालिका १३ हो । उहाँ काठमाण्डौमा झण्डै ६ महिना भौंतारिएपछि मलेसिया उड्नुभएको थियो । उहाँले मलेसिया जाँदा लागेको ऋण तिरेको र त्यसबाहेक ६० हजार रुपैयाँ जति खर्च पनि पठाएको राजकुमारले विभागमा बताएका छन् ।

त्यसपछि सोमकुमार बिस्तारै सम्पर्कविहीन भएको र विदेशी केटी बिहे गरेर बसेको भन्ने खबर घरमा आएको थियो ।

महानिर्देशक भूसालले भन्नुभयो, ‘सञ्चारमाध्यममा खबर देखेपछि भाइ पोखरबाट आएका रहेछन्, उनले सोमकुमारको अरु फोटोका साथै छोरी र श्रीमतीको पनि फोटो देखाएपछि सोमकुमार उनकै आफन्त हुन भन्नेमा शंका रहेन ।’

भाइ राजकुमारलाई सोमकुमारको पासपोर्ट वा नागरिकताको प्रतिलिपि खोजेर पठाउन भनिएको र कागजात प्राप्त भएपछि मलेसिय स्थित नेपाली दूतावासमा पठाएर उद्धारको प्रक्रिया थाल्ने पनि उहाँले बताउनुभयो ।

 

 

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया