‘पैसा हुने र पहुँचवालाले सोलार बत्ती बाल्छन्, हामीले टुकीको भरमा जीवन बिताउनुपर्छ’

 पुस ५, २०७६ शनिबार १६:३१:१३ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको १० वटा पालिकामध्ये दुई वटा पालिकामा अझै पनि बिजुली पुगेको छैन । 

संखुवासभाको दुर्गम मानिएको भोटखोला र सिलिचोङ्ग गाउँपालिका विद्युतको केन्द्रीय प्रसारण लाइनमा जोडिन नसक्दा स्थानीयहरु अँध्यारोमा बस्न बाध्य छन् । कतिपय गाउँहरुमा स्थानीय खोलाबाट उत्पादन गरिएको पेल्ट्रिक सेट, माइक्रोहाइड्रो र हाइड्रोपावरको भरमा उज्यालो पुगेको छ । 

‘आर्थिकरुपले सम्पन्न र पहुँचवालाले सोलार बत्ती बाल्छन् । हामीले कहाँ पाउनु ? आगो र टुकीको भरमा जीवन बिताउनुपर्छ’, भोटखोला गाउँपालिकाका स्थानीय नुर्बु भोटेले भन्नुभयो ।    

मकालु गाउँपालिकाका काजीमान गुरुङले स्थानीय खोलाहरुबाट उत्पादन गरिएको हाइड्रोपावरहरु छिटो–छिटो बिग्रिँदा समस्या आइरहने गरेको बताउनुभयो । उहाँले बिजुली जस्तो दीर्घकालीन रुपमा हाइड्रो र सोलार बाल्न नसकिने गुनासो गर्नुभयो । उहाँमात्रै नभइ ग्रामीण क्षेत्रका अधिकांशले दीर्घकालिन रुपमा बिजुलीको व्यवस्था गरिदिन माग गरेका छन् । 

भोटखोला गाउँपालिका सीमावर्ती नाका छिमेकी देश चीनसँग सिमाना जोडिएको गाउँपालिका हो । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको केन्द्र हटिया पुग्न मात्रै १ सय २ किमी सडक पार गर्नुपर्छ भने किमाथांका नाका पुग्न १ सय ६२ किमीको यात्रा पार गर्नुपर्छ । 

हिउँदमा कोशील्हासा राजमार्गको कच्ची सडकको भरमा हटियासम्म पुग्न सकिन्छ तर वर्खायाममा तीन/चार दिन लगाएर पैदल हिँड्नुको विकल्प छैन । यस्तै समस्या र दुर्गममा रहेको सिलिचोङ्ग गाउँपालिकाको केन्द्र ताम्कु जान भोजपुरको बुङलिङटार तरेर मात्रै पुग्न सकिन्छ ।

खाँदबारीबाट हेलुवाबेसीसम्म यातायात पुगे पनि अरुणपारि देखि गाउँपालिकाको केन्द्र ताम्कु पुग्न अरुण नदिमा पक्की पुल नहुदाँ आवातजावातमा समस्या छ । यातायात समस्याको कारणले पनि गाउँपालिकामा विद्युतीकरणमा समस्या आएको स्थानीयहरुको बुझाइ छ । 
    
लामो समयदेखी पहल गर्दा पनि अझसम्म जिल्लाको दुई वटा गाउँपालिकाको केन्द्रसम्म पनि बिजुली पुगेको छैन । मकालु गाउँपालिकाको केन्द्र नुमबजारसम्म केही महिनाअघि मात्रै बिजुली पुगेको हो । त्यसैगरी सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजार र धुपू, डके लगायतका आसपासका क्षेत्रमा विद्युतीकरणले छोएको छ । 
    
नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख रामअसिस शाहले भने जिल्लाको सबै पालिकाका गाउँलाई विद्युतीकरणले जाेड्ने उद्देश्य अनुरुप नै काम भइरहेकोे बताउनुभयो । 

‘अहिलेसम्म खाँदबारी नगरपालिकाको ११ वटै वडामा पूर्णरुपमा बत्ती पुगेको छ । अन्य चैनपुर, मादी, धर्मदेवी र पाँचखपन नगरपालिकाभित्र झण्डै ९५ प्रतिशत बिजुली पुगेको छ’, उहाँले भन्नुभयो, ‘गाउँपालिकाको हकमा चिचिला गाउँपालिकाभित्रका झण्डै ५० प्रतिशत गाउँमा बत्ती बल्छ ।’

जिल्लाभरिको तथ्याङ्क हेर्दा धेरै ठाउँहरुमा विद्युत् पुर्‍याउने प्रयास भइरहेको वितरण केन्द्रका प्रमुख शाहले बताउनुभयो । उहाँले वितीकद्युरण पुगेको ठाउँहरुमा पनि अधिकांश ठाउँमा सुरुमा काठको पोल गाडिएको छ । 

अब ती सबै काठको पोल हटाएर फलामको पोल गाडिने बताउनुभयो । ‘जिल्लाभित्र झण्डै १५/१६ हजार काठको पोलहरु रहेको छ । खाँदबारी नगरपालिकाभित्र मात्रै १ हजार १ सय ५३ वटा काठको पोल फेर्नुपर्ने अवस्थामा रहेको छ’, शाहले भन्नुभयो ।

संखुवासभा जिल्ला विद्युतमा पूर्णरुपमा आत्मनिर्भर जिल्ला हो । यहाँ रहेका चार वटा हाइड्रोपावरहरु दिपेश्वरी हाइड्रोपावर (४ मेगावाट), वरुण हाइड्रोपावर (साढे ४ मेघावाट), अरुण भ्याली पिलुवा हाइड्रोपावर (३ मेगावाट) र सुगम हाइड्रोपावर (लोहर पिलुवा १ मेगावाट) गरी वर्षाको समयमा १२ मेघावाट विद्युुत् उत्पादन हुन्छ । 

कहिलेकाहीँ यहाँ धेरै भएको विद्युत अन्य जिल्लाहरुमा समेत पठाइने गरेको विद्युत प्राधिकरणको भनाइ छ । यहाँ विद्युत उत्पादन भए पनि केन्द्रीय प्रसारण लाइनले नछोएका कारण ग्रामीण समुदायका सर्वसाधारणहरु टुकीका भरमा बस्न बाध्य छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया