सभामुख चयन प्रक्रिया एक सातापछि मात्रै

 पुस ४, २०७६ शुक्रबार १५:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया एक साता पछिमात्रै सुरु हुने भएको छ । शुक्रबार संसदको हिउँदे अधिवेशन सुरु हुने भए पनि सभामुख चयन प्रक्रिया भने पुष ११ गतेबाट मात्रै सुरु गरिने भएको हो । 

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको अर्को बैठक पुष ११ गते दिउँसो १ बजे बोलाउने सहमति गरेसँगै सभामुख चयन प्रक्रिया एक हप्तापछि सरेको हो ।  

संसदको हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । सभामुख रिक्त रहँदा पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफे गर्ने बारे सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच सहमति भइसकेको छ । 

तुम्बाहाम्फेको अध्यक्षतामा शुक्रबार बस्ने पहिलो बैठकले अधिवेशन सुरु भएकोबारे राष्ट्रपतिको पत्र तथा मन्त्रिपरिषदका सदस्य हेरफेरबारे राष्ट्रपतिको पत्र पढेर सुनाउने कार्यसूची छ । यसका साथै चार जना पूर्वसांसदको शोक प्रस्ताव पारित गर्ने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सात जनाको नाम पढेर सुनाउने कार्यसूची पनि तय भएको संसद सचिवालयले जनाएको छ ।

शुक्रबार बैठक बसेर त्यसपछि एक हप्ता बैठक स्थगित गर्ने तयारी छ । यसबीचमा क्रिसमस पर्ने र सभामुख चयन प्रकृया अघि बढाउन निर्वाचन समिति पनि बनाउनु पर्ने भएकाले एक हप्ताका लागि बैठक स्थगित गर्ने तयारी गरिएको हो ।  

शुक्रबारको बैठकपछि सूचना जारी हुने संसद सचिवालयले जनाएको छ । शुक्रबारको बैठकको अध्यक्षता गरेपछि उपसभामुख तुम्बाहाङफेले पनि राजिनामा दिने र त्यसपछि सभामुख चयन प्रक्रिया अघि बढाइने भएको हो ।  
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया