आजदेखि सुरु भयाे संघीय संसदको हिउँदे अधिवेशन

 पुस ४, २०७६ शुक्रबार १७:४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकको सुरुमा नै बैठकको अध्यक्षता गर्नुभएकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि अधिवेशन औपचारिक रुपमा आरम्भ भएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशनको आव्हान र अन्त्य भएको घोषणा गर्ने संबैधानिक व्यवस्था छ । संविधानको धारा ९३ को उपधारा १ बमोजिम संघीय संसदका दुवै सदनको बैठक आरम्भ भएको व्यहोराको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई उपभामुख तुम्बाहाम्फेले पढेर सुनाउनुभएको थियो ।

त्यसैगरी, शुक्रबार नै राष्ट्रियसभाको बैठकमा पनि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकले विभिन्न समयमा निधन भएका ४ जना पुर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले २०५१ सालमा तात्कालि नेकपा एमालेको तर्फबाट संखुवासभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हरि बैरागी दाहाल, २०५१ सालमा तत्कालिन नेकपा एमालेको तर्फबाट धनुषा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित  सदस्य रामलखन महतो, २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकमा निर्वाचित सदस्य कमलाकुमारी घिमिरे र २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य रामेश्वर ढुंगेलको निधनमा छुट्टा छुट्टै शोक प्रस्ताव पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते शुक्रबार दिउसो १ बजेका लागि बोलाईएको छ ।

यसैबीच, पुस ११ गते बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनका लागि औपचारिक प्रक्रिया अघि बढाईने भएको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरको हो । अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेपछि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने र त्यसपछि सभामुख चयनको कार्यक्रम अघि बढाउने सहमति भएको हो ।

शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिने गरिन्छ । संसदको पाचौ अधिवेशन अर्थात् विधेयक अधिवेशनमा छलफलका लागि तयारी अवस्थामा रहेका विधेयकहरु अधिकांश विवादित छन् ।

चौथो अधिवेशनपछि राष्ट्रियसभामा २ वटा र प्रतिनिधिसभामा ६ वटा नयाँ विधेयक दर्ता भएका छन् । चौथो अधिवेशनमा पारित हुन बाँकी ८ वटा विधेयक सांसदहरुलाई अध्ययनका लागि बाडिएको छ । १५ वटा विधेयक विषयगत समितिमा छलफलका क्रममा छन् ।

विशेष गरेर अघिल्लो अधिवेशनमा नै संघीय संसदमा पेस गर्ने तयारी गरिएको नागरिकता विधेयकलाई महत्वका साथ हेरिएको छ । यो विधेयक संसदीय समितिमा छलफलकै क्रममा छ ।

मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद् ,शान्ति सुरक्षा, कर्मचारी सम्बन्धी विधेयक, लोकसेवा आयोग, मिडिया काउन्सिल लगायतका विधेयकहरु अधिवेशनबाट पास गर्ने तयारी छ ।

यी विधेयकमा राखिएका प्रावधान सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहमति जनाउदै आएको छ । राष्ट्रियसभामा दर्ता भईसकेको नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी विधेयक फिर्ता लिन कांग्रेसले सरकारलाई दबाब नै दिएको छ ।  गत असोज २ गते संसदको चौथो अधिवेशन अन्त्य भएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया