सोनिया गान्धीको भिडियाे सन्देश राखिएकाे ट्वीट प्रधानमन्त्री ओलीबाट रिट्वीट !

 पुस ५, २०७६ शनिबार ११:३०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले त्यहाँको नागरिकता विधेयककाबारे जारी गरेको भिडियो सन्देश नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डलबाट रिट्वीट भएको छ ।  

सरकारले गरेको नागरिकता ऐन संशोधनको विरोधमा अहिले भारतभर प्रदर्शन भइरहेको छ । विरोधमा प्रदर्शनमा उत्रेका नागरिकमाथि भएको प्रहरी दमनमा शनिबारसम्म १३ जनाले ज्यान गुमाइसकेका छन् । 

दुवै सदनबाट पारित भएको नागरिकता ऐन संशोधन विधेयकको विपक्षी पार्टी भारतीय कांग्रेस, कम्युनिष्ट लगायतले सडकमा भइरहेको प्रदर्शनको समर्थन गरेका छन् ।  

शुक्रबार कांग्रेस अध्यक्ष गान्धीले विधेयकको विरोधमा नागरिकले उठाइरहेको आवाजको भाजपा सरकारले सम्बोधन गर्नुपर्ने भिडियो सन्देशमा उल्लेख गर्नुभएको थियो ।  

प्रधानमन्त्री ‌ओलीकाे ह्याण्डलबाट भएकाे रिट्वीट । अहिले याे रिट्वीट हटाइसकिएकाे छ ।

शिवम विज नाम गरेका ट्वीटर प्रयोगकर्ताले पोष्ट गरेको गान्धीको यही भिडियो सन्देश नेपालका प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्याण्डलबाट रिट्वीट भएको हो । 

प्रधानमन्त्रीको आधिकारिक ह्याण्डलबाट भारतीय सरकारले ल्याएको नागरिकता संशोधन ऐनको विरोध हुने गरी व्यक्त भएको सन्देश रिट्वीट भएपछि नेपालसँगै भारतमा समेत चर्चा भैरहेको छ । भारतका केही अनलाइन मिडियाले प्रधानमन्त्री ओलीको रिट्वीटलाई समाचारसमेत बनाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको ट्वीटरको पासवर्ड दुरुपयोग भएर यस्तो भएको हुन सक्ने भन्दै छानविन भइरहेको प्रतिकृया दिनुभएको छ ।

यसबारे भ्रममा नपर्न पनि उहाँले प्रष्ट पारिसक्नु भएको छ । प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट रिट्वीट भएको गान्धीको भिडियो सन्देश भने अहिले हटाइसकिएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया