सम्झौता अनुमोदन गर्न एमसीसीको आग्रह, पूर्वाधार आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता

 पुस ६, २०७६ आइतबार १३:१०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौता अनुमोदन गर्न सरकारसँग आग्रह गरेको छ ।

काठमाण्डौमा आइतबार पत्रकार सम्मेलन गर्दै एमसीसीले संसदको जारी हिउँदे अधिवेशनबाटै सम्झौता अनुमोदन गर्न आग्रह गरेको हो । उसले सम्झौतामा उल्लेख भएका पूर्वाधार आयोजनाहरु समयमै सक्ने प्रतिबद्धता पनि जनाएको छ ।

एमसीसीबारे सत्तारुढ नेकपाभित्र चर्को बहस भैरहेका बेला एमसीसी नेपालले पत्रकार सम्मेलन गरेर यस्तो प्रतिबद्धता जनाएको हो । एमसीसी अमेरिकी सरकारको सहयोग निकाय हो ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत प्रदान गर्न लागेको अनुदान सहयोग परिचालन गर्न सरकारसँग सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि संसद्बाट अनुमोदन भएको छैन । अमेरिकी सरकारको ५० करोड डलर र नेपालको १३ करोड डलर लगानी गरी उच्च क्षमताको प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि यो अनुदान खर्च गर्ने सम्झौता भएको हो ।

एमसीसी कम्प्याक्ट फन्डिङ अन्तर्गतको परियोजना सुरु भएको पाँच वर्षभित्र कार्यान्वयन भइसक्नुपर्छ । 

दुई वर्षअघि तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तत्कालीन कार्यवाहक सीईओ जोनाथन नाशबीच सम्झौतामा हस्ताक्षर भएको थियो । 
संसद्बाट सम्झौता अनुमोदन भएपछि मात्र एमसीसीका परियोजना कार्यान्वयन अघि बढ्छ। यस्तै बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणमा नेपाल र भारतबीच सहमति हुनुपर्ने अनिवार्य शर्त पनि छ । 

२०७४ भदौ २९ मा एमसीसी र नेपाल सरकारबीच मिलेनियम च्यालेन्ज कम्प्याक्ट (सम्झौता) भएको थियो। सम्झौताअनुसार अमेरिकाले ५५ अर्ब रुपैयाँ अनुदान दिने र नेपालले १४ अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने व्यवस्था छ।

सम्झौतामा विद्युत प्रसारण लाइन परियोजना अन्तर्गत चार सय केभी क्षमताको तीन सय किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माण गर्ने उल्लेख छ । 

यस्तै सडक मर्मत सम्भार परियोजनाले सरकारलाई तीन सय पाँच किलोमिटर सडक मर्मतमा सहयोग पुर्‍याउने उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया