अतिक्रमित नेपाली भूमि फिर्ता गर्न तत्काल आवश्यक कदम चाल्ने नेकपाको निर्णय

एमसीसी इण्डो प्यासिफिक अन्तर्गत हाे/हाेइन प्रष्ट पार्न अमेरिकालाई आग्रह

 पुस ६, २०७६ आइतबार १७:४४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न, भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन तत्काल आवश्यक कदम चाल्ने निर्णय गरेको छ ।

भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सा आपत्तिजनक रहेको ठहर गर्दै नेकपाले तत्काल आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।

१ हप्तासम्म बसेको नेकपा स्थायी कमिटी बैठकले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर भारतले जारी गरेको नक्सा अमान्य र अस्वीकार गर्ने निर्णय पनि गरेको छ । बैठकले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको निष्कर्ष निकाल्दै कालापानी, लिम्पिायाधुरा, लिपुलेक र सुस्ता लगायतको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका सन्दर्भमा यो इण्डो प्यासिफिक रणनीति अन्तर्गत होइन भन्ने कुरा अमेरिकालाई औपचारिक र आधिकारिक रुपमा स्पष्ट पार्न अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।

अमेरिकाले एमसीसी इण्डो प्यासिफिक अन्तर्गत हाे वा हाेइन भन्ने प्रष्टिकरण दिएपछि यसमा रहेका अन्य भाषा परिमार्जन गर्ने विषयमा प्रधानमन्त्री र सरकारसँग छलफल गर्ने निर्णय गरिएको बताउनुभयो ।

स्थायी कमिटी सदस्य भीम रावलले एमसीसीको विषयमा बैठकमा उठेका विषयहरु सरकरले स्पष्ट पार्नुपर्ने र अमेरिकाले पनि यो इण्डो प्यासिफिक अन्तर्गतको परियोजना होइन भनेर प्रष्ट पार्नुपर्ने निर्णय भएको बताउनुभयो । यसको जिम्मा पार्टीको सचिवालयलाई दिइएको उहाँले बताउनुभयो । 

 राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

यसैबीच, नेकपाको राजनीतिक प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतले पारित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्दै केही परिमार्जन गर्नुपर्ने सुझाव दिएपछि आइतबारको बैठकले परिमार्जनसहित पारित गरेको नेकपाले जनाएको छ  ।

राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर तयार पार्नुभएको थियो । महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशाेधन प्रस्ताव भने आइतबार पारित हुन सकेन । प्राप्त सुझाव र धारणाको आधारमा अन्तिम रुप दिइ आउँदो केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी पारित गर्ने निर्णय प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

केन्द्रीय कमिटी बैठक आउँदो २३ गते बस्ने नेकपाको निर्णय छ । यस्तै नेकपाले केन्द्रीय कमिटी बैठक बस्नुभन्दा अघि अबकाे १५ दिनभित्र पार्टी एकीकरणका बाँकी सांगठनिक काम पूरा गरिसक्ने निर्णय पनि गरेको छ । 

यस्तै पछिल्लो समय सडक दुर्घटनाहरु बढिरहेको सन्दर्भमा दुर्घटना न्युनिकरणका लागि समग्र पक्षको अध्ययन गरी तदारुकताका साथ कदम चाल्न सरकारलाई अनुरोध गरिएको छ । साथै दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित राहत र घाइतेहरुको उपचार गर्ने सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण बैठकले गरेको छ ।

यस्तै बैठकले पार्टी केन्द्रीय कार्यालय भवन जति सक्दो छिटो निर्माण गर्ने निर्णय पनि गरेको छ । स्थायी कमिटी बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकले पार्टीलाई एकताबद्ध गर्न, सांगठनिक एकीकरणलाई पूर्णता प्रदान गर्न, विचारको बहस र विकासलाई व्यवस्थित गर्न, सरकार सञ्चालनलाई प्रभावकारी बनाउन र पार्टीलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

बैठक गएको मंसिर २९ गतेदेखि सुरु भएको थियो । बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य समस्याका कारण सहभागि हुनुभएन । 

 

 


 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया